अफ्नै भवन बन्दा सेवा प्रवाहमा सहज

शेयेर गर्नुहोस


झलनाथ खनाल,
जोशिपुर २६ भाद्र
/ जोशीपुर गाउँपालिकाले आफ्नै भवन निर्माण भएपछि सेवा प्रवाहका कामहरु आफ्नै भवनबाट सुरु गरेको छ ।
जोशीपुर गाउँपालिका वडा नं. १ कार्यालय रहेको एक तले भवनमाथि दुई तला थप गरी गाउँपालिकाको कार्यालय भवन निर्माण गरिएको हो । लामो समयदेखि भाडामा घर लिएर सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले यही भाद्र महिनादेखि विषयगत शाखा बाहेक अन्य गाउँपालिकाबाट हुने सेवा प्रवाहका कामहरु एउटै भवनबाट सुरु गरेको छ ।
जिल्ला समन्वय समिति कैलालीको ७० लाख र गाउँपालिकाको ३० लाख गरी एक करोडमा निर्माण भएको उक्त भवनको निर्माण कार्य भइनसके पनि सेवा प्रवाहमा समस्या हुन थालेपछि ठेकेदार कम्पनीले भवन हस्तान्तरण नगर्दै गाउँपालिकाले सेवा प्रवाहका काम सुरु गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मै भवन निर्माणको काम हुनु पर्ने भए पनि विविध समस्याका कारण २०७६ साउन २ गते बी एण्ड बी विल्डर्स बर्दगोरिया कैलालीलाई भवन निर्माणको ठेक्का दिइएको थियो ।
ठेकेदार कम्पनीले २०७७ बैशाख महिनामा भवन निर्माणको काम सम्पन्न गर्नुपर्ने भए पनि कोरोना भाइरसको महामारीका कारण भएको बन्दाबन्दीले भवन निर्माणको समय अवधि कार्तिक मसान्तसम्म थप गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद उपाध्यायले जानकारी दिएका छन् । आर्थिक वर्ष २०७४÷०७५ देखि घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको गाउँपालिकाले आव २०७६÷०७७ को केही महिना पुरानो स्वास्थ्य भवनबाट सेवा दिँदै आएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले अहिले आफ्नै भवनबाट कामकाज सुरु भएपछि सहज भएको बताएका छन् ।
‘एउटै कोठामा बसेर धेरै काम गर्नुपर्ने बाध्यता रहँदै आएको थियो ।’ प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भने, ‘अहिले शाखागत कामहरु फरक–फरक कोठाबाट हुँदै आएको छ । जसले सेवाग्राहीलाई पनि सहज छ भने काम गर्ने कर्मचारीहरुलाई पनि ।’
माथिल्लो तलामा गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएको छ भने वडा नं. १ को कार्यालयको कामकाज पनि सोही भवनबाट नै हुँदै आएको छ । वडाबाट सिफारिस भई गाउँपालिकामा कामका लागि जाँदा पनि सहज भएको बताउँदै सेवाग्राहीहरुले समयको बचत समेत भएको बताएका छन् । कृषि, पशु, स्वास्थ्य, शिक्षा लगायतका विषयगत शाखाहरुका लागि भने अझै पनि भाडामै कामकाज हुँदै आएको छ । चालु आवमा गाउँपालिकाले कमर्सियल भवन निर्माण गर्ने भएको छ ।
कोरोना भाइरसका कारण गाउँपालिकामा सेवाग्राहीहरुका कामहरु र आन्तरिक योजनाका कामहरु गर्दै आएको बताउँदै उपाध्यायले असोज १ गतेपछि चालु आर्थिक वर्षका लागि छनौट भएका योजनाहरुको काम पनि सुरु गरिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *