शेयेर गर्नुहोस
टीकापुर २९ भदौ /
जेन जि आन्दोलनले भदौ २४ गतेबाट बन्द भएका शैक्षिक संस्था आजबाट सञ्चालनमा आउने भएका छन् ।
भदौ २३ गते जेन जिको आन्दोलनमा ठूलो मानवीय क्षति भएको भोलिपल्ट शैक्षिक संस्थाहरुले शोक विदा दिएका थिए । २४ गतेको आन्दोलनका कारण देशभर कर्फ्यु लागेपछि शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द भएका थिए । शुक्रबार देशले आन्दोलनको जगमा नयाँ प्रधानमन्त्री पाएसँगै स्थिति सामान्य बन्दै जाँदा संस्थागत बिधालय संचालकहरुले आज (आइतबार) बाट बिधालय सञ्चालन हुने बताएका छन् ।
टीकापुर प्याब्सनका अध्यक्ष मानबहादुर थापाले संस्थागत बिधालय आजबाट सञ्चालन हुने गरी अभिभावकलाई जानकारी गराइएको बताएका छन् । उनले असोज १ गतेबाट अधिकांश बिधालयले आन्तरिक परिक्षा सञ्चालन गर्ने तयारी भएको हुँदा बिधालय सञ्चालन गर्न थालिएको बताएका छन् ।
उता सामुदायिक बिधालय सञ्चालनमा भने अन्योलता देखिएको छ । जिल्ला प्रशासनले निषेधाज्ञा जारी राखेको स्थितिमा सुचना जारी गरेर बिधालय खोल्न समस्या भएको टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले जानकारी दिएका छन् । “हामीले बिधालय बन्द गर्न भनेर सुचना जारी गरेका थिएनौं । आज बिधालय सञ्चालनका लागि हामी केही भन्दैनौं ।” उनले भने, “सञ्चालन गर्नेलाई पनि केही भन्दैनौं । नगर्नेलाई अब भोलीका लागि आवश्यक निर्देशन दिने काम होला ।”