क्षति भएका संरचनाको अनुगमन गर्दै सुरक्षा निकाय

शेयेर गर्नुहोस


टीकापुर २६ भदौ /
नेपाल तथा सशस्त्र प्रहरीका सुदुरपश्चिम प्रदेश प्रमुखको नेतृत्वमा जेन जि आन्दोलनका क्रममा भएको भौतिक क्षतिको अनुगमन थालिएको छ ।
जेन जि आन्दोलनका क्रममा भएको भौतिक क्षतिको प्रारम्भिक अनुगमन तथा शान्तिसुरक्षाको स्थिति बुझ्न नेपाल प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डम्बर बहादुर विक र सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब महानिरीक्षक प्रदिप पालको नेतृत्वमा अनुगमन थालिएको हो । सोही क्रममा बिहिवार कैलालीको टीकापुर नगरपालिकाको भौतिक क्षतिको अनुगमन गरिएको छ ।
आन्दोलनका क्रममा भएको नगरपालिका तोडफोड तथा सवारीसाधन आगजनीको निरीक्षण गर्दै प्रहरी नायब महानिरीक्षक विकले आन्दोलनका क्रममा तल्लो तहमा भएको क्षतिको विवरण गर्ने काम भएको बताउनुभएको छ । “अहिले भएको क्षतिको प्रारम्भिक अध्ययन गर्दै छौँ ।” उहाँले भन्नुभयो, “अनुगमन तथा निरीक्षण गरेर क्षतिको विवरण माथिल्लो निकायमा पठाउने काम हुने छ ।” उहाँका अनुसार सबै क्षेत्रमा भएको क्षतिको विवरण प्रहरीले संकलन गर्नेछ ।
अनुगमनका क्रममा प्रहरी नायब महानिरीक्षक विकले नागरिकहरूको शान्तिसुरक्षाका लागि तिनै तहको सुरक्षा निकायले संयुक्तरूपमा काम गरिरहेको बताउनुभएको छ । उहाँले नागरिकहरूलाई गाउँगाउँसम्म शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन र कुनै अप्रिय घटना हुन नदिन सुरक्षा संयन्त्र लागिरहेको बताउनुभयो । “आपराधिक घटना घट्न नदिन हामी निकै जिम्मेवार भएर काम गरिरहेका छौँ ।” उहाँ भन्नुहुन्छ, “विस्तारै नागरिकहरुको जनजीवन सामान्य बन्दै जाने छ ।”
टीकापुर नगरपालिकामा पनि ठूलो क्षति भएको छ । नगर प्रहरी प्रमुख पहल बहादुर शाहले दिएको प्रारम्भिक तथ्यांक अनुसार पाँच करोड २२ लाख ३५ हजार बराबरको क्षति भएको छ । “हामीले प्रारम्भिक रुपमा निकालेको तथ्यांक हो ।” उहाँले भन्नुभयो, “भोलि यो तथ्यांक भन्दा केही तलमाथि पनि हुनसक्छ ।”

ताजा खबर

एक वर्ष अगाडि सकिँदै पुलको काम

सम्पत्ति छानबिन समिती गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *