शेयेर गर्नुहोस
टीकापुर २२ असार /
टीकापुरस्थित ग्रेट हल एजुकेसनल कन्सल्टेन्सीले शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थी तथा बिधालयलाई सम्मान सहित पुरस्कृत गरेको छ ।
माद्यामिक शिक्षा परिक्षा (एसईई) २०८१ मा उत्कृष्ठ अंक ल्याएर उत्तीर्ण हुने निजी र सामुदायिक विद्यालयका चारजना विद्यार्थीहरु सहित बिधालयलाई पुरस्कृत तथा सम्मान गरेको हो । उत्कृष्ठ अंक ल्याएर उत्तीर्ण हुने निजी विद्यालयतर्फ गणेशबाबा बोर्डिङ स्कुलका छात्रा भुवन उपाध्याय र युनाईटेड एकाडेमीका छात्र निखिल लुहारलाई जनही पाँच हजार रुपैयाँ सहित सम्मान गरिएको छ भने, सामुदायिक विद्यालयतर्फ कर्णाली माद्यामिक बिधालय टीकापुरका छात्रा क्रिष्टिना पोखरेल र कर्णाली माद्यामिक बिधालय सत्तीका छात्र अंकित टमट्टालाई समेत पाँच हजार रुपैयाँ सहित सम्मान गरिएको छ ।
त्यो सँगै उत्कृष्ट अंक ल्याउने बिद्यार्थी अध्ययन गरेका चारवटै विद्यालयका प्रधानाध्यापकहरुलाई समेत संस्थाले दोसल्ला ओढाएर सम्मान गरिएको छ । जसमा कर्णाली माद्यामिक बिधालय टीकापुरका धर्मराज शर्मा, कर्णाली माद्यामिक बिधालय सत्तीका शिक्षक भरत साउँद, गणेशबाबा बोर्डिङ स्कुलका प्रधानाध्यापक गजेन्द्र बहादुर बुढा र युनाईटेड एकाडेमीका निरु शर्मा रहेका छन ।
सोही अवसरमा कन्सल्टेन्सी मार्फत जापान गएर निधन भएकी टीकापुर नगरपालिका वडा नं. ७ की नविना बोहराका आफन्तलाई आर्थिक सहयोग समेत गरिएको छ । संस्था र विभिन्न व्यक्तिहरुबाट संकलन भएको चार लाख ९२ हजार चार १० रुपैयाँ मृतक बोहराका आफन्तलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले संस्थाले गरेको कार्यको प्रशंसा गरेका छन् । उत्कृष्ठ अंक ल्याएर उत्तीर्ण भएका विद्यार्थीलाई सम्मान गर्दा त्यसले अरु विद्यार्थीलाई समेत पढ्नु पर्छ भन्ने कुराको प्रभाव पार्ने उनको भनाइ थियो ।
दक्ष जनशक्ति विदेश गैरहेको प्रति चिन्ता व्यक्त गर्दै युवाहरुलाई सिप सिकेर स्वदेशमा लगानी गर्ने गरि फर्किन नगर प्रमुख थारुले आग्रह गरे । ‘सकेसम्म हामीसँग सम्भावनालाई पछ्याएर अगाडि बढौं । काम सानो ठूलो भन्नु हुँदैन । काम गर्न लाज नमानौं ।” उनले भने–‘जाने नै हो भने चाँडै सिप सिकेर फर्किनुस र स्वदेशमै केही काम गर्नुस ।’
टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहन विकले युवाहरुमा विदेश जाने लहर चलेको बताएका छन् । उनले वडाको तथ्यांक अनुसार धेरैजसो युवाहरु प्लसटु सक्ने बित्तिकै विदेश गैरहेको बताउँदै त्यसलाई रोक्नको लागि सबै संयन्त्रले काम गर्न आवश्यक रहेको बताए । ‘विदेश जानु रहर त हैन । तपाई हामी सबैको वाध्यता होला’ ।” उनले भने–‘जानु भन्दा पहिले भाषा र सम्बन्धित मुलुकको ऐन कानूनका बारेमा जान्न जरुरी छ । होइन भने भोलि दु:ख पाइन्छ ।”
सो अवसरमा टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ढविन्द्र रावल, टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख नरेश अवस्थी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका निवर्तमान अध्यक्ष योगेश रावल लगायतले बोलेका थिए ।कार्यक्रम कन्सलटेन्सीका प्रबन्ध निर्देशक गणेशबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन म्यानेजर बिरेन्द्र साउँदले गरेका थिए ।
संस्थाले गतवर्ष समेत एसईई परिक्षामा उत्कृठ अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थी बधाई तथा सम्मान कार्यक्रम गरेको थियो । संस्थाले यसका अलावा विभिन्न प्रकोपमा समस्यामा परेका व्यक्ति र अनाथ, असहायलाई समेत सहयोग गर्ने गरेको छ । म्यानेजर साउँदले लागुऔषध न्यूनीकरणको अभियानमा संस्था समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताए ।