शेयेर गर्नुहोस
टीकापुर ०४ असोज /
उन्नत साना किसान कृषि सहकारी संस्था लिमिटेड टीकापुरको १० औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष लालबहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका आर्थिक शाखा प्रमुख रञ्जु आचार्यले सहकारीले नाफा भन्दा सदस्यहरुको जीवनस्तर सुधार्नतर्फ जोड दिनुपर्ने बताएकी छन् । “सहकारीको उद्देश्य नाफा कमाउने होइन ।” उनले भनिन्, “सहकारीका शेयर सदस्यको जीवनस्तरका कस्तो परिवर्तन आयो त्यो महत्त्वपूर्ण हो ।”
प्रमुख अतिथि रहेकी आचार्यले सहकारीलाई सबल बनाउन सदस्यको भुमिका महत्त्वपूर्ण हुने बताउँदै संस्थामा सदस्यले चासो अनि जवाफ खोज्नुपर्ने बताइन् । कार्यक्रममा आचार्यले देशमा रहेका सहकारी मध्ये ७० प्रतिशत भन्दा बढी सहकारी स्थानीय सरकारको मातहतमा रहेको बताइन् । कार्यक्रममा सहकारी संस्थाका पुर्व सल्लाहकार संयोजक बलबहादुर रावल विशिष्ट अतिथि रहेका थिए ।
सहकारी संस्थाले समुदायमा समूह मार्फत लगानी गर्दै आएको छ । कृषि तथा उत्पादन क्षेत्रमा सहुलियत ऋणमा सहकारीले लगानी गर्दै आएको सहकारीका व्यवस्थापक कमलबहादुर ठकुल्लाले जानकारी दिएका छन् । उनका अनुसार सटीकापुर नगरपालिकाको वडा नं. १ देखि वडा नं. ५ सम्म सहकारीको कार्यक्षेत्र रहेको छ । जसअनुसार सहकारीले सातवटा अन्तर समूह छन् भने ६५ समूह बनाएर काम गर्दै आएको सहकारी व्यवस्थापक ठकुल्लाले बताए । उनले कृषि कर्जामा ७ प्रतिशत र व्यापारी कर्जामा ९ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्दै आएको बताए ।
सहकारी संस्थामा ६ सय ४५ जना शेयर सदस्यबाट ३३ लाख ५३ हजार दुई सय शेयर पुँजी पुगेको छ । त्यसैगरी दुई लाख ९६ हजार ८ सय शेयर पुँजी सहकारीले फिर्ता लिएको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ । सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा दुई करोड ६८ लाख ४५ हजार ९ सय ५३ रुपैयाँ ७६ पैसा बराबरको आयव्यय सार्वजनिक गरिएको छ । त्यसैगरी सहकारीले गत आर्थिक वर्षमा १९ लाख ८५ हजार पाँच सय ७९ रुपैयाँ आम्दानी गरेकोमा एक लाख १२ हजार चार सय ९८ रुपैयाँ खुद नाफा कमाएको छ ।
सहकारी संस्थाले उत्कृष्ट बचत कर्ताको रुपमा जमुना सुनारलाई सम्मान गरेको छ । उत्कृष्ट ऋणीमा सातवटा अन्तर समुह मार्फत सातजनालाई सम्मान गरेको छ । जसमा भगवती बोहरा, बसुन्धरा ठकुल्ला, सन्चराम थारु, शारदा उपाध्याय खनाल, झिंगिया चौधरी, पवित्रा चौधरी र गीता डगौरा थारु रहेका छन् । सहकारीले मुद्दती बचततर्फ दुखानी चौधरी, उत्कृष्ट कर्मचारी निर्मला ठकुल्लालाई पनि सम्मान गरिएको छ ।
सहकारी संस्थाका सचीव पदम सापकोटाले सञ्चालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष देवानन्द रिमालले गरेका थिए ।