एक सय ३२ जना बिद्यार्थीलाई छात्रवृत्ति

शेयेर गर्नुहोस


टीकापुर ३१ असार/
कैलाशेश्वर सामुदायिक वन उपभोक्ता समूह जानकी गाउँपालिका वडा नं. ६ जगतपुरले एक सय ३२ जना बिद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।
वनले सोमबार एक कार्यक्रमको आयोजना गर्दै एक सय ३२ जना बिद्यार्थीलाई नतिजामा आधारित उत्कृष्ट छात्रवृत्ति वितरण गरेको हो । सामुदायिक वनले आफ्नो कार्यक्षेत्र भित्रका सामुदायिक बिधालयमा अध्ययनरत कक्षा १ देखि ९ सम्म (कक्षा ८ र १० बाहेक) का प्रत्येक बिधालयका कक्षा प्रथम एकजना छात्र र एकजना छात्रालाई जनही एक हजार पाँच सय नगद र प्रमाणपत्र सहित पुरस्कृत गरेको छात्रवृत्ति कार्यक्रम संयोजक कर्ण कुँवरले जानकारी दिएका छन् ।
त्यस्तै वनले कक्षा ८ को वार्षिक परिक्षामा जानकी गाउँपालिका भित्रका सामुदायिक बिधालयबाट उत्कृष्ट अंक ल्याउने छात्रतर्फ भृकुटी माद्यामिक बिधालय सुवर्णपुरका खुमन बजगाई र छात्रातर्फ बालज्योती माद्यामिक बिधालय जगतपुरका श्रेया देवकोटालाई जनही पाँच हजार नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ । वनले माध्यमिक शिक्षा परिक्षा (एसईई) २०८१ मा गाउँपालिका भित्रको आफ्नो कार्यक्षेत्र भित्रबाट उत्कृष्ट अंक ल्याउने दुईजना बिद्यार्थीलाई जनही १० हजार नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ । जसमा महेन्द्र शिशु माद्यामिक बिधालय धर्मापुरका सन्तोष संज्याल र सरस्वती माद्यामिक बिधालय दुर्गौलीकी सदिक्षा बम रहेका छन् ।
कार्यक्रम संयोजक कुँवरले आगामी दिनमा पनि छात्रवृत्तिको कार्यक्रमलाई निरन्तरता दिने बताउँदै अति विपन्न, जेहेन्दार बिद्यार्थीहरुलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले गतवर्षबाट एसईई उतिर्ण भएर प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विपन्न परिवारको बिधालयलाई ३० हजार छात्रवृत्ति उपलब्ध गराउँदै आएको बताउँदै गतवर्ष दुईजनाले उक्त सेवा लिएको बताए । कुँवरले यसवर्ष पनि तीन जनाको लागि केहि दिनमा छात्रवृत्तिका लागि सुचना आह्वान हुने बताएका छन् । साथै उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर राख्दै तीन सय ३० जना उपभोक्तालाई इन्डेक्स चुल्हो वितरण आजबाट सुरु गर्ने संयोजक कुँवरले बताए ।
कार्यक्रममा बोल्दै सव डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलिप कुमार यादवले सामुदायिक वनले गर्ने कार्यक्रममा छात्रवृत्ति वितरणको कार्यक्रम फरक र महत्त्वपूर्ण कार्यक्रम भएको बताएका छन् । उनले शैक्षिक क्षेत्रको सुधार र बिद्यार्थीहरुलाई प्रतिस्पर्धी बनाउनका लागि कार्यक्रम विशेष हुने अपेक्षा गरेका छन् । “यसले वनसँग बिद्यार्थी, बिधालय र अभिभावकलाई सँगै जोड्न सफल भएको छ ।” उनले भने, “आगामी दिनमा पनि यसलाई अझै फराकिलो बनाएर लैजान सक्नुपर्छ ।
कार्यक्रममा जानकी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष सुरेश चौधरीले समाजप्रति सामुदायिक वनको भुमिका विगत देखि नै फरक रहँदै आएको बताउँदै शैक्षिक क्षेत्रमा पनि वनले अभिभावकिय भुमिका खेलेको बताएका छन् । वडा अध्यक्ष चौधरीले उत्कृष्ट विद्यार्थीसँगै अति विपन्न र अभिभावक विहिन बालबालिकाको अभिभाकिय भुमिकामा उभिन सामुदायिक वनलाई आग्रह गरेका छन् ।
कार्यक्रममा जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीले शैक्षिक गुणस्तर कायम गर्नका लागि तीनै तहका सरकार लागिरपेको बताउँदै त्यसमा थप समन्वयको काम विभिन्न संघसंस्थाहरुले गर्दै आएको बताएका छन् । उनले सामुदायिक वनको शैक्षिक क्षेत्रको लगावलाई प्रशंसनीय भएको उल्लेख गरे । “हाम्रो ध्यान शैक्षिक क्षेत्रको गुणस्तर कायम गर्न केन्द्रित हुँदा अभिभावकले पनि त्यसमा जिम्मेवार भएर भुमिका खेल्नुपर्छ ।” उनले भने, “एउटैले लागेर हुँदैन । घरमा पनि अध्ययन गर्ने वातावरण बिद्यार्थीका लागि अभिभावकले बनाइदिनुपर्छ ।”
शिक्षा शाखा प्रमुख कपाडीले सामुदायिक वनले शैक्षिक गुणस्तर बढाउन र बिद्यार्थीलाई प्रोत्साहन गर्नका लागि बृहत् छात्रवृत्ति कार्यक्रम आयोजना गरिएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन पनि आग्रह गरेका छन् । कार्यक्रममा सरस्वती माद्यामिक बिधालय दुर्गौलीका प्रधानाध्यापक खड्ग बहादुर शाहीले सामुदायिक वनले बिद्यार्थी प्रती अभिभावकिय भुमिका खेलेको बताएका छन् । उनले आगामी दिनमा पनि यस्ता बिद्यार्थी प्रतिस्पर्धा गर्नका लागि पनि छात्रवृत्ति कार्यक्रमले मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।
वनकी कोषाध्यक्ष विष्णु कुमारी बम शाहले स्वागत गरेको कार्यक्रमको सञ्चालन भक्त विश्वकर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *