शेयेर गर्नुहोस
टीकापुर २० भदौ /
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालू आर्थिक वर्षको बजेट तथा योजना कार्यान्वयनमा ढिलाइ भएको छ ।
स्थानीय तहले चालू आर्थिक वर्षका लागि गएकै असार १० गते नीति तथा कार्यक्रम सहित बजेट ल्याइ सकेका थिए । चालू आर्थिक वर्ष सुरु भएको डेढ महिना भन्दा लामो समयसम्म स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यक्रम कार्यान्वयनको काम सुरु गर्न नसकेका हुन । स्थानीय तहले अझै चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम आफ्नो वेबसाईटमा राखेका छैनन् ।
टीकापुर नगरपालिकाको बजेट तथा कार्यक्रम वेबसाईटमा छैन । स्रोतका अनुसार केही कार्यक्रमहरुको टुंगो अझै लाग्न सकेको छैन । केही कार्यक्रम कुन शाखा मार्फत गर्ने भन्ने विषयमा जनप्रतिनिधिमा देखिएको अन्योलताले योजना तथा कार्यक्रमको अन्योलमा छन् । जनप्रतिनिधिले आफू अनुकुल बनाएका योजना कार्यान्वयन गर्ने शाखाको टुंगो लाग्न अझै बाँकी छ ।
प्रमुख प्रशासकीय अधिकृत नभएका कारण योजन कार्यान्वयन हुन नसकेको निमित्तको जिम्मेवारी पाएकी नगरपालिकाकी लेखा अधिकृत लक्ष्मी ओडले जानकारी दिएकी छन् । नगरपालिका रविन्द्र प्रसाद चौधरी प्रमुख प्रशासकीय अधिकृत छन् । उनी चालू आर्थिक वर्ष सुरु भएदेखि प्रायः नगरपालिकामा बसेका छैनन् । स्रोतका अनुसार नगरपालिकामा केही जनप्रतिनिधिका कारण काम गर्ने वातावरण नरहेको भन्दै काम नगर्ने मनस्थिति बनाएको बुझिएको छ ।
उता जानकी गाउँपालिकाले पनि चालू योजन तथा कार्यक्रम सुरु गर्न सकेको छैन । प्रमुख प्रशासकीय अधिकृतकै कारण गाउँपालिकाले रातो किताब समेत सार्वजनिक गर्न सकेको छैन । गाउँपालिकाले पनि वेबसाईटमा बजेट तथा कार्यक्रम भने राखिसकेको छ । “प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी सुत्केरी स्याहार बिदामा बस्नु भयो । त्यसैमा उहाँको सरुवा भयो र अर्को हाकिम आउनुभएको छ ।” गाउँपालिकाका लेखा अधिकृत दिनेश माझीले भने, “आजभोलिसम्म हाकिम आएपछि एक हप्ताभित्र योजन कार्यान्वयनमा जान्छन् ।” गाउँपालिकामा दुई वर्ष पूरा गरेर सरुवा भएका चौधरीको कार्यकालमा जानकी गाउँपालिकाले प्रशासनिक तथ सुशासनमा राम्रो काम गरेको बताइन्छ ।
भजनी नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना कार्यान्वयनमा जान सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपाने कार्यालयमा अनियमित हुँदाहुँदै उनको सरुवा भएपछि योजना कार्यान्वयन अन्योल बनेको थियो । न्यौपाने सरुवा भएको केही दिनमै नगरपालिकाम प्रमुख प्रशासकीय अधिकृतको रुपमा राजेन्द्र प्रसाद पन्थीलाई खटाएको छ । नगरपालिकामा पन्थी हाजिर नहुने भन्ने कुरा पनि बाहिर आएको छ । पन्थीको ठाउँमा कार्यकारी अधिकृत नारायण बहादुर विष्टलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा ल्याउने रणनीति केही जनप्रतिनिधिको छ । नगरपालिकामा पनि अझै बजेट तथा योजना कार्यान्वयन कहिले गर्ने भन्ने टुंगो लागेको छैन ।
जोशीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित कुमार शाह पनि बिदामा छन् । केही समय कार्यालयमा हाजिर भएका शाह आएपछि मात्रै योजना कार्यान्वयनमा जाने गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले बताए । “यो महिनाभित्र योजना कार्यान्वयनमा जान्छन् । अब कार्यालय प्रमुख आएपछि बजेट तथा कार्यक्रम कार्यान्वयन सुरु गर्छौं ।” अध्यक्ष चौधरीले भने, “अर्को कुरा आउनुपर्ने बजेट नै नआएका कारण पनि योजना कार्यान्वयनमा अन्योल भएको हो । अब केही दिनमा संघबाट आउने बजेट आएपछि कार्यान्वयन अगाडि बढाउछौँ ।”