पठनपाठन सुरु गर्ने तयारीमा बिद्यालय

शेयेर गर्नुहोस


झलनाथ खनाल,
टीकापुर ०३ असोज /
कोरोना महामारीका कारण २०७६ चैत्र ६ गतेदेखि बन्द भएका शैक्षिक संस्थाको पठनपाठनका लागि प्रक्रिया सुरु गरिएको छ ।
सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ जारी गरेसँगै टीकापुर लगायतका स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयको बैकल्पिक माध्यमबाट पठनपाठनका लागि प्रक्रिया सुरु गरेका ह्ुन् । टीकापुर नगरपालिका क्षेत्रभित्रका संस्थागत तथा निजी विद्यालयहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई भर्ना कार्यक्रम, पाठ्यपुस्तक वितरण लगायतका काम सुरु गरेका छन् भने सामुदायिक विद्यालयहरुले पनि भर्ना प्रक्रियालाई अगाडि बढाएका छन् ।
लामो समयसम्मको बन्दका कारण सबैभन्दा बढी मारमा परेको शैक्षिक क्षेत्रलाई बैकल्पिक पद्दतिमार्फत् पठनपाठन सुरु हुने भएपछि विद्यार्थी तथा अभिभावकहरु पनि खुसी भएका छन् । टीकापुर नगरपालिका शिक्षा शाखाका प्रमुख दमनसिंह चौधरीले टीकापुरको हकमा अनलाइन, अफलाइन, दुरशिक्षा लगायतका प्रविधिबाट पठनपाठन सुरु हुने गरी प्रक्रिया अगाडि बढेको बताएका छन् । ‘हामीले विद्यालय सञ्चालनका लागि छलफल सुरु गरेका छौं । विद्यालय नै खोलेर पठनपाठन गर्न सक्ने अवस्था पनि छैन ।’ शिक्षा शाखा प्रमुख चौधरीले भने, ‘अहिले विद्यार्थी भर्ना तथअ अभिलेखीकरणको काम विद्यालयहरुले सुरु गरेका छन् । अभिलेखीकरणको काम सकिएपछि कसरी अगाडि बढ्ने ? भन्ने विषयमा छलफल गरी पठनपाठनलाई सहज गराइने छ ।’
सरकारले यसअघि नै बैकल्पिक अनलाइन तथा रेडियो शिक्षालाई सञ्चालनका लागि आह्वान गरे पनि सबै विद्यालयहरु अनलाइन इन्टरनेटको पहुँचमा नहुँदा टीकापुर नगरपालिकामा शैक्षिक गतिविधिहरु अगाडि नबढेको बताउँदै शिक्षा शाखा प्रमुख चौधरीले आगामी दिनमा भने आवश्यकताअनुसार विद्यार्थीहरुलाई पठनपाठनमा जोड्नका लागि सहजीकरण गरिने बताएका छन् ।
उता, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का कैलाली जिल्ला अध्यक्ष डिल्लीराज रेग्मीले केही संस्थागत विद्यालयहरुले पहिलेदेखि नै अनलाइन कक्षा सञ्चालन गर्दै आएको बताउँदै आगामी दिनमा हप्तामा दुई विद्यार्थीलाई स्वअध्ययन सामाग्री वितरणका लागि विद्यालय सञ्चालन गरिने बताएका छन् । उनले सीमित विद्यार्थीहरुलाई आलोपालो विद्यालय बोलाएर स्वअध्ययन सामाग्री उपलब्ध गराइने र आवश्यक गृहार्य दिने गरी विद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।
‘हामीले माथिल्लो कक्षाका सीमित विद्यार्थीलाई सामाजिक दुरी कायम हुने गरी विद्यालयमै पठनपाठनको माग गरेका छौं ।’ जिल्ला अध्यक्ष रेग्मीले भने, ‘त्यसो नभए गणित र विज्ञान विषयको कक्षा सञ्चालन गर्न सके पनि केही सहज हुनसक्छ । हामीले शिक्षक र विद्यार्थीहरुलाई आलोपालो गरी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पठनपाठनलाई सहजीकरण गर्ने प्रक्रियामा अगाडि बढेका छौं ।’
त्यस्तै, प्याब्सन स्थानीय पालिका कार्य समिति टीकापुरका अध्यक्ष जयकृष्ण तिमिल्सिनाले विद्यार्थीहरुलाई रोल नम्बरको आधारमा जोर÷बिजोर प्रणालीबाट विद्यालयमै पठनपाठन सुरु गरिनु पर्ने बताएका छन् । उनले स्थानीय सरकारलाई विद्यालय सञ्चालनको जिम्मा सरकारले दिएको भन्दै आफूहरु स्थानीय सरकारको निर्णय पर्खेर बसेको बताएका छन् ।
टीकापुर नगरपालिकामा ४० वटा निजी तथा संस्थागत विद्यालयहरु सञ्चालनमा छन् भने ३४ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । ती शैक्षिक संस्थामा करिब ४५ हजार विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन् ।
भजनी नगरपालिकाले पनि बैकल्पिक प्रणालीमार्फत् पठनपाठन प्रक्रिया सुरु गरेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख देवराज अवस्थीले सबै विद्यालयहरुलाई विद्यार्थी भर्ना तथा विद्यार्थी अभिलेखीकरणका लागि जानकारी गराइसकेको बताउँदै सरकारले जारी गरेको निर्देशिकाकै आधारमा अगाडि बढ्ने बताएका छन् ।
भजनी नगरपालिका क्षेत्रभित्र ३९ वटा सामुदायिक विद्यालय र १५ वटा निजी विद्यालय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *