बजेट नल्याउने स्थानीय तहको सुचिमा किन पर्यो टीकापुर ?

शेयेर गर्नुहोस


टीकापुर २३ भदौ /
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुसार शनिबारसम्म टीकापुर नगरपालिका सहित देशका ६१ स्थानीय तहले बजेट नल्याएको रिपोर्ट बाहिर आयो ।
देशभरका कूल ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ९२ स्थानीय तहले हालसम्म बजेट सार्वजनिक गरी कार्यान्वयन गरेको विवरण सार्वजनिक हुँदा सुदुरपश्चिम प्रदेशबाट टीकापुर नगरपालिका मात्रै बजेट पेश नगर्ने स्थानीय तहको रुपमा रिपोर्ट बाहिर आएको हो । उसो त नगरपालिकाले गएको असार १० गते नै चालू आर्थिक वर्ष २०८२/०८३ का लागि ९३ करोड ६७ लाख ९७ हजार एक सय २७ रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
समयमै बजेट ल्याएको नगरपालिकाले समयमा बजेट वेबसाईटमा राख्न नसक्दा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको साइडमा अपलोड गर्न नसक्दा बजेट नल्याउने स्थानीय तहको सुचिमा नगरपालिका परेको हो । कर्मचारी र जनप्रतिनिधि बीचको आन्तरिक द्वन्दका कारण समयमा कार्यसम्पादन गरेको काम पनि रेकर्ड हुन सकेन ।
उसो त चालू वर्षका केहि कार्यक्रमहरु कुन शाखा मार्फत गर्ने भन्ने विषयमा समयमा टुंगो लगाउन नसक्दा पनि बजेट ल्याउने स्थानीय तहको सुचिबाट नगरपालिका हटेको भन्ने छ ।
नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले बजेट अपलोडमा आइटीले ढिलासुस्ती गर्दा समस्या देखिएको बताए । “हामीसँग यथेष्ट बजेट र कार्यक्रमको विवरण मिलाउन ढिला भएका कारण बजेट अपलोड गर्न विलम्ब भएको हो । बजेट तथा कार्यक्रम अपलोड नभएपछि मन्त्रालयको रेकर्डमा हामीले बजेट नल्याएको देखियो ।” उनले भने, “त्यो सुचना बाहिर आएपछि शनिबार नै हामीले बजेट तथा कार्यक्रम अपलोड गरिसकेका छौँ ।”
उसो त नगरपालिकामा कर्मचारी र जनप्रतिनिधि बीच दुरी बढेको छ । खासगरी नगर प्रमुखसँग केही कुरामा कर्मचारीको मत बाझिँदा त्यसको असर चालू आर्थिक वर्षको बजेटमा देखिएको अनुमान लगाउन सकिन्छ । नगर प्रमुख थारुले कर्मचारीले आफुलाई सहयोग नगर्दा काम गर्न नसकेको बताउँदै आएका छन् । केही कर्मचारीहरु दबाबमा रहेर नीति नियम भन्दा बाहिर गरेर काम गर्न नसकिने भन्दै टाढिएपछि नगरपालिका भित्र सहजरूपमा काम गर्ने वातावरण बन्न सकेको छैन ।
नगर प्रमुख थारुले प्रमुख प्रशासकीय प्रमुख नगरपालिकामा नहुँदा कामकाज निकै प्रभावित भएको पनि बताए । चालू आर्थिक वर्ष सुरु भएदेखि प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा अनियमित हुने गरेको नगर प्रमुख थारुले बताए । हाल नगरपालिकामा रवीन्द्र प्रसाद चौधरी प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । “उहाँलाई पटकपटक खबर गर्दा म आउन सक्दैन भन्ने जवाफ आएको छ । उहाँ आफै पनि सरुवाको लागि लागिरहनु भएको छ ।” नगर प्रमुख थारुले भने, “केही समय आएर उहाँले हालसम्म रोकिएका काम गर्नुहुन्छ । त्यसपछि उहाँ जाने भएपछि अर्को को आउने भन्ने कुराको एकिन पनि भएको छैन ।”
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अन्योलले चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनमा पनि अन्योलता देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत चौधरी सरुवाको लागि लागिपर्दा आगामी कार्यक्रम प्रभावित हुने सम्भावना बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *