शेयेर गर्नुहोस
टीकापुर १७ असोज /
टीकापुर बहुमुखी क्याम्पसले व्यवस्थापन संकाय अर्न्तगत बिबिए प्रथम सेमेष्टरका विद्यार्थीहरुलाई आज अभिमुखीकरण गरेको छ ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै टीकापुर बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख प्राध्यापक डाक्टर जगतबहादुर सिंह रावलले बिबिएको राम्रो बजार रहेको बताउँदै बिबिए पढ्ने विद्यार्थीले आफूले जागिर गर्नु भन्दा अरुलाई जागीर दिने किसीमको सिर्जनात्मक काम गर्नु पर्ने सुझाव दिएका छन् । टीकापुर बहुमुखी क्याम्पसका प्रमुख डाक्टर ढविन्द्र रावलले अहिले प्रविधिको युग भएकाले बिबिए पढ्ने विद्यार्थीले प्रविधिसंग नजोडिएपछि त्यो शिक्षा काम नलाग्ने भएकाले प्रविधिमा जोडिन आग्रह गरेका छन् ।
पूर्व क्याम्पस प्रमुख डाक्टर केशरबहादुर कुँवरले परिवर्तनका लागि कुनै पनि सर्टीफिकेट वा डिग्रीको मूल्य हुनु पर्ने बताएका छन् । आरएमई स्कुल टीकापुरका प्रधानाध्यापक तेजराज खनालले पछिल्लो समय नेपालमा पढ्नु भन्दा विदेशमा पढ्न जाने नराम्रो परिपाटी चलेको स्मरण गर्दै यदि विदेश नै जाने हो भने पनि स्नातकसम्मको पढाई गरेर जाँदा राम्रो हुने सुझाव दिएका छन् ।
टीकापुर बहुमुखी क्याम्पस बिबिए कार्यक्रमका संयोजक उमाकान्त भण्डारीले टीकापुर बहुमुखी क्याम्पसले दक्ष जनशक्ति उत्पादन गरीरहेको बताउँदै अझै पनि दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा सुदुरपश्चिम विश्वविद्यालय स्कुल अफ एग्रीकल्चरका प्रमुख सञ्जय कुमार रावत, सप्तऋषी माविका शिवराम चौलागाई, टीकापुर बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाजका अध्यक्ष ईश्वर साउँद, स्वियु प्रतिनिधि शौरव चन्द, नव आगन्तुक विद्यार्थी जनक साउँद र दिर्घकला उपाध्यायले पनि मन्तव्य राखेका थिए ।
कार्यक्रममा सह–प्राध्यापक डाक्टर देवराज जोशीले सुझाव तथा गुनासो संकलनका विषयमा जानकारी गराएका थिए भने उप–प्राध्यापक चित्रराज उपाध्यायले क्याम्पसका अहिलेको अवस्थाका विषयमा जानकारी दिएका थिए । उप–प्राध्यापक भवानी प्रसाद वसौट्यालले सञ्चालन गरेको कार्यक्रम क्याम्पसका सहायक क्याम्पस प्रमुख आत्माराम अधिकारीले स्वागत गरेका थिए ।










