शेयेर गर्नुहोस
पदमराज जैशी, भजनी १७ भदौ /
भजनी नगरपालिका वडा नं. ५ का डम्बर सिंह साउँद सधै चर्चामा आइरहने व्यक्ति हुन ।
चर्चामा सधै आइरहने उनलाई डम्बर सिंह साउँद भनेर आज पनि प्रायः कमैले चिन्ने गर्छन् । समाजमा केही गर्नुपर्छ भन्ने मनमा हुटहुटी बोकेका डम्बर केही समय भजनी नगरपालिकामा निकै चर्चित बने । स्थानीय तहको निर्वाचन पछि बढ्दै गएको भ्रष्टाचार, आर्थिक अनियमितता, अन्याय र अत्याचारका विरुद्ध स्वतन्त्र नागरिक आवाज फेसबुक पेज मार्फत सबैको आवाज बोल्ने डम्बरका गतिविधि कैयौंलाई मन परेनन । आम सर्वसाधारणले भने राम्रो साथ दिए ।
सामाजिक सञ्जालमा निकै लगाव राख्ने उनलाई अहिले त्यहीँ सामाजिक सञ्जालले एकाएक चर्चाको शिखरमा पुर्यायो भन्दा फरक नपर्ला । समाजमा घटिरहेको यथार्थ घटनालाई सामाजिक सञ्जाल मार्फत नागरिकहरू समक्ष पुर्याउँदै आएका डम्बरलाई सामाजिक सञ्जालले नै “शिवुका बुवा” को उपाधी दियो भन्दा फरक नपर्ला ।
कक्षा ८ को त्राइमासिक परिक्षा दिएर रोजगारीको सिलसिलामा भारतको इलाहावादमा एक हजार ८ सय रुपैयाँ मासिक पारिश्रमिकमा काम गर्न सुरु गरेका उनले रोजगारीकै लागि निकै भागदौड गर्नुपर्यो । कहिले दिल्ली त कहिले मुम्बईको भागदौड चलिरह्यो । “मैले लामो समय प्रदेशमा बस्दा स्वतन्त्र नागरिक आवाज मार्फत समाजलाई सचेत बनाउने काम गरे । जो गलत नियत बोकेर समाजसेवा गरिरहेकाहरुलाई मन परेको थिएन ।” उनले भने, “त्यसै बखत मैले आफ्नै क्षेत्रमा गएर काम गर्ने निधो गरे पनि गलत मानसिकता बोकेका मानिसहरूका अगाडि म टिक्न सकिन । देखेको सपना त्यागेर ज्यान जोगाउन पुनः भारत पस्नुपर्यो ।”
स्वतन्त्र नागरिक आवाज फेसबुक पेजमा आउने हरेक विषयवस्तुका कारण असुरक्षाको अनुभुती हुन थालेपछि भारत हनिएका डम्बर दिल्लीमा चौकीदारको जागिरमा लागेको बताउँछन् । सामाजिक सञ्जालमा पहिलेदेखि नै सक्रिय डम्बरले “अछामी तड्का” युटुव च्यानल खोलेर अछामी भाषाका सन्देशमुकल भिडियो पोष्ट गर्न थाले । जसमा श्रीमती “शिवुकी आमा” भाइ र बहिनीले राम्रो साथ दिए । श्रीमतीबाट राम्रो साथ पाएका डम्बर त्यसैबाट शिवुका बुवाबाट चिनिन थाले ।
त्यसपछि उनको जोडी सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ । सामाजिक सञ्जालमा निकै रुचाइयो । “मैले गरेको निरन्तर प्रयासले सफलता पायो । एक चौकीदारबाट मासिक पारिश्रमिक पाउने मलाई फेसबुकले पनि मासिक पारिश्रमिक दिन थाल्यो ।” उनले भने, “हरेक कुरालाई एकाग्रता दिएर गर्यो भने सफलता हासिल गर्न सकिन्छ भन्ने एक उदाहरण म आफुलाई लिन्छु ।” अहिले उनको फेसबुक पेजमा तीन लाख ७० हजार बढी फ्लोरर्स छन् ।
हरेक क्षेत्रबाट प्रताडित भएको व्यक्ति पनि हरेश नखाएर निरन्तर एउटै काममा लाग्दा सफल हुने उनको बुझाइ छ । “म सामाजिक, आर्थिक लगायत हरेक अभावबाट गुज्रिएको मान्छे हु । एक दिन समय सबैको आउँछ भन्ने सुनेको थिए ।” डम्बर भन्छन्, “त्यो एक दिन निरन्तरको मिहेनत अनि लगनशीलताले आउँदो रहेछ ।” देश तथा विदेशमा सबै माझ परिचित बनेका डम्बरलाई अहिले विभिन्न कार्यक्रमहरुमा अतिथिको रुपमा आमन्त्रण गर्न गर्छन् । लाखौंको मन मस्तिष्कमा बस्न सफल भएका डम्बर हरेक ठाउँबाट प्रताडित भएर सफल व्यक्ति भन्न सकेकोमा गर्भ गर्छन् ।