शेयेर गर्नुहोस
टीकापुर २९ भदौ /
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले जेन जि आन्दोलनको बेलाको परिस्थितिले सामाजिक सञ्जालमा राजीनामा दिएको पोष्ट गर्न बाध्य पारिएको बताएका छन् ।
भदौ २४ गते जेन जि आन्दोलनका क्रममा टीकापुर नगरपालिका तोडफोड सहित आगजनी भएसँगै नगरपालिका नजिकै रहेको निजि घरमा आगजनीको प्रयास हुँदा ज्यान जोगाउनुपर्ने स्थितिका बीच सामाजिक सञ्जाल फेसबुकमा राजिनामा दिएको पोष्ट गर्न बाध्य पारिएको बताएका छन् । “जेन जि को नामबाट मेरो घर घेरिएको थियो । मलाई ज्यान मार्ने थ्रेड आएपछि आफ्नो गर अनि ज्यान जोगाउनका लागि राजिनामा दिएको लेख्न बाध्य भएको थिए ।” उनले भने, “त्यो आधिकारिक होइन । म जनताको काम गर्न आएको हु अझै धेरै काम गर्नुपर्ने छन् । त्यो राजिनामा आधिकारिक होइन ।”
उनले नगरपालिकामा भएको तोडफोडको प्रहरी मुचुल्का बनाएर सरसफाइको काम भैरहेको बताउँदै नगरपालिका सरसफाइको काम सकिएसँगै सेवा प्रवाहको काम सुरु गरिने बताएका छन् । “सकेसम्म आजबाटै अत्यावश्यक सेवा सुरु हुनसक्छ ।” उनले भने, “नभए भोलीबाट नगरपालिकाको दैनिक कामकाज सुरु हुन्छ ।” नगर प्रमुखको प्रारम्भिक लागत संकलनबाट नगरपालिकामा जेन जिको आन्दोलनबाट पाँच करोड २२ लाख ३५ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।
त्यसैगरी कैलारी गाउँपालिकाका अध्यक्ष राज समझ चौधरीले पनि दिएकाे राजीनामा फिर्ता लिएका छन् । जेन जी आन्दोलनका क्रममा चौधरीको घरमा तोडफोड तथा आगजनी हुन थालेपछि उनले राजिनामा दिएको बताएका छन् । त्यो बेला राजीनामा दिनुपर्ने दबाब मात्र नभई ज्यान मार्ने धम्की समेत आएपछि सामाजिक सञ्जालमार्फत गाउँपालिका अध्यक्ष र पार्टी सदस्य पद दुवैबाट राजीनामा दिएको घोषणा गर्नुपरेको उनले शनिबार जारी गरेको पत्रमा उल्लेख गरेका छन् ।
गाउँपालिका भित्र सार्वजनिक तथा निजी सम्पत्ति संरक्षण गर्ने, गाउँसभा सदस्य र राजनीतिक दलहरूबाट राजीनामा फिर्ता लिन आग्रह भएको भन्दै उनले विज्ञप्ति जारी गरी राजीनामा फिर्ता लिएको जानकारी दिएका छन् । अध्यक्ष चौधरीले गाउँपालिकाको नियमित कामकारबाही अघि बढाउन सबै कैलारीबासीसँग सहयोग र समन्वयको लागि आग्रह गरेका छन् ।
उसो त जेन जिको आन्दोलनका क्रममा राजनीतिक दलबाट राजिनामा दिनेको संख्या समेत निकै बढेको थियो । भदौ २३ गते जेन जिको आन्दोलनका क्रममा १९ जनाको ज्यान गुमाएपछि राजनीतिक दल तथा त्यसबेलाको सरकार प्रती असन्तुष्टि जनाउँदै कैयौंले पद तथा पार्टी परित्यागको घोषणा गरेका थिए । ती घोषणा गरेका अधिकांशले सामाजिक सञ्जालबाट घोषणा गरेका पोष्ट यतिबेला डिलिट गरिसकेका छन् ।