शेयेर गर्नुहोस
खेम राज पाण्डेय, भजनी १४ भदौ /
यूरोपियन युनियन (इयु) को आर्थिक सहयोग तथा युनिसेफ नेपालको सहकार्यमा, भजनी नगरपालिकासँगको साझेदारी र सामुदायिक विकास केन्द्र (सिडिएस) डोटीको कार्यान्वयनमा सञ्चालित गुणस्तरीय सिकाइका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम (SESP) अन्तर्गत दुईदिने शिक्षा क्षेत्रको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणसम्बन्धी क्षमता विकास कार्यशाला सम्पन्न भएको छ।
कार्यशालाको उद्देश्य विद्यालय र समुदायमा सम्भावित विपद्को कारण शिक्षामा पर्न सक्ने क्षतिको न्यूनिकरणका लागि आवश्यक पूर्वतयारी र प्रतिकार्य योजना निर्माण गर्नु, पालिकाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना (DPRP) कार्यान्वयनमा सहयोग पुर्याउनु तथा शिक्षा क्लस्टरलाई सक्रिय बनाउनु रहेको थियो।
कार्यक्रममा भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीको अध्यक्षतामा भएको कार्यशालामा भजनी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा, विपद् शाखा,महिला तथा बालबालिका शाखा, पंजीकरण शाखा,स्वास्थ्य शाखा र युनिसेफ फिल्ड कार्यालय धनगढी तथा सामुदायिक विकास केन्द्र (CDC) डोटीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यशालामा विपद् तथा प्रकोपको परिचय, विपद् सम्बन्धी शब्दावली, जोखिम तथा सङ्कटासन्नता क्षमता विश्लेषण (HVCA) लगायतका विषयवस्तु समेटिएका थिए। कार्यशालाबारे जानकारी दिँदै CDC डोटीका कार्यक्रम व्यवस्थापक हर्क बहादुर ऐरले यसले स्थानीय तह र विद्यालय शिक्षा क्षेत्रलाई विपद् व्यवस्थापनमा थप सशक्त बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको सहजीकरण शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत पंख बहादुर शाह र विपत् शाखा अधिकृत विष्णु न्यौपानेले गर्नुभएको थियो।