शेयेर गर्नुहोस
टीकापुर १८ चैत /
प्रधानमन्त्री बलेन्द्र शाहले संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूसँगको छलफललाई निरन्तरता दिएका छन् ।
संघीय सरकारले पहिलोपटक प्रदेश तहमा गर्नैपर्ने महत्त्वपूर्ण योजना तथा विकासका सवालमा प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै सांसदलाई एकै ठाउँमा बोलाएर छलफलको सुरुवात गरेका हुन । त्यसैअनुरूप सुदुरपश्चिम प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सांसदसँग प्रधानमन्त्री शाहले मंगलबार छलफल गरेका छन् । छलफलका क्रममा सांसदहरुले कैयौं विषयवस्तुको उठान गरे पनि आवश्यकताको आधारमा यसभन्दा पहिले नै तय भएर वर्षौंदेखि अलपत्र परेका योजनाको कार्यान्वयनमा सांसदले जोड दिएका छन् । विगतमा तय भएर अलपत्र परेका र वर्षौदेखि प्रक्रियामा रहेका सुदुरपश्चिम क्षेत्रका महत्वाकांक्षी योजनाकोविषयमा प्रधानमन्त्रीसँग छलफल भएको सांसद केपी खनालले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार धनगढी गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा विभिन्न चिकित्सा विषयहरूको पठनपाठन सुरु गर्न आवश्यक सबै प्रक्रियाहरू तत्काल पुरा गर्ने सम्बन्धमा छलफल भएको छ । सांसद खनाल लगायतले यसभन्दा पहिले पनि विश्वविद्यालय सञ्चालनको चरणबद्ध छलफल जारी राखेका छन् । दोस्रो महत्त्वपूर्ण योजनाको रुपमा रहेको टीकापुर–दुर्गौलीदेखि बझाङको ताक्लाकोट जोड्ने सेती लोकमार्गको निर्माण कार्यलाई तीव्रता दिई छिटो सम्पन्न गर्नुपर्ने सम्बन्धमा पनि सांसदले प्रधानमन्त्रीसँग छलफल गरेका छन् ।
छलफलका क्रममा चिसापानी–जङ्गलघाट–मंगलसेन सडक खण्डको निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने विषयले प्राथमिकता पाएको छ । खक्रौला स्थित सत्ती भन्सार कार्यालयलाई प्रभावकारी बनाउँदै क्वारेन्टाइनको व्यवस्था गर्ने विषयमा, विगत २० वर्षदेखि बन्द अवस्थामा रहेको वासुलिङ्ग सुगर मिल पुनः सञ्चालनमा ल्याई पाँच हजारलाई प्रत्यक्ष र १५ हजारलाई अप्रत्यक्ष रोजगारीको सिर्जना गर्ने, कर्णाली चिसापानीदेखि कञ्चनपुर महेन्द्रनगरसम्मको सडक खण्डमा छाडा चौपायाको उचित व्यवस्थापन गरी सडक दुर्घटना न्यूनीकरण गर्ने विषयमा पनि छलफल भएको सांसद खनालले बताएका छन् ।
त्यसैगरी पहाडी क्षेत्रमा देखिएको मोबाइल तथा इन्टरनेट नेटवर्कको समस्यालाई स्थायी रूपमा समाधान गर्ने, थारु समुदायमा वंशाणुगत स्वास्थ्य समस्याको रूपमा रहेको ‘सिकल सेल एनिमिया’ न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने, सुदूरपश्चिम र भारतको उत्तराखण्डको धार्मिक पर्यटन प्रवर्द्धनका लागि ‘मानसखण्ड सर्किट’को अवधारणालाई कार्यान्वयन गर्ने, दिगो पर्यटनका लागि ‘इको-टुरिज्म’ सँगै डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्ने सम्बन्धमा प्रधानमन्त्रीसँग छलफल भएको उनले बताएका छन् ।
किसानले गहुँ बाली भित्र्याउने समय भएकोले तत्काल गहुँको मुल्य निर्धारण सङ्गै कृषकहरूलाई खेतीको समयमै मल तथा उन्नत जातका बिउबिजन उपलब्ध गराउने सुनिश्चितता गर्ने, नेपालको अछाम जिल्लामा मात्रै पाईने दुर्लभ नौ मुठ्ठे गाईको अध्ययन गरि त्यसको निम्ति व्यवस्थित गौशाला निर्माण गरि त्यसबाट उत्पादन हुने गौमुत्र, गोबर , दुध अनि घ्यू लाई बजारिकरण व्यवस्था मिलाउने, महाकाली करिडोर को अवस्थाको सम्बन्धमा पनि सांसदहरूले प्रधानमन्त्रीसँग छलफल गरेका छन् भने सुदुरपश्चिमका पहाडि ७ जिल्ला लाई हवाईजहाज सङ्ग जोड्नका निम्ति सकिने विकल्पको लगायतका विषयमा छलफल भएको बताइएको छ ।










