शेयेर गर्नुहोस
टीकापुर २० चैत /
नेपाल एसबिआई बैंकले सीमा बिहिन स्वयंसेवक टीकापुर बालगृह लाई खाद्यान्न सहितको सामाग्री वितरण गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संस्थालाई खाद्यान्न सहितको सामाग्री वितरण गरेको हो । जसमा २० बोरा चामल, ६० केजि दाल, १० लिटर खाने तेल, सातवटा पंखा र तीन थान सिसी टिभी क्यामरा वितरण गरिएको बैंकका टीकापुर शाखा प्रबन्धक नवराज जोशीले जानकारी दिएका छन् । उनका अनुसार बर्सेनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको बताएका छन् । त्यसैअनुसार बालगृहलाई झण्डै एक लाख ५० हजारसम्मको सहयोग हस्तान्तरण गरिएको बताए ।
बैंकका क्षेत्रीय प्रबन्धक विनिता सिंहले बैंकले आर्थिक गतिविधि मात्रै नभई समाजसँग प्रत्यक्ष जोडिएर सहयोगको काम पनि गर्दै आएको बताएकी छन् । उनले सानो सहयोगले पनि कुनै व्यक्ति वा समुदाय र समाजलाई ठुलो राहत मिल्न सक्ने विश्वास व्यक्त गरेकी छन् । बालगृहका अध्यक्ष प्रेम बिसीले बालगृहलाई सहयोग गरेकोमा धन्यवाद दिँदै यसैगरी आगामी दिनमा पनि सहयोगको अपेक्षा व्यक्त गरे ।
अभिभावक बिहिन, आर्थिक अवस्था निकै कम्जोर भएका परिवारका २७ जना बालबालिका अहिले पनि आश्रय लिएर बसिरहेका छन् । जसमध्ये दुईजना एसईई दिइरहेका छन् । बालगृहमा कैलाली जिल्ला भित्रका बालबालिका बसोबास गरिरहेको अध्यक्ष बिसीले बताएका छन् । बालगृहमा पाँच वर्षदेखि १८ वर्षसम्मकालाई राख्न पाइने व्यवस्था रहेको छ ।








