सिमित स्रोतसाधनबाट धेरै काम गर्नुपर्ने बाध्यता छ : चौधरी

शेयेर गर्नुहोस


भजनी २४ भदौ /
जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरीले सिमित स्रोतसाधनका कारण कैयौं जनताका अपेक्षा पूरा गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
मलवारा डल्फिन मिडिया मञ्च भजनी जोशीपुरको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चौधरीले सिमित स्रोतसाधनको प्रयोगबाट जनताका असीमित अपेक्षा पूरा गर्नुपर्ने बाध्यता रहेको छ । “स्थानीय सरकारले काम गरेका छैनन् भन्नू गलत हो । काम भएका छन् । तर अपेक्षा नै धेरै हुँदा ती अपेक्षा पूरा गर्न नसकिएको हो ।” उनले भने, “त्यसमा केही समस्या केन्द्र र प्रदेश सरकारको कारण पनि काम गर्न गाह्रो छ । केही नीति नियमको कुरामा बाझिँदा पनि समस्या हुँदै आएको छ ।” गाउँपालिका अध्यक्ष चौधरीले पत्रकारसँग स्थानीय सरकारले समन्वय र सहकार्य गरेर अगाडि बढिरहेको बताए ।
भजनी नगरपालिकाका कार्यवाहक नगर प्रमुख विक्रम चौधरीले राष्ट्रको विकासका संचार क्षेत्रको भुमिका महत्त्वपूर्ण रहेको बताएका छन् । उनले राज्यको नजरबाट भजनी सधै उपेक्षित हुँदै आएको बताउँदै सुदुरपश्चिम प्रदेशको गुरु योजनामा परेका योजनाको लागि एक रुपैयाँ विनियोजन हुनु ठूलो विडम्बना भएको बताएका छन् ।
“हामीले प्रदेश र संघबाट पाउनुपर्ने योजना तथा कार्यक्रमबाट भजनी उपेक्षित छ । हाम्रो आवाज कसैले सुनिदिएको छैन ।” उनले भने, “अझै प्रदेश तथा संघीय सरकारले काम गरेका सडक जीर्ण हुँदा मर्मतसम्भार गर्दा त्यसलाई बेरुजुमा देखाइन्छ । हामीलाई काम गर्ने वातावरण छैन ।” उनले हाकिम नभएकै कारण बजेट कार्यान्वयन गर्ने समय ढल्किँदै गएको बताएका छन् । “२०७४ सालदेखि हालसम्म भजनीमा ९ वटा हाकिम फेरिएका छन् । संघीय सरकारले पाँच वर्षका लागि करारमा हाकिम नियुक्ति गर्न दिएको भए त्यो राम्रो हुन्थ्यो ।”
नेपाल पत्रकार महासंघ कैलाली जिल्ला अध्यक्ष श्रवण देउवाले पत्रकारले आचारसंहिता भित्र रहेर आफ्नो कार्यक्षेत्र भित्र काम गर्न आग्रह गरेका छन् । सरकारले बन्द गरेका सामाजिक सञ्जालका कारण प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रता हनन भएको महसुस भएको बताउँदै जिल्ला अध्यक्ष देउवाले यथाशीघ्र सामाजिक सञ्जाललाई प्रयोगमा ल्याउन माग गरेका छन् । स्थानीय सञ्चार क्षेत्रलाई बलियो बनाउन स्थानीय तहले आफ्ना क्षेत्रका मिडियाको संरक्षणको जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
मिडिया मञ्चले भजनी क्षेत्रमा दुई दशक लामो समयदेखि पत्रकारिता गर्दै आएका युग दर्पण साप्ताहिक पत्रीकाका प्रकाशक सम्पादक जयबहादुर बुढा, पत्रकार हेमन्तराज मान्डव्य, लिलाजंग शाही, वन वातावरण तथा जैविक विविधताको क्षेत्रमा योगदान पुर्याए बापत भोजराज ढुंगानालाई सम्मान गरिएको थियो ।
मलवारा डल्फिन मिडिया मञ्चका अध्यक्ष सुधराम दहितको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सदस्य जीवन कुमार डगौराले गरेको कार्यक्रमको सञ्चालन सचीव धर्मेन्द्र विष्टले गरेका थिए । अधिवेशनले दहितलाई पुनः अध्यक्षमा चयन गरेको छ । त्यसैगरी मञ्चको उपाध्यक्षमा पदमराज जैशी (नानु), सचीव धर्मेन्द्र विष्ट, कोषाध्यक्ष खेमराज पाण्डे निर्विरोध चयन भएका छन् । त्यसैगरी सदस्यमा जीवनलाल डगौरा, रविना चौधरी र दसीराम चौधरी निर्विरोध चयन भएको निर्वाचन समिती संयोजक लिलाजंग शाहीले जानकारी दिएका छन् ।

नयाँ निर्वाचित पदाधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *