ककसमा के भने उम्मेदवारले ?

शेयेर गर्नुहोस


टीकापुर २९ साउन/
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यहीँ ३० गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले खानेपानीको दिगो विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
टीकापुर जेसीजको आयोजनामा बुधबार भएको ककस कार्यक्रममा संस्थाको नेतृत्वका लागि उम्मेदवारी दिएका उम्मेदवारले संस्थाको दिगो विकासका लागि आआफ्नै दाबी गरेका छन् । जेसीजले ककस कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, सचीव र कोषाध्यक्ष पदका उम्मेदवारलाई सहभागी गराएको थियो । जसमा खड्ग धामीको प्यानलका उम्मेदवार ककस कार्यक्रममा सहभागी भएनन भने अन्य उम्मेदवारले उपभोक्ताका माझमा आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए ।
अध्यक्ष पदका उम्मेदवार
सिर्जना शर्मा पण्डित :
दुई कार्यकाल खानेपानी संस्थामा रहँदा पछिल्लो डेढ वर्ष नेतृत्व गर्ने जिम्मेवारी पाउँदा संस्थाको आर्थिक सबलीकरणमा केही काम गर्न खोकेकी छु । त्यसलाई टुंगोमा पुर्याएर टीकापुर खानेपानीको दिगो विकासका साथै आम उपभोक्ताको भावनालाई आत्मसात गर्दै अगाडि बढ्ने मेरो प्रतिबद्धता छ । विशुद्ध सामाजिक भावनाका साथ खानेपानी संस्थाको नेतृत्व गर्ने अठोट लिँदै विगतमा लुकाइएका केही अपारदर्शी कुराहरूलाई मैले नै बाहिर ल्याउने ल्याकत राखेकी हु ।
मलाई संस्थाको नेतृत्व गर्ने अवसर प्रदान उपभोक्ताले गरेको खण्डमा उपभोक्तालाई अप्ठ्यारो पर्ने गरी वा महसुस हुने गरी काम भएको खण्डमा आम उपभोक्ताको माझमा माफी माग्दै राजीनामा दिनेछु । त्यतिमात्र नभई संस्थालाई पारदर्शी बनाउन हरेक महिनाको आयव्यय सार्वजनिक गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु । दोस्रो चरणको सतही ढलको लागि आवश्यक पहल गर्नुका साथै विगत ६ वर्षको अनुभवबाटा उत्कृष्ट खानेपानी बनाउने उद्घोष गर्न चाहान्छु ।
सरिता रावल थापा : जमिनको सतहबाट उपलब्ध गरिँदै आएको खानेपानी दिगो हुन नसक्ने स्थितिमा कर्णालीको पानी उपभोक्ताको घरघरमा पुर्याउने प्रयास रहने छ । खानेपानीको बिल तिर्न कार्यालय पुग्नुपर्ने बाध्यतालाई हटाउँदै आफ्नो घरबाट बिल तिर्ने सिस्टम लागू गर्ने छु । वडा नं.४ मा छुट्टै खानेपानी ट्याङ्की निर्माणको पहल गरेर अझै उपभोक्तालाई सहज र सरल रुपमा खानेपानी वितरण मेरो प्रमुख प्रयास रहने छ ।
मैले डेढ दशकदेखि सामाजिक क्षेत्रमा आबद्ध छु । मैले आजसम्म सिर झुकाएर हिड्न जानेकी छैन । सधै सिर ठाडो गरेर हिड्ने छु । मैले कसैसँग केही मागेको छैन अहिले म सबैसँग एक भोट सापटी मागिरहेकी छु, जसको प्रतिफल मार्फत फिर्ता गर्ने छु । खानेपानी मार्फत सतही ढल निकासको दोस्रो चरणको आयोजना ल्याएर टीकापुरको डुवानलाई रोक्न मेरो प्रयास रहने छ ।
विश्राम थारु : शुद्ध खानेपानी सबै उपभोक्ताको घरघरमा पुर्याउने मेरो संकल्प हो । विगत दुई कार्यकाल संस्थाको कोषाध्यक्ष भएर काम गर्दा मैले धेरै अनुभव बटुलेको छु । त्यहाँ भित्रका धेरै कुरा मलाई थाहा छन् । त्यही अनुभवका आधारमा खानेपानी संस्थालाई उपभोक्ताको संस्था बनाउने छु । त्यतिमात्र नभई सडकमा परेका अस्तव्यस्त पाइप लाइनलाई व्यवस्थित गर्दै उपभोक्ता थप गर्दै संस्थाको आयआर्जन बढाउने काममा लाग्ने छु ।
सचीव पदका उम्मेदवार
खगेन्द्र रिमाल :
खानेपानी संस्थाको संस्थागत विकाससँगै उपभोक्तालाई बढी भन्दा बढी लाभ पुग्ने काम गर्ने प्रयास मेरो रहने छ । संस्थागत पारदर्शिता कायम भए मात्रै संघसंस्थालाई बलियो बनाउन सकिने हुँदा विगतमा भएका अपारदर्शीतालाई बाहिर ल्याएर त्यसको कानुनी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु । मसँग भएको क्षमतालाई प्रयोग गर्दै खानेपानीको दिगो विकासका लागि लागिपर्ने छु ।
प्रकाश खड्का : खानेपानी संस्था स्थापना कालदेखि हालसम्मको आर्थिक अनियमितताका सबै फाइल उपभोक्ताको माझमा ल्याएर उपभोक्ताको बीचबाट छानवीन समिती बनाउँदै कानुनी बाटो खोज्ने कुरामा प्रतिबद्ध छु । टीकापुरको परिकल्पनाकार हामी हौ भन्नेहरू जनताको माझमा फेस हुन डराएको स्थिति छ । खानेपानी धमिलो आयो भनेर विरोध गर्दा दुई घण्टा प्रहरी हिरासतमा पठाउनेहरु अझै टीकापुर बनाउँछु भनेर उपभोक्तासँग भोट माग्दै छन् ख्याल गर्नुहोला ।
मनिष बलायर : बेथितिलाई निरुत्साहित गर्दै खानेपानीलाई सम्भावनाको आधारस्तम्भको रुपमा खडा गर्न उम्मेदवारी दिएको छु । बोलेर भन्दा पनि काम गरेर देखाएपछि मात्रै उपभोक्तामा विश्वास बढ्ने बताउँदै उपभोक्तालाई न्युनतम शुल्कमा १० हजार लिटरबाट १५ हजार लिटर पानी उपलब्ध गराइने छ ।
मञ्जित रावल : संस्थालाई राजनीतिक दलको भागबण्डाबाट मुक्त गर्नका लागि मैले उम्मेदवारी दिएको छु । विगतदेखि राजनीतिक आडमा भैरहएका भ्रष्टाचार, अनियमितताका विरुद्ध कठोर निर्णय लिनैका लागि र खानेपानी संस्थालाई राजनीतिक दलहरुको गन्धबाट टाढा राख्नु मेरो पहिलो प्रयास हुने छ । जसरी संघसंस्थालाई कमाई खाने भाडो बनाइएको छ, त्यसलाई रोक्नका लागि सुरुवात खानेपानी संस्थाबाट मैले गर्नकै लागि स्वतन्त्र उम्मेदवारी दिएको छु ।
कोषाध्यक्षका उम्मेदवार :
सुमन कुमार न्यौपाने :
आर्थिक रुपमा भैरहेको बेथितिलाई रोक्दै विगतका गलत कुराहरुलाई छानबिनको दायरामा ल्याएर खानेपानीलाई सबल अनि सफल बनाउनको लागि उम्मेदवारी दिएको छु । आर्थिक पारदर्शिता कायम राख्नकै लागि मैले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको हु । जुन मेरो क्षमता र कार्य अनुभवले पनि म सफल हुन्छु ।
बलबहादुर विश्वकर्मा : मैले लामो समयदेखि लेखा प्रणालीमा बटुलेको अनुभवलाई खानेपानीमा लगाएर सक्षम संस्था बनाउन म प्रतिबद्ध भएर लाग्ने छु । त्यसमा पनि एक कार्यकाल सदस्यमा रहेर काम गरिसकेको हुँदा मलाई काम गर्न र उपभोक्ताका समस्या सम्बोधन गर्न झन सहज हुने छ । संस्थालाई आर्थिक रुपमा बलियो बनाउने अठोट मेरो छ ।
गोपाल बहादुर थापा : संस्थामा निस्वार्थ भावनाले काम गर्नेछु । आर्थिक पारदर्शिता कायम गर्दै मासिक रुपमा आयव्यय सार्वजनिक गर्ने व्यवस्था मिलाउने छु ।उपभोक्तालाई सहज र सरल रुपमा खानेपानीको पहुँचमा पुर्याउने मेरो संकल्प रहेको छ ।
जेसीजका अध्यक्ष भरत भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु रहेका थिए ।

ताजा खबर

शुक्रबारदेखी भर्ना अभियान सुरु

एक वर्ष अगाडि सकिँदै पुलको काम

फेरि उठ्यो तालतलैया बक्यौताको विषय

Leave a Reply

Your email address will not be published. Required fields are marked *