केराको रेसाबाट कपडा उत्पादन गरेर आत्मनिर्भर बन्दै महिलाहरु

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ०६ असोज /
कैलालीको टीकापुर नगरपालिका वडा नं. ५ कि जुगरानी चौधरीको दुई महिना अगाडिको समय निकै सकसपुर्ण थियो । दिनभर घरायसी काममा व्यस्त देखिने जुगरानीको कामबाट परिवार पनि सन्तुष्ट थिएन । घरमा जति काम गरे पनि त्यसबाट आम्दानी नहुने भएपछि मानसिक तनाब समेत हुने गरेको बताउनुहुँन्छ । जुगरानीलाई सहकारी संस्थाले तालिमका लागि सिफारिस गरेर सिकेको २५ दिने तालिमले उहाँको जीवन फेरिएको छ । दिगो विकास समाज गैरसरकारी संस्थाले २५ दिनसम्म दिएको तालिमले उहाँ उद्यममा जोडिन सफल हुनुभएको हो ।
२५ दिनको निशुल्क तालिम सहित ५० प्रतिशत अनुदानमा कपडा बुन्ने मेसिन सहयोग गरेपछि जुगरानी सहितका महिलाहरू उद्यममा जोडिन सफल भएका छन् । जुगरानीले अहिले केराको रेसाबाट काचो कपडा बुन्ने काम थाल्नु भएको छ । आजभोलिको दैनिकी कपडा बनाउने काममै बित्ने गरेको छ । “खेर जाने केराको बोट (थाम) बाट कपडा हुन्छ भन्ने विश्वास गर्न नसकेकी म आफै कपडा बनाउन थालेकी छु ।” उहाँ भन्नुहुन्छ, “आजभोलि परिवारले पनि विश्वास गर्न थालेको छ । आफुलाई पनि आत्मनिर्भर भएको महसुस हुन्छ ।”
टीकापुर नगरपालिका वडा नं.८ स्थित धनसिंहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीमा आठ जना सदस्यलाई तालिममा सहभागी गराएर कपडा उत्पादन गर्ने सुरु गरेपछि महिलाहरू आत्मनिर्भर बन्दै गएका छन् । तालिमबाट आत्मनिर्भर बनेका महिलाहरू काम पाएपछि निकै उत्साहित भएर काम गरिरहनुभएको छ । “सीप भएपछि पैसा कमाउन समस्या नहुँदो रहेछ । समाजले हेर्ने दृष्टिकोणमा फेरिँदो रहेछ ।” सोही ठाउँकी कमला साउँदले भन्नुभयो, “हिजो घरमा बसेर दिन बिताउन मुस्किल हुन्थ्यो भने आजभोलि समय नै पुग्दैन ।”
महिलाहरूले उत्पादन गरेको कपडा काठमाडौं निर्यात हुन्छ । प्रती मिटर तीन सयमा काठमाडौंको अल्लो बजारले कपडा खरिद गर्दै आएको छ । मागअनुसार पुर्याउन नसकिएको वडा नं. ७ की सकुन्तला चौधरी बताउनुहुँन्छ । “बजारमा माग निकै छ । एउटै कम्पनीलाई पनि हामीले पुर्याउन सकेका छैनौं ।” उहाँ भन्नुहुन्छ, “बुन्न झन्झटिलो हुँदा समय बढी लाग्ने गरेको छ ।” उहाँले आधुनिक मेसिन भएको भए धेरै उत्पादन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
उत्पादन भएको कपडा निर्यातका लागि सहकारीले सहजीकरण गर्दै आएको छ । दुई वर्ष अगाडिबाट केराको खेर गैरहेको थामबाट रेसा उत्पादन गर्दै आएको सहकारीले यसभन्दा पहिले रेसा तयार गरेर बिक्री गर्दै आएको थियो । बजारमा रेसाको माग निकै हुँदा पुर्याउन नसकिएको सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीले बताउनुभयो । “रेसाको लागि चाहिने कच्चापदार्थ अर्थात केराको थाममा हामीले अहिलेसम्म पैसा तिर्नुपरेको छैन । उत्पादन भएको रेसाले बजारको माग धान्न सकेका छैनौं ।” उहाँ भन्नुहुन्छ, “अहिले त आफ्नै लागि रेसा पुर्याउन सकिएको छैन ।”
महिलाहरूले सरकारबाट सहयोगको अपेक्षा गर्नुभएको छ । उत्पादन भएको कपडाबाट अन्य सामाग्री उत्पादनका लागि आवश्यक सीप र आधुनिक मेसिनमा सहयोगको अपेक्षा महिलाहरूले गरेका छन् । “कपडा उत्पादनसँगै त्यसबाट आवश्यक सामाग्री बनाउन सके अझै राम्रो आम्दानी गर्न सकिन्थ्यो ।” स्थानीय कमला कुमारी चौधरी भन्नुहुन्छ, “हामीलाई थप सीप र आधुनिक मेसिनमा सहयोग चाहिएको छ । केही रकम हामी आफै पनि लगानी गर्न सक्छौं ।”
उहाँले केराको कपडाबाट टोपी, झोला, चप्पल, जुत्ता, गुन्द्री लगायतका सामाग्री उत्पादन गर्न सकिने बताउनुभयो । स्थानीय महिलालाई सिलाई कटाई लगायतका तालिममा लाखौं खर्च स्थानीय सरकारले बर्सेनि गर्दै आए पनि आफ्नो क्षेत्रमा खेर गैरहेको कच्चापदार्थको उपयोग गर्दै आत्मनिर्भर बनाउने काममा लगानी आवश्यक रहेको चौधरी बताउनुहुंन्छ । “टीकापुर केराको नामबाट परिचीत छ । त्यहीँ केराबाट हरेक नागरिक आत्मनिर्भर बन्न सक्ने आधार छन् ।” कमला भन्नुहुन्छ, “लगानी आवश्यक छ । स्थानीय सरकारले अन्य महिलालाई पनि यस्तै तालिम दिन सक्यो भने रोजगारी आफै सिर्जना गर्न सकिन्छ ।”
टीकापुरमा हाल एक हजार हेक्टर बन्दा बढी क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । केरा उत्पादन भएपछि खेर गइरहेको केराको बोट (थाम) बाट रेसा उत्पादन गरेर कपडा उत्पादन भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *