टीकापुर जेसीजको २९ औं पदस्थापन कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर २७ पुस/
टीकापुर जेसीजको २९ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
टीकापुर जेसीज वर्ष २०२५ का अध्यक्ष भरत भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले मुलुकको नेतृत्व युवाको हातमा हुनुपर्ने बताएका छन् । उनले जेसीजले सफल र असल नेतृत्व जन्माउने विश्वास गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत धितालले जेसीजले टीकापुरका लागि पनि असल अनि सक्षम नेतृत्व उत्पादन गर्नेमा विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा टीकापुर जेसीजका संस्थापक अध्यक्ष प्राध्यापक डा. जगतबहादुर सिंह रावलले युवाहरूमा सकारात्मक तथा नकारात्मक धारणाको विकास पनि भैरहेको बताउँदै जेसीजका युवाहरू सधैं सकारात्मक धारणामा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । वर्तमान अवस्थामा नकारात्मक कुराहरूलाई निरुत्साहित गर्दै सकारात्मक बाटोमा हिड्नुको विकल्प नरहेको बताए । “जेसीजमा लागेको युवा कहिल्यै निराश हुँदैनन् । त्यो बाटोमा अन्य युवाहरूलाई पनि डोर्‍याउनुको विकल्प छैन ।” उनले भने, “त्यो हुन सक्यो भने देश प्रती नकारात्मक भावना राख्ने युवाहरूको संख्या घट्दै जाने विश्वास गरेको छु ।”
नेपाल जेसीज वर्ष २०२६ का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष नवराज उपाध्यायले वर्ष २०२६ लाई जेसीजमा ऐतिहासिक बनाउनका लागि नेपाल जेसीजको टिम लागिपरेको बताएका छन् । उनले जेसीजभित्र रहेर देश अनि जेसीजमा यसभन्दा पहिलेका नेतृत्वले अपेक्षा गरेका कार्यक्रम यसवर्ष गरिने र आगामी दिनमा निरन्तरता दिँदै जाने बताए । देशमा एक प्रकारको निराशा छाएको बेला युवा व्यवसायीहरु हतोत्साहित हुने स्थिति सिर्जना हुँदै गएको उनको भनाई छ । उपाध्यायले देशमै सकारात्मक सन्देश प्रवाह गर्दै देशमै सम्भावनाको उजागर गरेर वैदेशिक रोजगारीमा जाने युवाहरूको स्वदेशमा रोक्ने प्रयत्न गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल जेसीज वर्ष २०२६ का टीकापुर जेसीजका लागी निरुपित राष्ट्रिय उपाध्यक्ष सन्दिप भुसालले क्षेत्र घ सँग सम्बन्धित हरेक गतिविधि नेपाल जेसीजसम्म पुर्याउने उद्घोष गर्दै एक वर्ष निरन्तर टीकापुर जेसीससँग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पुरस्कार वितरण कार्यक्रममा कर्णाली चिसापानीमा वर्षौंदेखि गेज रिडरको रुपमा काम गर्दै आउनु भएकी पार्वती गुरुङलाई सम्मान गरिएको छ । त्यसैगरी टीकापुर जेसीजका मानार्थ सदस्य पृथ्वीराज ढुंगाना र टीकापुर जेसीज वर्ष २०२४ का अध्यक्ष तथा वर्ष २०२६ का राष्ट्रिय उपाध्यक्ष रुपक बहादुर विष्टलाई सम्मान गरिएको थियो ।
जेसीजको पदस्थापन कार्यक्रममा वर्ष २०२६ का लागि निर्वाचित अध्यक्ष कमलराज सुवेदी लगायत कार्यकारिणी उपाध्यक्ष झलनाथ खनाल, तारासिंह बम, उपाध्यक्ष नवीन अधिकारी, अभिषेक शाह, शिवराम चौलागाईं, महेश रिमाल, महासचिव टेकेन्द्र सिंह विष्ट, कोषाध्यक्ष लिखराम चौधरी लगायतका पदाधिकारीको पदस्थापन भएको छ ।
जेसीजको २९ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमको प्रथम चरणको स्वागत टीकापुर जेसीज वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष टेकेन्द्र बहादुर विष्टले गरेका थिए भने सञ्चालन जनसम्पर्क अधिकारी झलनाथ खनालले गरेका थिए । दोस्रो चरणको कार्यक्रमको अध्यक्षता टीकापुर जेसीज वर्ष २०२६ का अध्यक्ष कमलराज सुवेदीले ग्रहण गरेका थिए भने सञ्चालन नवनिर्वाचित महासचिव विष्टले गरेका थिए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *