शेयेर गर्नुहोस
टीकापुर, २२ माघ /
कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका राजेन्द्र बहादुर शाहीले राजनीतिक आस्थाकै आधारमा जनताले नेतालाई मतदान नगर्ने बताएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका शाहीले राजनीतिक आस्थाकै आधारमा विगतको जस्तो जनताले नेता चुन्ने प्रवृत्ति अब नदोहोरिने बताएका हुन । “जनताले राजनीतिक दल अनि नेता खोजेका छैनन् । उनीहरूले खोजेको आर्थिक पाटो हो ।” उनले भने, “रोजगारी सिर्जना गर्न सक्ने योजना सहित आर्थिक समुन्नतिको बाटोमा देशलाई लैजान सक्ने नेतृत्व जनताले खोजेका छन् ।”
अनार चुनाव चिन्ह लिएर जनताको माझमा भोट माग्दै शाहीले विश्वमा प्रविधिले फड्को मारिसकेको बेला त्यहीँ सडक, त्यहीँ भवन, अनि त्यहीँ पूरा गर्न नसकिने आश्वासन बाडेर समुन्नत समाज निर्माण गर्न नसकिने जिकिर गरे । “मानिस जसरी पनि पैसा कमाउन चाहन्छ । प्रविधिसँग जोडिएर भए पनि वा अन्य व्यवसाय गरेर भए पनि आर्थिक रुपमा हरेक मानिस सम्पन्न हुन खोज्छ ।” शाही भन्छन्, “त्यसका लागि व्यावसायिक सम्भावनालाई उजागर गर्न सक्नुपर्यो । हामीसँग भएका स्रोतसाधनको भरपुर प्रयोग गर्न सक्नुपर्यो ।”
टीकापुर क्षेत्र प्रचुर सम्भावना बोकेको क्षेत्र भए पनि आसपासका ठुला शहरले टीकापुरको समृद्धिलाई सधै च्याप्ने काम गरेको शाहीको बुझाई छ । “हामीसँग सबै छ । स्वास्थ्य, शिक्षा, कृषिका लागि उर्वर भुमि, कर्णाली नदीको सम्भावनासँगै धार्मिक पर्यटनले टीकापुर सर्किट देशकै महंगो शहरको सुचीमा पर्न सक्ने सम्भावना छ ।” उनले भने, “त्यसलाई धनगढी र नेपालगन्ज सहित सुर्खेतले च्यापेको छ । त्यसबाट उकास्नको लागि यस क्षेत्रले सफल नेतृत्व जन्माउन सक्नुपर्छ ।” स्वतन्त्र उम्मेदवार शाहीले त्यो सम्भावनालाई राजनीतिक संयन्त्र मार्फत माथिल्लो तहबाट गरिने पहलले सम्भव नहुने भन्दै तल्लो तहबाटै काम गर्न सक्ने नेतृत्व चाहिएको बताएका छन् ।
कैलाली क्षेत्र नं. १ को राजनीतिमा सेवा एउटाले गर्ने फल अर्कोले प्राप्त गर्ने कामहरू हुँदै आएको भने, “यहाँ खोला एउटाले सुकाउने तर माछा अर्कोले मार्ने काम हुँदै आएको छ । यो अवस्थामा जुन अपेक्षा जनताले गरेका छन्, त्यो सम्भव हुँदैन ।” जनताले दिएको जनमतको कदर गर्न नसक्नेलाई पुनः जनताले विश्वास नगर्ने भन्दै यसपटक कैलाली क्षेत्र नं. १ का मतदाताले आफुलाई विश्वास गर्ने दाबी गरेका छन् ।
युवा व्यवसायीको रुपमा स्थापित शाहीले आफुलाई बलियो उम्मेदवारको रुपमा देखेका छन् । “हामी गफ गरेर राजनीति गर्ने मान्छे परेनौं । कर्ममा विश्वास गर्ने हामीलाई कर्ममा विश्वास गर्ने मतदाताले पनि विश्वास गर्नुहुनेछ ।” शाही भन्छन्, “यसपटक जनताले मलाई विश्वास गर्यो र नीति निर्माण गर्ने तहमा पठायो भने मैले जनताको भावनाअनुरूप यसक्षेत्रको माटो सुहाउँदो नीति निर्माणमा सहजीकरण गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”










