शेयेर गर्नुहोस
टीकापुर ११ फागुन /
टीकापुर नगरपालिकामा नगर प्रमुख रामलाल डगौरा थारुले माघ ५ गते नगर प्रमुख पदबाट राजिनामा दिए ।
नगरपालिकामा नगर प्रमुखले राजिनामा दिएपछि कार्यवाहक नगर प्रमुखको जिम्मेवारी नगर उपप्रमुखले पाउने भए पनि उपप्रमुख खडक बहादुर शाह यसअघि नै निलम्बनमा परेका कारण कार्यवाहक नगर प्रमुख पदको जिम्म कार्यपालिका सदस्यले पाउने भएपछि उक्त जिम्मेवारीका लागि धेरै आकांक्षी हुँदा एक महिनाभन्दा लामो समय नगरपालिका नेतृत्व बिहिन बन्यो ।
कार्यवाहक नगर प्रमुखका लागि कार्यपालिका सदस्यको सहमति वा बहुमत चाहिएको थियो । कार्यवाहक नगर प्रमुख नहुँदा नगरपालिकाका केही सेवा प्रभावित भए पनि त्यसको प्रवाह कार्यपालिका सदस्यले गर्न सकेनन् । बरु पदका लागि भएको हानथापले नतिजा अर्कै भएको छ । तत्कालीन नागरिक उन्मुक्ति पार्टी र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका ११ जना कार्यपालिका सदस्यको बहुमत कार्यपालिकामा हुँदाहुँदै आपसी झगडाले फाइदा काँग्रेसलाई पुगेको छ ।
नगरपालिकालाई अनिर्णयको बन्दी बनाएर आफ्नो स्वार्थका लागि कार्यपालिका सदस्यले बार्गेनिङ गरेको भन्दै नेकपाकै तीनजना कार्यपालिका सदस्यले काँग्रेसका रामबहादुर नगार्जीलाई कार्यवाहक नगर प्रमुखमा सहमति गरेपछि कार्यवाहक नगर प्रमुखका लागि दाबी गर्दै आएका वडा नं. ४ का वडा अध्यक्ष लालबीर चौधरी र वडा नं. ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेको दाबी काम लागेन । “हामीले कसैलाई पदका लागि पर्खनु पर्ने थिएन । हाम्रो प्राथमिकता सेवाग्राहीको सेवा थियो ।” नेकपाका कार्यवाहक नगर प्रमुखका लागि हस्ताक्षर गर्ने एकजना कार्यपालिका सदस्यले भने, “जनताको काम भन्दा पदका लागि हुने मरिहत्तेले पार्टी र नेतृत्व विपरीत भनिएको निर्णय गर्न पर्यो ।
उता नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्लाले पार्टी र निर्देशन विपरीत काम गर्दै कार्यपालिका सदस्य गलत निर्णयमा पुगेको बताए । उनले व्यक्तिगत स्वार्थका लागि केही कार्यपालिका सदस्यले कार्यवाहक नगर प्रमुख चयनका लागि हतार गरेको बताएका छन् । आफुहरुले उक्त कार्यपालिका बैठक बहिष्कार गर्दै त्यो कार्यपालिकाले गरेको निर्णय नमान्ने बताए । कार्यपालिकामा नेकपामा ११ जना, नेपाली काँग्रेसका पाँच जना र नेकपा एमालेबाट एकजना प्रतिनिधित्व गर्दै आएका छन् ।










