लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

शेयेर गर्नुहोस


टीकापुर १० मंसिर /
हिंसारहित समाज निर्माण तथा लैङ्गिक समानता कायम गर्ने उद्देश्यसहित जानकी गाउँपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ।
‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने मुल नाराका साथ अभियान सुरु भएको हो । विश्वव्यापी रूपमा प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ । महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसदेखि अन्तर्राष्ट्रिय मानवअधिकार दिवससम्म मनाइने यस अभियानको उद्देश्य हिंसाविरुद्ध जनचेतना अभिवृद्धि र सामाजिक ऐक्यबद्धता कायम गर्नु रहेको छ ।
जानकी गाउँपालिका उपाध्यक्ष लालमति देवी कठरियाको अध्यक्षता तथा अध्यक्ष गणेश चौधरीको प्रमुख आतिथ्यतामा अभियानको सुरु गरिएको छ । कार्यक्रममा अध्यक्ष चौधरीले हिंसारहित समाज निर्माण आजको आवश्यकता भएको बताएका छन् । पछिल्लो समय हिंसाको प्रवृत्ति र प्रकृतिमा परिवर्तन हुँदै गएको उल्लेख गर्दै उनले हिंसा अन्त्यका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका छन् । गाउँपालिकाले पनि यस दिशामा विभिन्न कार्यक्रम तथा गतिविधि सञ्चालन गर्दै आएको उनको भनाइ छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्योत्स्ना भट्ट जोशी, जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका तथा विद्यार्थीहरूको सहभागिता थियो ।
अभियानको शुभारम्भसँगै दुर्गौली बजारमा प्रभातफेरीसमेत आयोजना गरिएको थियो । महिला तथा बालबालिका शाखा प्रमुख यमुना विष्टले सञ्चालन गरेको कार्यक्रममा योजना तथा अनुगमन शाखा प्रमुख हिरालाल चौधरीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागीहरूले लैङ्गिक हिंसा अन्त्यका लागि परिवार, समुदाय, स्थानीय सरकार तथा सरोकारवाला निकायबीच सहकार्य र ऐक्यबद्धता आवश्यक रहेकोमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *