शेयेर गर्नुहोस
टीकापुर ०७ मंसिर /
टीकापुर नगरपालिका वडा नं. २ का वडा सदस्य खम्मबहादुर ठकुल्लाको शोकमा टीकापुर नगरपालिकाले आज सोमवार शोक विदा दिएको छ ।
नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले एक विज्ञप्ति जारी गर्दै वडा सदस्य ठकुल्लाको निधनमा शोक विदा दिएकाले नगरपालिका भित्रका सबै कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य कार्यालय सबै बन्द रहने बताएका छन् ।
किड्नी सम्बन्धी समस्याबाट ग्रसित रहेका ठकुल्लाको डाइलासिसका क्रममा वीर अस्पताल काठमाडौंमा निधन भएको हो । उनी लामो समयदेखि काठमाडौंमा उपचाररत थिए । अछामको बान्नीगढी जयजढ गाउँपालिका वडा नं. ३ बेलपाटामा वि.सं. २०२२ पौष १५ गते जन्मिएका ठकुल्लाको ६२ वर्षको उमेरमा निधन भएको हो ।
२०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित ठकुल्लाको मंसिर ७ गते आज कर्णाली नदीको सनकट्टी घाटमा अन्तिम संस्कार गरिने परिवार स्रोतले जनाएको छ ।
वडा नं.२ का वडा अध्यक्ष दिपक चौधरीले ठकुल्लाको असामयिक निधनको दुःखद खबरले हामी अत्यन्त मर्माहत र स्तब्ध बनाएको बताएका छन् । उनले स्वर्गीय ठकुल्ला पार्टीप्रति अटल निष्ठा राख्ने, लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शप्रति सदैव प्रतिबद्ध एक कर्मठ तथा समर्पित व्यक्तित्व भएको उल्लेख गर्दै नेपाली काँग्रेसको संगठन सुदृढीकरण र सामाजिक गतिविधिमा उनले पुर्याउनुभएको योगदान, सक्रियता र समर्पण सधैँ प्रेरणादायी र स्मरणीय रहने बताएका छन् ।










