शेयेर गर्नुहोस
टीकापुर २० भदौ /
टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले भोटेकोशी नदीको बाढीमा बेपत्ता आफ्ना नागरिकको यथाशीघ्र खोज तथा उद्धारका लागि संघीय सरकारसँग आग्रह गरेका छन् ।
सिर्जनशील युवा समाज नेपालको आयोजनामा शुक्रवार भएको गुडिमुन्टे गाइजात्रा तथा श्रीकृष्ण जन्माष्टमि विशेष कार्यक्रममा बोल्दै कार्यवाहक नगर प्रमुख नगार्जीले यस्तो आग्रह गरेका हुन । “यो महाविपत्तिको बेला समग्र देश भावविह्वल भएको छ । टीकापुर नगरपालिकाबाट अझैसम्म ३५ जना सम्पर्क बिहिन हुँदा टीकापुरले थप पीडा भोगिरहेको छ ।” उनले भने, “म संघीय सरकारसँग आग्रह गर्न चाहान्छु, हाम्रो नगरपालिकाका नागरिकहरूको यथाशीघ्र खोज तथा उद्धार भएर वास्तविकता छिटो बागिर आओस् ।”
कार्यवाहक नगर प्रमुख नगार्जीले प्राकृतिक विपत्ति कसैले चाहेर रोक्न नसकिने बताउँदै यस्ता विपत्तिको सामना गर्ने सामर्थ्य राख्नुको अर्को विकल्प नभएको बताएका छन् । “प्रकृतिका अगाडि हामी निरीह छौँ । हामीले चाहेर पनि प्राकृतिक नियतिलाई रोक्न सक्दैनौं ।” कार्यवाहक नगर प्रमुख नगार्जीले भने, “यस्ता घटनाबाट बच्नको लागि पुर्व सूचनाको अवलम्बन र सावधानी भन्दा अरु केही छैन ।” बढ्दो जलवायु परिवर्तनले संसारभर विपत्तिका घटना बढ्दै गएको बताउँदै उनले त्यसको जोखिम कम गर्न मानव शक्तिले वातावरणीय अनुकूलतालाई विशेष ध्यान दिनुपर्ने बताएका छन् । उनले पीडित परिवारहरुलाई शान्त्वना दिँदै सरकारले गर्ने समन्वय र सहकार्य गरिरहेको पनि बताए । नगार्जीले टीकापुरबाट बेपत्ता नागरिकको अवस्था बुझ्न यसक्षेत्रबाट नागरिकहरु पठाएको पनि जानकारी दिए ।
गाइजात्रा आफ्ना सन्तानको सम्झनामा मनाउँदै आएको भए पनि पछिल्लो समयमा समाजका वास्तविक घटनाक्रमलाई हास्यव्याङ्य प्रस्तुतिबाट सकारात्मक सन्देश प्रवाह गर्ने संस्कारको विकास हुँदै गएको बताएका छन् । साथै श्रीकृष्ण जन्माष्टमिको शुभकामना व्यक्त गर्दै कार्यवाहक नगर प्रमुख नगार्जीले सम्पुर्ण नागरिकहरूलाई सम्मेमित भएर चाडपर्व मनाउन पनि आग्रह गरेका छन् ।
कार्यक्रममा समाजसेवी गोपाल सम्राटले गुडिमुन्टे समूह टीकापुर क्षेत्रमा सामाजिक तथा सांस्कृतिक रुपबाट समाजलाई जागरुक बनाउँदै आएको बताउँदै सकारात्मक कुराको अनुसरण गर्न आग्रह गरेका छन् । “समाजलाई सहि बाटोमा लैजानको लागि दिईने सकारात्मक सन्देशको अनुसरण सबैले गर्नुपर्छ ।” उनले भने, “त्यसरी समाजका लागि काम गर्नेहरुलाई समाजले पनि हौसला प्रदान गर्नुपर्छ ।” गाइजात्राले समाजमा रहेका हरेक विकृति, विसंगतिहरु माथी तीखो प्रहार गर्दै त्यसबाट समाजमा परेको प्रभावलाई प्रस्तुत गर्ने गरिएको सम्राटले बताएका छन् ।
गुडिमुन्टे गाइजात्रा तथा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रमका संयोजक तथा सिर्जनशील युवा समाज नेपालका सचीव राजेन्द्र विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत युवा समाज नेपालका अध्यक्ष झलनाथ खनालले गरेका थिए भने सञ्चालन भरत भण्डारीले गरेका थिए । श्रीकृष्ण जन्माष्टमिको अवसरमा भएको मट्का फोड कार्यक्रममा शुक्रबार नियमानुसार कसैले फुटाउन नसकेपछि पुनः उक्त कार्यक्रम आजका लागि स्थगित गरिएको छ् । ३५ जना प्रतिस्पर्धीमध्ये पवन धामीले मट्का फुटाएकि थिइन । तर नियमअनुसार नभएपछि त्यसलाई मान्यता दिइएको थिएन ।
विजेतालाई तीन हजार नगद पुरस्कार सहित प्रमाणपत्र उपलब्ध गराउने भनिएको उक्त कार्यक्रममा सहभागी हुँदा लाग्ने प्रवेश शुल्क वापतको एक सय रुपैयाँ गर्दै जम्मा भएको रकम भोटेकोशी बाढी प्रभावित मध्ये टीकापुरको कुनै एक सबैभन्दा बढी विपन्न परिवारलाई आवश्यक सामाग्री खरिद गरेर हस्तान्तरण गर्ने निर्णय भएको अध्यक्ष खनालले जानकारी दिएका छन् ।










