शेयेर गर्नुहोस
टीकापुर १७ असोज /
स्थानीय जवाफदेहिता अभियान्ता विकासका लागि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।
स्थानीय सरकार सबलीकरण अन्तर्गत टीकापुर नगरपालिकाको समन्वय, द एशिया फाउन्डेसनको आर्थिक सहयोग तथा सहकर्मी समाजको आयोजनामा असोज १३ गतेदेखी सञ्चालनमा रहेको चार दिने स्थानीय जवाफदेहिता अभियान्ता विकासका लागि प्रशिक्षक प्रशिक्षण तालिम शुक्रबार सम्पन्न भएको हो । तालिमको समापन कार्यक्रममा बोल्दै टीकापुर नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाले नागरिकहरूको जीवनस्तर माथी उकास्नका लागि सबै निकाय जिम्मेवार हुनुपर्ने बताएकी छन् ।
उनले टोल विकास संस्था मार्फत थुप्रै कामहरू गर्न सकिने उल्लेख गर्दै नगरपालिका त्यसका लागि सधै समन्वय र सहकार्य गर्न तयार रहेको बताएकी छन् । प्रमुख प्रशासकीय अधिकृत बास्तोलाले तालिममा सहभागी भएर प्रमाणपत्र पाउनु ठूलो कुरा नहुने भन्दै सिकेको ज्ञान् अरुलाई पनि प्रवाह गर्न सक्नु महत्त्वपूर्ण हुने बताइन् । “सीप सिक्नु भन्दा महत्त्वपूर्ण सिकेको सीप अरुलाई सिकाउनु हो ।” उनले भनिन, “जवाफदेहिताको विषयमा हरेक टोल विकास संस्था जिम्मेवार र कर्तव्यनिष्ठ भयो भने मात्रै तालिमको उद्देश्य पूरा हुनेछ ।”
कार्यक्रममा नगरपालिकाकी लेखा शाखा प्रमुख लक्ष्मी ओडले तालीमबाट प्राप्ति भएका विषयलाई टोलमा सहजीकरण गर्न आग्रह गरेकी छन् । उनले हरेक कुरा सरकारले नै गरिदिन्छ भन्ने भाष्य परिवर्तन गर्दै नागरिकहरूले अनि आफ्नो कर्तव्यलाई गम्भीरताका साथ लिनुपर्ने बताएकी छन् ।
नगरपालिकाको गैरसरकारी संघसंस्था समन्वय शाखा प्रमुख अमृता रावलले टोल विकास संस्था स्थानीय सरकारको साझेदार संस्थाको रुपमा रहेको बताएकी छन् । टीकापुर नगरपालिकाले गरेको टोल विकास संस्थाको अभ्यास अन्य स्थानीय तहले पनि कार्यान्वयनमा ल्याउन थालिएको बताउँदै रावलले हरेक स्थानीय तहले टोल विकास संस्थाको परिकल्पना गर्ने विश्वास व्यक्त गरिन ।
नगरपालिकाका ९ वटै वडाबाट २४ जनाको सहभागिता रहेको उक्त तालिम प्रभावकारी रहेको सहभागीहरूले बताएका छन् । सहकर्मी समाजका कार्यक्रम संयोजक नवराज जैशीले तालिमको प्रभावकारितासँगै त्यसबाट समाजमा परेको प्रभावलाई लिएर आगामी दिनमा समिक्षा गरिने बताएका छन् ।










