शेयेर गर्नुहोस
टीकापुर १३ भदौ /
टीकापुर बजार मुनुवा रोड हुँदै खाद्य गोदामसम्मको सडक नाजुक बन्दा पनि त्यसको मर्मतसम्भारमा कसैको ध्यान पुगेको छैन ।
झण्डै एक किलोमिटर उक्त सडक आजभोलि बजार भित्रको कुरुप क्षेत्र भएको छ । अस्तव्यस्त सडक, ठुलाठुला खाल्डाखुल्डीले आवागमन निकै जोखिमपूर्ण छ । दैनिक हजारौं मानिसहरूको आवतजावत हुने सडक तत्काल मर्मतसम्भार गरेर आवागमन सहज बनाउन सकिने भए पनि त्यसतर्फ नगरपालिकाले ध्यान नदिएको स्थानीयको गुनासो छ ।
त्यहीँ सडक हुँदै हजारौं बालबालिका बिधालय आवतजावत गर्छन् । सधै व्यस्त हुने सडक हिड्न लायक नभएपछि नगरपालिका प्रती स्थानीय नागरिकहरूको आक्रोश बढ्दो छ । “कहिले गुलाव त कहिले विमानस्थल सञ्चालनमा ल्याए भनेर गफ लगाउने नगर प्रमुखले मुनुवा खाद्य गोदामसम्मको सडक मर्मतसम्भार गरे भनेर गफ लगाएको भए हुनेथियो ।” स्थानीय विकास पाण्डेले भने, “दिउँसो हिडडुल गर्न सास्ती भैरहेको सडकमा राती कस्तो जोखिम होला ? ठुला खाल्डाखुल्डीमा दुर्घटना भएर कुनै अप्रिय घटना घटे नगरपालिकाले जिम्मा लिने होर ?”
उसो त टीकापुर कै सबैभन्दा बढी बिद्यार्थी भएको आरएमई स्कुल, गणेश बाबा इङलिस बोर्डिङ स्कुल, राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईको कार्यालय, खाद्य गोदामको कार्यालय, मानव मलमुत्र प्रशोधन केन्द्र सहित नगरपालिकाको कृषि शाखासम्म पुग्नेहरुले त्यहीँ कुरुप सडक प्रयोग गर्नुपर्छ । टीकापुरबाटै स्थापित भएको नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय कार्यालय पनि त्यतै पर्छ । सडकको हालत देख्दा किन त्यो बाटो हिंड्नुपर्छ होला जस्तो अधिकांशलाई लाग्ने गरेको छ ।
रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख भरत प्रसाद कडेलले सडकमा परेका खाल्डाखुल्डीको दुर्घटनाको ठूलो जोखिम बढाएको बताए । खाल्डामा गाडी नै पल्टिनसक्ने स्थिति रहेको उनको भनाइ छ । “आवागमनमा निकै जोखिम छ । दुर्घटनाको जोखिम उस्तै छ ।” उनले भने, “आवतजावतका हिसाबले महत्त्वपूर्ण मानिएको सडक समयमा मर्मतसम्भार हुनुपर्ने हो ।” उनले गाउँघर तिरका ससाना सडक कालोपत्रे भैसक्दा मुख्य सडक के कारणले कालोपत्रे हुन नसकेको हो भनेर प्रश्न समेत गरे ।
पछिल्लो समय पहुँचका आधारमा विकासका संरचना निर्माण हुने र आवश्यकताको आधारमा विकास हुन छोडेको स्थानीय कालिप्रसाद देवकोटाले बताए । “यहाँ पहुँच भएपछि नक्सा पास नभएका सडक कालोपत्रे भएका छन् । केही महिना जहाज उडाएर लाखौं खर्च गरेका छन् ।” उनले भने, “यो सडक मात्रै होइन, पशु हाट बजारको सडकको हालत उस्तै छ । अन्य कैयौं सडक होलान् यस्ता, जहाँ दुईतीन टिपर ग्राभेल हाले हुन्छ तर हाल्ने कसले हो खै ?”
टीकापुर नगरपालिकाले चालू आर्थिक वर्षमा मुनुवा रोड खाद्य गोदामसम्मको सडक कालोपत्रेका लागि ३५ लाख बजेट विनियोजन गरेको छ । जुन बजेटले आधा सडक पनि कालोपत्रे हुने स्थिति छैन । संघीय सांसदले छनोट गरेका योजना पहुँचका भरमा प्रदेशले छनोट गरेका योजनामा महत्त्वपूर्ण सडक परेको छैन । तत्कालका लागि केही टिपर ग्राभेल गालेर सडकमा परेका खाल्डाखुल्डी पुरेर आवागमनलाई सहज बनाउन टीकापुर नगरपालिकासँग स्थानीयले माग गरेका छन् ।