थापालाई बेस्ट सिईओ लिडरशिप अवार्ड

शेयेर गर्नुहोस


टीकापुर २९ भदौ /
टीकापुरका हिक्मत थापा अफ्रिकाको प्रतिष्ठित ‘बेस्ट सीईओ लिडरशिप अवार्ड–२०२६’ बाट सम्मानित भएका छन् ।
अफ्रिकाको लागोसमा आयोजित अफ्रिका ब्रान्ड अवार्डको २०२६ संस्करणमा थापालाई उक्त सम्मान प्रदान गरिएको हो ।
थापा डाङ्गोटे ग्रुपअन्तर्गतको डाङ्गोटे सिनोट्रक वेस्ट अफ्रिका लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।
औद्योगिक तथा व्यावसायिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थापालाई उनको नेतृत्व क्षमता र योगदानको कदरस्वरूप उक्त अवार्ड प्रदान गरिएको बताइएको छ
अफ्रिका ब्रान्ड अवार्ड विगत १४ वर्षदेखि प्रत्येक वर्ष लागोसमा आयोजना हुँदै आएको छ । अवार्डमार्फत अफ्रिकाका उत्कृष्ट ब्रान्ड, उद्योग, व्यापारिक संस्था तथा नेतृत्वलाई विभिन्न विधामा सम्मान गरिँदै आएको छ । यस वर्ष २५ भन्दा बढी विधामा व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।
थापा विगत २० वर्षदेखि डाङ्गोटे ग्रुपमा आबद्ध छन् । यस अवधिमा उनले चाउचाउ, चिनी, वनस्पति तेल, टमाटर पेस्ट, राइस मिल, सिजनिङ तथा हेभी भेहिकल्सलगायत विभिन्न उद्योग तथा परियोजनाको नेतृत्व गरिसकेका छन् ।
नेपाल, भारत र अफ्रिकामा औद्योगिक परियोजना स्थापना तथा सञ्चालनका क्षेत्रमा थापासँग ३५ वर्षभन्दा बढीको अनुभव रहेको बताइएको छ।
अफ्रिकाको औद्योगिक क्षेत्रमा नेपाली नेतृत्वको पहिचान स्थापित गर्नसमेत थापाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *