शेयेर गर्नुहोस
टीकापुर १९ भदौ /
भोटेकोशी बाढीमा बेपत्ता भएका टीकापुरका व्यक्तिको परिवारहरुले बिहिवार ईलाका प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।
बाढी आएको १० दिन भैसक्दा पनि सम्पर्क बिहिन भएका व्यक्तिको अझैसम्म खोज उद्धार हुन नसकेको भन्दै बेपत्ता परिवारका आफन्तले “कि सास चाहियो, कि लास चाहियो” भन्दै ईलाका प्रशासन कार्यालयमा धर्ना दिएका हुन । पीडित परिवारले टीकापुर खडग चोक हुँदै ईलाका प्रशासन कार्यालयसम्म नाराबाजी सहित शान्तिपूर्ण र्याली निकालेका थिए ।
“यत्रो समयसम्म सरकारले हराएका हाम्रा आफन्तको सोधखोज गर्न सकेको छैन । न लासको ठेगान छ, न सासको ठेगान छ । यो अन्योलताले परिवारको चीत्कार निरन्तर छ ।” उनले भनिन्, “जे छ, यथार्थ कुरा परिवारलाई थाहा भएको भए चित्त बुझाउन त हुन्थ्यो ।” त्यसैगरी टीकापुर शक्तिनगरकी यशोदा चौधरीले आफुहरुको आवाज कसैले नसुनेको गुनासो गरेकी छन् । “मेरो श्रीमान सम्पर्क बिहिन हुनुभएको छ । खोज तथा उद्धारका लागि वडा, नगरपालिका, ईलाका प्रशासनमा धर्ना दिँदै यत्रो दिन गैसकेको छ ।” उनले भनिन्, “जता गए पनि सबै हुन्छ भन्ने प्रतिक्रिया आउँछ, हुने चाहिँ कहिले हो, हुने चाहिँ के हो ?”
उनले यस्तो अप्ठ्यारो परिस्थितिमा पनि कतैबाट सहयोग नपाएको गुनासो गरेकी छन् । स्थानीय सरकारले संघ सरकारसँग अहिलेसम्म समन्वय नगरेको उनको आरोप छ । घटना भएको तेस्रो दिनदेखि टीकापुर नगरपालिका सहितको सम्बन्धित निकायमा धाउँदै आएका पीडित परिवार स्थानीय सरकारको कार्यशैलीबाट झन आक्रोशित भएका छन् । उनीहरू राज्यले आफन्त खोज्न नसक्ने स्थिति भए आफुहरुलाई त्यहाँसम्म पुग्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा टीकापुर नगरपालिकाको ३४ जना अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन् । उनीहरूको वास्तविकता अन्योल हुँदा परिवार तथा आफन्तहरुमा जीवित फर्किने आशामा कठिन समय गुजारी रहेका छन् ।










