प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट जनकराज शाहले गरे प्रतिबद्धता पत्र सार्वजनिक

शेयेर गर्नुहोस


टीकापुर ०३ फागुन /
प्रगतिशील लोकतान्त्रिक पार्टी कैलाली क्षेत्र नं. १ बाट उम्मेदवार बनेका डा. जनक राज शाहले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । उनले टीकापुर सर्किटमा आफ्नो २० वर्षे अनुभवलाई आत्मसात गर्दै समग्र क्षेत्रको विकासका लागि आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन । आँखा चुनाव चिन्हबाट चुनाव लडेका डा. शाहले ११ बुदामा चुनावी प्रतिबद्धता पत्र ल्याएका छन् ।
उनले बाढी र डुवानको स्थायी समाधानलाई पहिलो प्राथमिकतामा राखेका छन् । डा. शाहले भुमिहिन र सुकुम्बासी समस्याको व्यवस्थापन गर्दै विगतका भुमी आयोगका अधुरा कामलाई पूरा गर्ने प्रतिबद्धता सहित भुमिहिनका लागि “एक परिवार, एक सुरक्षित आवास” कार्यक्रम सञ्चालन गरिने बताएका छन् । कृषि क्रान्ति र सिँचाइ व्यवस्थापनमा विषेश जोड दिँदै डिजिटल कृषि सेवा मार्फत किसानलाई प्राविधिक सल्लाह र परामर्श दिइने जानकारी शाहले दिएका छन् ।
गुणस्तरीय र सुलभ स्वास्थ्य सेवाको विषयमा टीकापुर अस्पताललाई दुई सय शैय्याको सुविधासम्पन्न विशेषज्ञ अस्पतालको रुपमा स्तरोन्नति गरिने प्रतिबद्धता पत्र मार्फत जानकारी दिएका छन् । टीकापुरलाई सुदुरपश्चिमको शैक्षिक हब बनाउनका लागि प्राविधिक विश्वविद्यालय र बहुप्रादेशिक शिक्षालय स्थापनामा जोड दिँदै आधुनिक र व्यावसायिक शिक्षालाई आत्मसात गरिने बताएका छन् । शाहले रोजगारी र युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
सडक पुर्वाधार र व्यवस्थित यातायातमा कच्ची सडकहरूलाई धुलोमुक्त र हिलोमुक्त बनाइने गरी गुरुयोजना निर्माण गरिने बताउँदै शाहले कर्णाली नदीमा टीकापुर-दौलतपुर बर्दिया जोड्ने पुल निर्माण, सेती लोकमार्गको निर्माण कार्य लामो समयदेखि सम्पन्न हुन नसकेको हुँदा शिघ्र ट्र्याक खोली स्तरोन्नति गर्ने बताएका छन् । त्यसैगरी, भ्रष्टाचारमुक्त प्रशासन र सुशासन, लागुऔषध नियन्त्रण र सामाजिक सुरक्षा, पर्यटन, संस्कृति र वन क्षेत्रको प्रवर्द्धनमा जोड दिँदै बजार व्यवस्थापन र आर्थिक समृद्धिलाई चुनावी प्रतिबद्धता शाहले बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *