प्लास्टिकका झोलाको प्रयोग गर्न पाउनुपर्ने माग

शेयेर गर्नुहोस


टीकापुर २३ भदौ /
टीकापुर नगरपालिकाले प्रतिबन्ध लगाएको प्लास्टिकको झोला प्रयोग गर्न पाउनुपर्ने मागसहित व्यापारी नगरपालिका पुगेका छन् ।
नगरपालिकाले गत आर्थिक वर्षदेखि कार्यविधि कार्यान्वयनमा ल्याउँदै प्लास्टिकका झोलाको प्रयोगमा प्रतिबन्ध लगाएपछि प्लास्टिकको प्रयोग गर्न पाउनुपर्ने भन्दै व्यापारी नगरपालिका पुगेका हुन । तत्कालीन नगर प्रमुख रामलाल डगौरा थारुले गतवर्ष साउनबाट कार्यान्वयन हुने गरी प्लास्टिकका झोलाको प्रयोगमा प्रतिबन्ध लगाएका थिए । त्यसको कार्यान्वयन पुर्णरुपमा नभए पनि बजार अनुगमनको क्रममा प्लास्टिक भेटिएमा बरामद गर्नेसम्मको काम नगर प्रहरी लगायतले गर्दै आएका थिए ।
वातावरणीय हिसाबले निकै हानिकारक मानिएको प्लास्टिकको झोलाको विकल्पमा अन्य झोला प्रयोगको लागि नगरपालिकाले आग्रह गर्दै आएको छ भने आंशिक रुपमा भए पनि प्लास्टिकका झोलाको प्रयोगमा कमि चाहिँ आएको नगरपालिका सरसफाइ शाखाका लोकबहादुर बुढाले जानकारी दिएका छन् । व्यापारीहरुले नगरपालिकाले प्लास्टिकका झोलाको विकल्प नदिएर प्लास्टिकका झोलामा प्रतिबन्ध लगाइएको भन्दै आपत्ति जनाउँदै आएका छन् ।
त्यसै क्रममा टीकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल्सिना सहित केही किराना व्यवसायीले सोमबार कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीसँग प्लास्टिकका झोलाको प्रयोग गर्न पाउनुपर्ने माग गरेका छन् । महासचिव तिमिल्सिनाले व्यवहारिक रुपमा भए पनि व्यापारीलाई प्लास्टिकका झोलाको प्रयोग गर्न दिनुपर्ने बताएका छन् । “कि विकल्प सहित प्लास्टिकका झोलाको प्रतिबन्धलाई कडाइका साथ लागु गर्नुपर्यो ।” उनले भने, “नभए व्यापारीलाई प्लास्टिकको झोला प्रयोग गर्न दिइनुपर्छ । प्लास्टिकका झोलाको विकल्प व्यापारीसँग नहुँदा समस्या हुँदै आएको छ ।”
वातावरणीय प्रभाव प्रति आफुहरु पनि निकै जिम्मेवार रहेको बताउँदै उनले बजारको सौन्दर्यकरणमा नगरपालिकासँग उद्योग वाणिज्य संघ समन्वय गर्न तयार रहेको बताएका छन् । व्यावसायिक संकटको यो विषम परिस्थितिमा सरकारले व्यापारीलाई हतोत्साहित गर्ने काम नगरी प्रोत्साहित गर्नुपर्नेमा उनको जोड थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *