बाढीका कारण जनजीवन प्रभावित

शेयेर गर्नुहोस


भजनी ०६ भदौ /
लगातारको वर्षाका कारण कैलालीको भजनी नगरपालिकाका अधिकांश क्षेत्र डुवानमा पर्दा जनजीवन प्रभावित बनेको छ ।
बाढीका कारण नगरपालिकाको अधिकांश वडा डुवानमा परेका छन् । वर्षासँगै कान्द्रा, मोहना, काढा र पथरैया नदीको बाढी वस्तीमा पसेपछि नागरिकहरू सुरक्षित स्थान तिर स्थानान्तरण भएको स्थानीय खेमराज पाण्डेले जानकारी दिनुभएको छ । उहाँका अनुसार वडा नं. ८ पुर्णरुपमा डुवानमा परेको छ । त्यहाँका स्थानीयहरु नजिकैको उच्च भवन, बिधालय, आफन्तको घर तथा हुलाकी सडकमा आश्रय लिन पुगेका छन् । “रातीको ३/४ बजेबाट बाढी आउन सुरु गरेको थियो । त्यसपछि लगातार पानी बढी रहेको छ ।” पाण्डेले भन्नुभयो, “वर्षा नरोकिएको हुँदा डुवान अझै बढ्न सक्ने हुँदा नागरिकहरु ज्यान जोगाउन भन्दै सुरक्षीत स्थानमा गएका छन् ।”
एकाएक रातीको समयमा बाढी आएपछि घरमा भएको सरसामान व्यवस्थापन नगरेरै ज्यान जोगाउन हिडेको स्थानीय कल्लु चौधरीले बताउनुभएको छ । उहाँले पहिलेको बाढीबाट जोगाएको अन्नपात यसपटकको बाढीले बगाएको दु:ख व्यक्त गर्नुभयो । “हाम्रो तिर वर्षा नभएर पनि बाढी आउँछ । कतिबेला के हुन्छ थाहै हुँदैन ।” उहाँ भन्नुहुन्छ, “ठाउँ छोडेर जानलाई अर्को ठाउँ छैन । बाढी र डुवानले हामीलाई आनन्दसँग कहिल्यै खान बस्न दिएन ।”
उता भजनी नगरपालिकाकै वडा नं. ५ मा कान्द्रा नदीको बाढीले हुलाकी राजमार्गमा क्षती पुर्याएको छ । वडा नं. ५ को लालभोझी क्षेत्रमा पनि सयौं परिवार विस्थापित भएको दिपेश बुढाले जानकारी दिनुभएको छ ।
अधिकांश क्षेत्र डुवानमा पर्दा साधनस्रोतको अभाव भएको नग प्रमुख केवल चौधरीले बताउनुभयो । उहाँले अझै पानीको सतह बढ्दै गएकोले सबैलाई सुरक्षीत रहन पनि आग्रह गर्नुभएको छ । उता जोशीपुरको वडा नं. ३ मा पनि बाढीका कारण जनजीवन प्रभावित भएको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *