शैक्षिक नगरी : न दरबन्दी न प्रयाप्त बजेट

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर २७ असार /
टीकापुरलाई शैक्षिक नगरीको रुपमा पनि चिनिन्छ ।
कुनै बेला शैक्षिक क्षेत्रमा स्थापित भएको टीकापुरको त्यो नारा नारामै सिमित भयो । त्यसका पछाडि धेरै कारणहरु छन् । पछिल्लो समयम पनि शिक्षा क्षेत्रलाई हेर्ने स्थानीय सरकारको नजरले शैक्षिक क्षेत्र आबल बन्न सकेको छैन कि भन्ने महसुस हुन्छ । किनभने नगरपालिकाको आउने आर्थिक वर्षको बजेटमा शिक्षाको लागि विनियोजन भएको बजेट २५ लाख हो । ९३ करोडको बजेट ल्याएको नगरपालिकाले शैक्षिक कार्यक्रम सञ्चालनका लागि विनियोजन गरेको २५ लाखले शैक्षिक नगरीको नारालाई सार्थक बनाउन सायद गाह्रो होला ।
टीकापुरमा सामुदायिक तर्फ १२ वटा माद्यामिक बिधालय छन् । त्यसमध्ये सातवटा बिधालयमा मात्रै माद्यामिक तहको शिक्षक दरबन्दी छ । खड्ग स्मृति माद्यामिक बिधालय टीकापुर, सरस्वती माद्यामिक बिधालय बनगाउँ, जनजागृती माद्यामिक बिधालय सितापुर, राष्ट्रिय माद्यामिक बिधालय नारायणपुर, त्रिभुवन माद्यामिक बिधालय बटनपुर, हिमालय माद्यामिक बिधालय घिया र कर्णाली माद्यामिक बिधालय सत्तीमा मात्रै मावी शिक्षक दरबन्दी छ ।
अन्य पाँचवटा बिधालयमा मावीको शिक्षक दरबन्दी छैन । दरबन्दी नभएका बिधालयमा कर्णाली माद्यामिक बिधालय टीकापुर, राष्ट्रिय माद्यामिक बिधालय मनिकापुर, सेती मैयाँ चौधरी माद्यामिक बिधालय झुँगा, जनता राष्ट्रिय माद्यामिक बिधालय सुनाहाफाँटा र त्रिभुवन माद्यामिक बिधालय मौरनियामा दरबन्दी छैन । त्यसमा पनि कर्णाली माद्यामिक बिधालय टीकापुर र सेती मैयाँ चौधरी माद्यामिक बिधालय झुँगामा माविमा राहत कोटाको दरबन्दी समेत छैन ।
नगरपालिकामा माद्यामिक तहमा हाल ४७ शिक्षक कार्यरत छन् । त्यसमध्ये १४ जना दरबन्दीमा कार्यरत छन् भने बाँकी राहत र अनुदानमा रहेका छन् । १२ वटा माद्यामिक बिधालयमा कम्तिमा पनि ६० जना शिक्षक हुनुपर्ने हो । “अनिवार्य अङ्ग्रेजी, गणित, बिज्ञान, नेपाली, सामाजिकका लागि गरी एउटा बिधालयमा कम्तिमा पनि पाँचजना शिक्षक आवश्यक पर्छ । त्यसअनुसार शिक्षक व्यवस्थापन गर्दा १२ बिधालयमा ६० शिक्षक चाहिन्छ । हाम्रो सबै बिधालयमा हाल ४७ जना मात्रै कार्यरत हुनुहुन्छ ।” नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले भने, “अझ बिद्यार्थीको चाप भएका कर्णाली र खड्ग स्मृतिमा थप शिक्षक आवश्यक पर्छ ।”
उनका अनुसार शिक्षकको व्यवस्थापन गर्न नसकेकै कारण एउटै कक्षामा एक सय ६० जनासम्म बिद्यार्थी राख्नुपर्ने बाध्यता रहेको छ । तल्लो तहमा कार्यरत शिक्षकले योग्यताका आधारमा माद्यामिक बिधालयको पठनपाठन भैरहेको छ ।
बिद्यार्थीले अझै पाएका छैनन् पाठ्यपुस्तक
टीकापुर नगरपालिकाले सञ्चालनमा ल्याएको स्थानीय पाठ्यपुस्तक बिद्यार्थीहरुले अझै पाउन सकेका छैनन् । वैशाखमै शैक्षिकसत्र सुरु भएर त्राइमासिक परिक्षाको आउनै लाग्दा पनि बिद्यार्थीहरुको हातमा स्थानीय पाठ्यपुस्तक पुग्न सकेको छैन । बजेटको अभावका कारण समयमा पाठ्यपुस्तक छपाइको काम नहुँदा बिद्यार्थीहरुलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको शिक्षा अधिकृत अवस्थी बताउँछन् । “शाखाले बजेट पुसमै माग गरेको थियो । स्रोत सुनिश्चित नभएको भन्दै बजेट छुट्याउन विलम्ब भएका कारण पाठ्यपुस्तक छपाइ समयमा हुन सकेन ।” उनले भने, “बल्ल जेठमा बजेटको सुनिश्चितता भएपछि पाठ्यपुस्तक छपाइको काम सुरु भएको छ । छापिए पछि बिद्यार्थीलाई उपलब्ध गराउछौं ।”
नगरपालिकाले कक्षा १ देखि ५ कक्षासम्म “हाम्रो टीकापुर” र कक्षा ६ देखि कक्षा ८ सम्म “हाम्रो सामाजिक मुल्य मान्यता र नैतिक शिक्षा” स्थानीय पाठ्यक्रमको रुपमा कार्यान्वयन गर्दै आएको छ । जसमध्ये “हाम्रो सामाजिक मुल्य मान्यता र नैतिक शिक्षा”को पाठ्यक्रम बजेटको सुनिश्चितता भएपछि छपाइका लागि नगरपालिकाले पठाएको छ । यस विषयमा नगर प्रमुख रामलाल डगौरा थारुले बजेट अभावका कारण पाठ्यपुस्तक छपाइ नभएको बारेमा आफुलाई जानकारी नभएको बताएका छन् ।
“शिक्षा समितिको संयोजकलाई पाठ्यपुस्तक नछापिएको विषयमा थाहै छैन ।” उनले भने, “जिम्मेवारी पाएको व्यक्तिले समयमा समन्वय र सहकार्य नगरेका कारण त्यस्तो भएको हुनसक्छ ।” बजेटको अभावले पाठ्यपुस्तक नछापिएको भन्ने कुरा आफू मान्न तयार नरहेको नगर प्रमुख थारुले बताए ।
शिक्षामा भन्दा बढी बजेट गुलावमा
आउँदो आर्थिक वर्षमा टीकापुर नगरपालिकाको बजेट शिक्षामा भन्दा गुलाव अभियानमा बढी देखिएको छ । नगरपालिकाले शिक्षाका लागि २५ लाख बजेट विनियोजन गरेको भए पनि गुलाव अभियानका नाममा ३२ लाख बजेट विनियोजन भएको छ । बजेटको संकुचनका कारण शैक्षिक गतिविधि अगाडि बढाउन नसक्दा पनि शैक्षिक गुणस्तरलाई प्रभावकारी बनाउन नसकिएको गुनासो शिक्षा अधिकृत अवस्थीको छ ।
“शिक्षाको बजेट निकै न्युन छ । यहीँ बजेटले शैक्षिक कार्यक्रम सञ्चालन गर्न कठिन भैरहेको छ ।” उनले भने, “मैले बजेट बढाउनका लागि पटकपटक आग्रह गर्दा पनि बजेट बढाउन सकिएन । यो बजेटबाट के योजना बनाउने ? के कार्यान्वयन गर्ने ? कसरी शैक्षिक गुणस्तरलाई सबल बनाउने चुनौती छ ।” उनले बजेट विनियोजनमा कन्जुस्याइँ गर्ने र नतिजा खोज्दा राम्रो खोज्ने काम भएको बताउँदै शैक्षिक क्षेत्रमा लगानीको अभाव भएको बताए । नगरपालिकाले उत्पादन भन्दा अनुत्पादक क्षेत्रमा बढी खर्च गरेको यो दिई शिर्षकलाई औल्याउँदा पनि सहजै बुझ्न सकिन्छ ।
तर, नगर प्रमुख थारु त्यो कुरालाई मान्न तयार छैनन् । उनले आवश्यकताको आधारमा बजेटको व्यवस्था गर्न सकिने दाबी गर्छन् । उनले आवश्यक परेको खण्डमा कार्यपालिका बैठकबाट नभए हिउँदे नगर सभाबाट शिक्षामा आवश्यक बजेट व्यवस्थापन गर्न सकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *