शेयेर गर्नुहोस
टीकापुर २१ माघ /
९ औं अन्तर बिधालय प्याब्सन रनिङ कप सम्पन्न भएको छ ।
निजि तथा आवासीय बिधालय अर्गनाइजेसन प्याब्सन स्थानीय पालिका टीकापुरको आयोजनामा भएको रनिङ कपमा प्राथमिक तह अन्तर्गत जेसीज पब्लिक स्कुल प्रथम भएको छ । त्यसैगरी दोस्रो आइएमइ स्कुल अस्नेहरी र तेस्रो स्थान त्रीपथ बिद्या निकेतन टीकापुरले हासिल गरेको थियो । प्राथमिक तहमा ६ खेल खेल खेलाइएको थियो । त्यसैगरी निमावि तह अन्तर्गत मञ्जुमोर्डन एकाडेमी टीकापुर प्रथम भएको छ । दोस्रो स्थान जेसीज पब्लिक स्कुल र तेस्रो स्थान आइएमइ स्कुल, गणेश बाबा इङलिस बोर्डिङ स्कुल टीकापुर र न्युलाईट एजुकेसन होमले हासिल गरेका छन । निमावि तहमा पनि ६ खेलमा प्रतिस्पर्धा गराइएको थियो ।
माद्यामिक तह अन्तर्गतको प्रतियोगितामा न्युलाईट एजुकेसन होम प्रथम भएको छ । त्यसैगरी आइएमइ स्कुल र रामजानकी इङलिस बोर्डिङ स्कुल दोस्रो भएका छन् भने माउण्ड सैपाल एकामेडीले तेस्रो स्थान हासिल गरेको छ । माद्यामिक तहमा चार बिद्यामा प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा टीकापुर नगरपालिका अन्तर्गत प्याब्सनमा आबद्ध २२ बिधालयको सहभागिता रहेको थियो । प्रतियोगिता माघ १६ गतेबाट सुरु भएको थियो ।
प्याब्सन टीकापुरका अध्यक्ष मानबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडक बहादुर शाहले खेलकुद जीवनको अभिन्न अंगको रुपमा रहेको बताएका छन् । उनले पछिल्लो समय बिधालयहरुमा खेलकुद कार्यक्रमको वृद्धि भैरहेको बताउँदै त्यसमा टीकापुर नगरपालिकाले सहयोग र समन्वय गर्दै आएको पनि बताए । “बिद्यार्थीहरुलाई सहि बाटोमा डोर्याउनका लागि पनि खेलकुद अहिलेको आवश्यकता हो । त्यसमा स्थानीय सरकारले खेल्नुपर्ने भुमिका खेल्दै पनि आएको छ ।” नगर उपप्रमुख शाहले भने, “विगत देखिको मेयर तथा उपमेयर कपले टीकापुर क्षेत्रको खेलकुदमा थप उत्साह प्रदान गरेको छ भने यस्ता संस्थागत र सामुदायिक बिधालयहरुको संगठनहरुले गर्ने खेलकुद कार्यक्रम पनि प्रभावकारी बन्दै गएको पाइन्छ ।”
त्यस्तै ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख विश्वराज अधिकारीले खेलकुदले बालबालिकालाई सकारात्मक बाटोमा लैजाने बताएका छन् । उनले लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि बालबालिका तथा युवाहरूलाई खेलकुद महत्त्वपूर्ण हुनसक्ने बताएका छन् । प्याब्सन कैलालीका पुर्व उपाध्यक्ष दयाराम संज्यालले टीकापुरको शैक्षिक क्षेत्रमा प्याब्सनको भुमिका महत्त्वपूर्ण रहेको बताउँदै स्थानीय सरकार र सामुदायिक बिधालयले निजीलाई सधैं उपेक्षा गर्दै आएको बताएका छन् । कार्यक्रममा प्याब्सन सुदुरपश्चिम प्रदेश उपाध्यक्ष डम्बर बहादुर सोडारी, टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट बहादुर सोडारी, प्याब्सन कैलाली जिल्ला सचीव चेतराज देवकोटा लगायतले मन्तव्य राखेका थिए ।
प्याब्सन टीकापुरका उपाध्यक्ष देवेन्द्र बहादुर शाहले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचीव रमेश बहादुर शाहीले गरेका थिए भने पुरस्कार वितरणको सहजीकरण कोषाध्यक्ष शिवराज चौलागाईंले गरेका थिए ।