अस्पताल प्रति सकारात्मक धारणा बनाऔं : सोडारी

शेयेर गर्नुहोस


टीकापुर ०४ बैशाख /
टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले अस्पताल प्रती सरोकारवाला प्रबुद्ध ब्याक्तीको सोच अझै सकारात्मक हुन नसकेको बताएका छन् ।
उनले स्वास्थ्य क्षेत्रमा टीकापुर क्षेत्रका लागि मात्रै नभई कैलालीको पुर्बी क्षेत्र सहित लुम्बिनी र कर्णाली प्रदेशका केही जिल्लाका स्थानीयका लागि पनि विशेष क्षेत्र भएको बताउँदै अस्पतालको विकासका लागि सरोकारवाला निकायबाट सहयोग नपाएको गुनासो गरेका हुन । समाधान न्युजको विशेष कुराकानीमा अध्यक्ष सोडारीले टीकापुर अस्पतालको सुधारका लागि आफुले चाहेको सहयोग नपाएको बताएका छन् । “म आज अस्पतालको नेतृत्वमा छु । भोलि अर्को आउला । अस्पताललाई हाम्रो भन्ने भावना सबैमा हुनुपर्छ ।” अध्यक्ष सोडारी भन्छन्, “सबैमा सकारात्मक भावनाको मात्रै विकास हुने हो भने पनि अस्पतालले गति लिनसक्छ ।”
उनले अस्पतालमा अझै पनि दरबन्दी अनुसार चिकित्सकको दरबन्दी हुन नसकेको बताए । उनले सरकारको दरबन्दी अनुसार ९ जना एमबीबीएस चिकित्सकको दरबन्दीमा अहिले पनि सात जनाको दरबन्दी खाली रहेको बताए । अस्पतालको आन्तरिक स्रोत र प्रदेश सरकारबाट केही विशेषज्ञ सेवा विस्तार भएको बताउँदै अध्यक्ष सोडारीले जानकी गाउँपालिकाले उपलब्ध गराएको चिकित्सकको खर्च व्यवस्थापन गर्न छोडेको बताएका छन् । “टीकापुर नगरपालिकाले दुईजना विशेषज्ञ चिकित्सक व्यवस्थापन गर्दै आएको छ । एक जना जानकी गाउँपालिकाले पनि गरेको थियो । त्यो अहिले छैन ।” अध्यक्ष सोडारी भन्छन्, “आफ्ना नागरिकहरूको सेवा स्वस्थ्य प्रवाहमा स्थानीय सरकार जिम्मेवार बन्न सके टीकापुर अस्पतालको वृद्धि विकासमा समय लाग्ने छैन । अस्पताललाई आफ्नो अस्पतालको रुपमा आत्मसात गर्न सक्नुपर्यो ।”
उनले आफू अस्पतालमा आएपछि धेरै काम भएको दाबी गर्दै अझै कैयौं कामहरु गर्न बाँकी रहेको बताएका छन् । “धेरै काम भएका छन् । चारपाँचवटा विशेषज्ञ सेवा मात्रै विस्तार भएका छन् भने, फोहोरमैला व्यवस्थापन अस्पताल भित्रै हुन थालेको छ । चिकित्सकको आवास भवन निर्माणाधीन अवस्थामा छ । उता फार्मेसी व्यवस्थापनका लागि काम गरिरहेका छौं ।” अध्यक्ष सोडारीले भने, “राम्रा कुराको प्रोत्साहन र हुनलागेका काममा सबैको साथको अपेक्षा गरेको छु । अस्पताल बनाउनको लागि हामी सबैको एक्यवद्धता आवश्यक छ । त्यतिमात्र नभई अस्पतालको विषयमा स्थानीय छिमेकी पाकिका पनि सकारात्मक बन्न सके अस्पतालबाट अझै थुप्रै सेवा प्रवाह गर्न सकिनेछन् ।”
५१ शैयाको अस्पतालमा दिनप्रतिदिन बिरामीहरुको संख्या बढ्दै गएपछि शैयाको अभावमा बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने स्थिती रहेको अस्पताल व्यवस्थापन समिती बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *