नासाको परियोजना आबद्ध टीकापुरका युवा

शेयेर गर्नुहोस


टीकापुर, ७ कार्तिक /
कैलालीको टीकापुरका एक युवा प्राध्यापकले अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) को एक अनुसन्धान परियोजनाको नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन ।
सन् २०२५ अगस्टदेखि अमेरिकाको टेक्सस क्रिस्टियन युनिभर्सिटीको कम्प्युटर साइन्स विभागमा आर्टिफिसियल इन्टेलिजेन्स तथा मेसिन लर्निङ विषयमा सह–प्राध्यापक पदमा कार्यरत टीकापुर नगरपालिका वडा नं. १ का डाक्टर चेतराज पाण्डेले यो अवसर हात पार्न सफल भएका हुन ।
अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले विश्वविद्यालयलाई ३६ लाख अमेरिकी डलर डार्क स्काइज टु डीप टाइम नामक परियोजना प्रदान गरेको हो । डाक्टर पाण्डे सो परियोजनामा को–प्रिन्सिपल इनभेस्टिगेटरका रूपमा संलग्न रहने छन् । परियोजनाको नेतृत्व डाक्टर रियान्नोन मेनीले गर्नेछन् । छ वर्षअघि विद्यार्थी भिसामा अमेरिका अध्ययन गर्न गएका डाक्टर पाण्डेले पूर्ण छात्रवृत्तिमा अमेरिकाको जर्जिया स्टेट युनिभर्सिटीबाट कम्प्युटर साइन्समा स्नातकोत्तरसहित सन् २०२५ मै विद्यावारिधि पूरा गरेका छन ।
सहप्राध्यापकका रूपमा काम सुरु गरेको पहिलो वर्षमै नासाको अनुसन्धान परियोजनामा नेतृत्व गर्ने यो महत्वपूर्ण अवसर हो । डाक्टर पाण्डेले उक्त अवसरलाई आफ्‌नो शैक्षिक तथा अनुसन्धान यात्राको ठूलो उपलब्धिका रुपमा लिएको बताए । ‘नेपालबाट अध्ययनको क्रममा अमेरिका पुगेर प्राध्यापन शुरु गरेको पहिलो वर्षमै नासाको परियोजनामा अनुसन्धान नेतृत्व गर्न पाउनु मेरो शैक्षिक तथा अनुसन्धान यात्राको ठूलो उपलब्धी हो’ डाक्टर पाण्डेले भने ‘यो परियोजनाको मुख्य उद्देश्य अन्तरिक्ष विज्ञान र खगोल विज्ञानसम्बन्धी अनुसन्धान तथा वैज्ञानिक ज्ञानलाई विद्यार्थी तथा सर्वसाधारणसम्म सहज रुपमा पुर्‍याउनु रहेको छ ।’
टीकापुरस्थित सन्त निरंकारी आादर्श विद्यामन्दिरबाट एलएलसी, काठमाडौंको नेपाल मेगा कलेजबाट प्लस टु र सन् २०१७ मा त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान, पूर्वाञ्चल क्याम्पस धरानबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक तह पूरा गरेका डाक्टर पाण्डेले परियोजनामार्फत् प्राविधिक प्रणालीको विकास तथा व्यवस्थापनमा काम गर्नेछन् ।
परियोजनाअन्तर्गत अमेरिकाको टेक्सस राज्यका विभिन्न स्थानमा विशेष क्यामेराहरू जडान गरी आकाशमा देखिने उल्का तथा अन्य खगोलीय गतिविधिहरूको अवलोकन गरिनेछ । सन् २०२९ मा पृथ्वीको नजिकबाट गुज्रिने एपोपफिस नामक क्षुद्रग्रहसँग सम्बन्धित वैज्ञानिक शिक्षा र जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिने छन् । ‘मेरो मुख्य जिम्मेवारी टेक्ससका विभिन्न स्थानमा जडान गरिएका क्यामेराहरूबाट प्राप्त हुने तस्बिर तथा भिडियोहरूलाई इन्टरनेटमार्फत सार्वजनिक वेबसाइटमा प्रत्यक्ष हेर्न सकिने बनाउने, वैज्ञानिक तथ्याङ्कहरू सुरक्षित राख्ने र अनुसन्धान तथा शैक्षिक प्रयोजनका लागि उपलब्ध गराउने प्रणाली विकास गर्ने रहेको छ’ डाक्टर पाण्डेले भने ‘यसका माध्यमबाट सर्वसाधारण र विद्यार्थीहरूले पनि वास्तविक खगोलीय अवलोकन तथा वैज्ञानिक अनुसन्धानमा सहभागी हुने अवसर पाउनेछन् ।’
डाक्टर पाण्डेले हालै अमेरिकी नेशनल साइन्स फाउण्डेशनबाट समेत १ लाख २४ हजार ७१९ अमेरिकी डलरको तीनवर्षे अनुसन्धान अनुदान प्राप्त गरेका थिए । यस परियोजनामा विश्वविद्यालयका तर्फबाट प्रिन्सिपल इन्भेस्टिगेटर रुपमा अनुसन्धान गरिरहेका छन् । ‘यो अनुसन्धान सूर्यबाट निस्किने विशाल प्लाज्मा तथा चुम्बकीय पदार्थका विस्फोटहरू, जसलाई कोरोनल मास इन्जेक्सन्स भनिन्छ, तिनको त्रिआयामिक संरचना अध्ययन गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगमा केन्द्रित छ’ डाक्टर पाण्डेले भने ‘यस्ता सौर्य विस्फोटहरूले पृथ्वीका उपग्रह, सञ्चार प्रणाली, जिपिएस तथा विद्युतीय प्रणालीमा समेत प्रभाव पार्न सक्छन्, तिनको पूर्वानुमानमा अध्ययन गर्ने हो ।’
डाक्टर पाण्डेले आफ्‌नो विद्यावारिधी अध्ययनमा एआई र डीप लर्निङको प्रयोगबाट दुर्लभ तर महत्वपूर्ण घटनाहरूको पूर्वानुमान गर्ने तथा एआईले गरेका निर्णयलाई ब्याख्या गर्न सकिने प्रविधि विकासमा केन्द्रित थियो । ‘विशेषगरी सूर्यमा हुने विस्फोट तथा अन्तरिक्ष मौसमको पूर्वानुमानसम्बन्धी अनुसन्धानमा काम गरेको थिएँ’ डाक्टर पाण्डेले भने ‘यही कारण समेत प्राध्यापन शुरु गरेको एक वर्षभित्रै यति ठूलो परियोजनामा जोडिन पाएको छु ।’
डाक्टर पाण्डेले ती परियोजनाहरू अमेरिकामा सञ्चालन हुने भए पनि अन्तर्राष्ट्रिय अनुसन्धानमा हाँसिल हुने अनुभव र सहकार्यलाई भविष्यमा नेपालका विद्यार्थी तथा अनुसन्धानकर्ताहरूसँग जोड्ने आफ्‌नो इच्छा रहेको बताए ।
‘विशेषगरी नेपालमा एआई, अन्तरिक्ष विज्ञान र वैज्ञानिक अनुसन्धानमा रुचि राख्ने विद्यार्थीहरूका लागि अन्तर्राष्ट्रियस्तरको अनुसन्धानमा सहभागी हुने अवसर सिर्जना गर्न सकियोस् भन्ने मेरो अपेक्षा छ’ डाक्टर पाण्डेले थपे ‘एआईले गरेका निर्णयहरुलाई मानिसले बुझ्‌न सक्ने बनाउने तथा समयसँगै नयाँ तथ्यांकबाट एआई प्रणालीको विकास गर्ने अनुसन्धानको लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *