आँखा पाकेको निहुमा विद्यार्थी माथी निर्घात कुटपिट

शेयेर गर्नुहोस


टीकापुर २७ साउन /
टीकापुर नगरपालिका भित्र सञ्चालित एउटा निजि बिधालयले बिद्यार्थीका आँखा पाकेको निहुमा निलडाम पर्ने गरि कुटपिट गरेको तथ्य बाहिरिएको छ ।
टीकापुर स्थित टीकापुर करुणा इङलिस बोर्डिङ स्कुलका सञ्चालक सुदिप चौधरीले बिधालयमा कक्षा ५ मा अध्ययन गरिरहेकी शिक्षिता विश्वकर्मालाई आँखा पाकेको निहुँमा निलडाम पर्ने गरी कुटपिट गरेको तथ्य बाहिर आएको हो । उनले आँखा पाकेको समयमा घरमा बस्न छोडेर बिधालय आएको बन्दै शिक्षितालाई कुटपिट गरेका हुन । बिधालयका लेखापालको काम समेत गरिरहेका चौधरीको कुटाइबाट कम्मर र हातमा निलडाम परेका छन् ।
घटना साउन २१ गते भए पनि बाहिर आएको थिएन । २१ गते बिधालयमा शिक्षकबाट पिटाइ खाएकी शिक्षिता रुदै घर पुगेपछि घरमा थाहा भएको थियो । घरमा आमाबुबा नहुँदा त्यो घटना बाहिर आएको थिएन । “म केही दिन मात्रै भएको थियो, काम भारत पुगेको । यता शिक्षकको पिटाइबाट छोरीका निलडाम परेको फोटो देखेपछि तुरुन्त फर्किनु पर्यो ।” शिक्षिताका बुवा राजेन्द्र विश्वकर्माले भने, “सम्झाएर बुझाएर पठाउनुपर्ने ठाउँमा बिधालयका सञ्चालकबाटै बिद्यार्थी माथी कुटपिट हुन्छ भने त्यसको जिम्मेवार को हुन्छ ?”
बिद्यार्थी कुट्ने बिधालय सञ्चालक चौधरीले बिद्यार्थीलाई कुटेको स्वीकार गरेका छन् । उनले आँखा पाकेको बिद्यार्थीलाई बिधालय नआउन भनेपनि नमानेपछि कुटेको बताए । “मैले शिक्षितालाई मात्रै होइन । अन्य चारपाँच जना बिद्यार्थीलाई पनि पिटेको थिए । बिधालय प्रशासनले भन्दाभन्दै पनि भनेको नमानेपछि बिद्यार्थी कुटेको हु ।” उनले भने, “त्यस्तो बेला अभिभावक र बिद्यार्थी जिम्मेवार हुनुपर्छ भन्दाभन्दै नमानेपछि के गर्ने त ? भोलि अर्को बिद्यार्थीलाई सर्यो भने अरु अभिभावकको गुनासो कसले सुन्ने ?”
टीकापुर प्याब्सनका अध्यक्ष मानबहादुर थापाले बिद्यार्थीलाई आँखा पाकेकै निहुँ पिट्नु गलत भएको बताएका छन् । उनले विद्यार्थीहरु माथी किनै पनि किसिमको हिंसा गर्न नमिल्ने भन्दै बरु अभिभावक बोलाएर सम्झाउन सकिने बताएका छन् । टीकापुर नगरपालिकाले पनि बिद्यार्थीलाई पिट्नु गलत भएको बताएको छ । नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले घटनाको बारेमा बुझेर बिधालयलाई आवश्यक सम्झाउन सकिने बताएका छन् । उनले बिद्यार्थी माथी कुनै पनि किसिमको हिंसा गर्न नमिल्ने भन्दै त्यस्तो अवस्थामा कानुनी कारबाही भोग्नुपर्ने बताएका छन् ।
टीकापुर प्याब्सनले आँखा पाक्ने रोगको संक्रमण फैलिएपछी साउन १७ गतेदेखि १९ गतेसम्म बिधालय बन्द गराएको थियो । २१ गते सञ्चालन भएका बिधालय पुनः २४ गतेसम्मका लागि बन्द गराएको थियो । यसभन्दा पहिले पनि बिधालय सञ्चालक चौधरीले बिद्यार्थीहरुलाई पिट्ने र शारीरिक यातना दिने गरेको पनि पाइएको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *