बीमा कार्यक्रम बन्द हुँदा सेवाग्राही समस्यामा

शेयेर गर्नुहोस


झलनाथ खनाल, भजनी २४ असार/
कैलालीको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वस्थ्य बीमा कार्यक्रम बन्द भएपछि सेवाग्राहीलाई उपचारमा समस्या हुन थालेको छ । सरकारबाट बीमा बापत प्राथमिक स्वास्थ्य केन्द्रले पाउन छोडेपछि स्वास्थ्य बीमा कार्यक्रम बन्द भएको हो । जेठ २९ गतेबाट प्राथमिक स्वास्थ्य केन्द्रले फार्मेसी र प्रयोगशाला सेवामा दिँदै आएको स्वास्थ्य बीमा कटौती गरेको छ ।
केही सेवामा भने स्वास्थ्य केन्द्रले स्वास्थ्य बीमा निरन्तर रहेको केन्द्रका प्रशासन शाखाका अमरसिंह चौधरीले जानकारी दिनुभयो । “सरकारबाट बीमा बापत प्राप्त हुने रकम निकै कटौती भएपछि अस्पतालको स्रोतले व्ययभार थेग्न नसक्ने हुँदा सेवाग्राहीले पाउँदै पाउँदै आएको फार्मेसी र प्रयोगशाला सेवाको बीमा कार्यक्रम रोकेका छौँ ।” उहाँ भन्नुहुन्छ, “सरकारले दिँदै आएको अनुदान दिन सकेपछि मात्रै रोकिएका सेवालाई सुचारु गर्न सकिन्छ । फार्मेसी र प्रयोगशालामा पाउँदै आएको सहुलियत हटाएपछि पहोलेको तुलनामा सेवाग्राही आउन छोडेका छन् ।”
चालू आर्थिक वर्षमा प्राथमिक स्वास्थ्य केन्द्रमा चार हजार तीन सय ७६ जनाले स्वास्थ्य बीमा मार्फत सेवा लिएका छन् । एउटै सेवाग्राहीले पटकपटक सेवा लिएको चौधरी बताउनुहुँन्छ । त्यसअवधिमा दुई सय ९७ स्वास्थ्य बीमा नभएका सेवाग्राहीले जनाले सेवा लिएको तथ्यांक केन्द्रसँग छ । स्वास्थ्य बीमाको सेवा कटौती हुँदा ६५ जना मात्रै स्वास्थ्य केन्द्रमा सेवा लिन आएका छन् । “स्थानीय सरकारसँग पटकपटक स्वास्थ्य केन्द्रलाई बजेटका लागि आग्रह गर्दा पनि सुनुवाइ हुँदैन ।” केन्द्रका अध्यक्ष तथा वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले भन्नुभयो, “कार्यविधिमा त्यहीँ स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको परिकल्पना गरिएको छ, बजेटमा कार्यान्वयन कुनै वर्ष हुँदैन ।”
उहाँले नगरपालिकाबाट बजेटको व्यवस्था हुँदा साथ बन्द भएका स्वास्थ्य बीमाका कार्यक्रमलाई सुचारु गरिने बताउनुभएको छ । उहाँले स्वास्थ्य केन्द्रमा दैनिक तीन सयसम्म सेवाग्राही उपचारका लागि आउने गरेको बताउनुभयो । स्वास्थ्य केन्द्रले पोष्टमोर्टमको सेवा समेत दिँदै आएको छ ।
सेवाग्राहीले सर्वसुलभ स्वास्थ्य बीमाको सेवा नपाउँदा बिरामी टीकापुर धनगढी पुग्न बाध्य भएका छन् । त्यसरी बिरामी उपचारका लागि बाहिर जाँदा समस्या हुन थालेको नागरिकहरूको भनाइ छ । “स्वास्थ्य उपचारमा सहजता होस् भनेर स्वास्थ्य बीमा गरिएको हो । पाउने सेवा नपाएपछि जहाँ पाइन्छ त्यहीँ जानुपर्ने बाध्यता छ ।” स्थानीय खेमराज पाण्डे भन्नुहुन्छ, “आर्थिक रुपमा विपन्न नागरिकहरुका लागि ठुलो राहत भएको सेवा बन्द हुँदा कैयौं व्यक्ति उपचारबाट बञ्चित हुनुपर्ने स्थिति सिर्जना हुनसक्छ ।”
बाढी र डुवानको उच्च जोखिममा रहेको भजनीमा त्यहीँ प्राथमिक स्वास्थ्य केन्द्रको विकल्पमा अर्को कुनै निजि स्वास्थ्य क्लिनिक समेत छैन । बिरामी हुँदा टीकापुर, धनगढी वा नेपालगन्ज पुग्नुपर्ने बाध्यता अझै भजनीमा कायमै छ । हाल स्वास्थ्य केन्द्रमा दुईजना एमबीबीएस चिकित्सक आफ्नो दुई बर्षको प्रशिक्षणको लागि खटिनुभएको छ । त्यसमध्ये डा. शुर्य प्रकाश चौधरीको समय सकिँदै छ । डा. चौधरीले नै स्वास्थ्य केन्द्रमा पोष्टमोर्टमको काम गर्दै आउनुभएको थियो । साउनमा उहाँ गएपछि सञ्चालनमा रहेको पोष्टमोर्टम सेवा पनि बन्द हुनेछ । त्यसपछि उक्त सेवाका लागि सेवाग्राहीलाई पुनः टीकापुर वा धनगढी पुग्नुपर्ने बाध्यता हुने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *