शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर १९ जेठ /
टीकापुर नगरपालिकाको कार्यपालिका सदस्यका लागि भएको निर्वाचन सम्पन्न भएको छ ।
पाँच महिला सहित आठजनाको लागि भएको निर्वाचनमा ! नागरिक उन्मुक्ति पार्टीका ५ जना, नेपाली काँग्रेसबाट २ जना र नेकपा माओवादी केन्द्रबाट एकजना निर्वाचित भएका छन् । महिला सदस्यहरुमा कैलाशपती चौधरी, रुपमती डगौंरा थारु, सरस्वती तिरुवा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका छन् भने नेपाली काँग्रेसबाट राजरानी चौधरी र नेकपा माओवादी केन्द्रबाट लवरी चौधरी निर्वाचन भएका छन्।
त्यस्तै दलित तथा अल्पसंख्यक सदस्यबाट नागरिक उन्मुक्ती पार्टीबाट दिपक बहादुर निशानी र मञ्जु विक विजयी हुनुभएको छ भने नेपाली काँग्रेससबाट राम बहादुर नगार्जी निर्वाचित भएका छन् । १९ सदस्यीय कार्यपालिकामा एकल बहुमत कसैको पनि पुगेको छैन । नागरिक उन्मुक्ति पार्टीको ८ जना छन् भने नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबाट समान पाँच पाँच जना छन् । नेकपा एमालेबाट एक जना कार्यपालिकाको सदस्यमा छन् ।
देशैभर सत्ता साझेदार पाछ दलिय गठबन्धन संयुक्तरुपमा बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा होमियो ।
टीकापुर नगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा स्थानीय तहको निर्वाचन सँगै लडेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र विभाजित भएका छन् । कार्यपालिकाको सदस्य चयनको लागि भएको निर्वाचनमा भागबन्डा नमिल्दा माओवादी र काँग्रेसले तालमेल गर्न नसकेको बताइएको छ ।
निर्वाचनमा ९ वडा रहेको नगरपालिकामा तीन वडा अध्यक्ष सहित ११ जनाले नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए , भने एक नगर उपप्रमुख, तीन वडा अध्यक्ष लगायत १४ जना नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए । कार्यपालिकाको सदस्य निर्वाचनमा दुई पार्टीको समीकरण भएको खण्डमा बहुमत पुग्ने भएपनि माओवादी केन्द्र र नेपाली काँग्रेस दुबैले नगरपालिकाको पहिलो दल नागरिक उन्मुक्ति पार्टीसँग गठबन्धनका लागि प्रयास गरे । अन्तिममा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले कार्यपालिकाको सदस्य निर्वाचनका लागि सहमति गरेपनि नतिजामा गठबन्धन प्रभावकारी नभएको देखिएको छ ।
नेपाली काँग्रेसका कैलाली क्षेत्र नं.१ का क्षेत्रीय सभापति प्रकाश शाहले माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा धोका दिएको आरोप लगाएका छन् । उनले टीकापुर नगरपालिकाको हकमा वडाको मत परिणामको आधार हेर्दा पनि त्यसले प्रष्ट देखाएको बताउँदै नगर उपप्रमुखलाई आएको मत नगर प्रमुखलाई नआउनु भनेकै माओवादीले गठबन्धनको नाममा धोका दिएको बताएका छन् । निर्वाचनको अघिल्लो राती आफुहरुले गठबन्धनको विपक्षमा भोट मागेको प्रत्यक्ष भेटेको बताउँदै अहिले पनि माओवादीको दोभासे कुराले कार्यपालिकाको सदस्य चयनका लागि भएको निर्वाचनमा सहमति नभएको बताएका छन् । “हामिले कार्यपालिकाको सदस्य निर्वाचनमा पनि माओवादी केन्द्रसँग समन्वय गर्न खोजेकै हो । उहाँहरुले निर्वाचित जनप्रतिनिधिहरुको ग्यारेन्टी लिन नसक्ने भनेपछि हामिले गठबन्धन छोड्नुपर्यो ।” क्षेत्रीय सभापति शाहले भने, “एउटा निर्वाचित जनप्रतिनिधिले पार्टीको निर्णयको पालना गर्न सक्ने अवस्था रहँदैन भने गठबन्धनमा कसरी विश्वास गर्ने भन्ने प्रश्न उठ्यो । त्यसपछि गठबन्धनबाट काँग्रेस टाढा भएको हो ।”
त्यस्तै माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश सदस्य नन्दबहादुर विकले नेपाली काँग्रेससँग मात्रै नभई नागरिक उन्मुक्ति पार्टीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा माओवादीले जोड दिएको बताएका छन् । “नगर प्रमुख एउटा पार्टीको हुनुहुन्छ उहाँलाई सँगै नलिएर अगाडि बढ्नुको पनि कुनै औचित्य देखिएन । हामिले तिनै दल मिलेर सहमतिमा अगाडि बढौ भनेर अन्तिमसम्म प्रयास गर्यौं तर काँग्रेसले मानेन ।” नन्दबहादुरले भने, “अन्तिममा हामी नागरिक उन्मुक्तिसँग गठबन्धन गर्न पुगेका हौं । यसलाई अनौठो मान्नुपर्ने कुरै छैन ।”