शेयेर गर्नुहोस
टीकापुर १८ चैत /
कैलालीको टीकापुर नगरपालिका वडा नं. ९ स्थित सत्ती भन्सार कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा लक्ष्यको ६० प्रतिशत राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षका लागि भन्सार कार्यालयले १२ करोड १४ लाख ७ हजार राजस्व संकलनको लक्ष्य लिएकोमा फागुन मसान्तसम्म ७ करोड २७ लाख ३१ हजार ६ सय ३३ रुपैयाँ अर्थात ६० दशमलव ५३ प्रतिशत राजस्व संकलन भएको हो ।
भन्सार कार्यालयले आठ महिनामा लक्ष्यको सबैभन्दा कम फागुन महिनामा एक करोड पाँच लाख ६३ हजार लक्ष्य लिएकोमा ५६ लाख ११ हजार चार सय ४८ रुपैयाँ अर्थात ५३ दशमलव १२ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ भने, सबैभन्दा बढी राजस्व पुस महिनामा उठेको छ । पुस महिनामा कार्यालयले एक करोड २४ लाख ७ हजार लक्ष्य लिएकोमा एक करोड ४२ लाख ७१ हजार एक सय ४५ रुपैयाँ अर्थात १३९ दशमलव २७ प्रतिशत राजस्व संकलन भएको छ ।
भन्सार कार्यालयले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म लक्ष्य भन्दा बढी राजस्व तीन महिनामा संकलन गरेको छ । भदौ महिनामा भन्सार कार्यालयले ९८ लाख ७८ हजार राजस्व संकलनको लक्ष्य लिएकोमा एक करोड ११ लाख ८० हजार ९ सय ९२ रुपैयाँ अर्थात ११३ दशमलव १९ प्रतिशत राजस्व संकलन गरेको छ भने मंसिर महिनामा एक करोड ३२ लाख ७ हजार लक्ष्य पाएको भन्सार कार्यालयले एक करोड २४ लाख चार हजार अर्थात १२० दशमलव ११ प्रतिशत राजस्व संकलन भएको छ ।
कार्यालय प्रमुख धनबहादुर शाहीले चार महिनाको अवधीमा बाँकी राजस्व संकलन गरेर लक्ष्य पूरा गर्ने रणनीतिका साथ कार्यालयले काम गरिरहेको बताउनुभयो । “हामीले सके लक्ष्यभन्दा बढी नभए लक्ष्यअनुसार राजस्व संकलन हुन्छ भन्ने विश्वासका साथ काम गरिरहेका छौँ ।” उहाँले भन्नुभयो, “जनशक्ति अभाव र स्रोतसाधनको अभावले कतै समस्या ल्याउँछ कि भन्ने चाहिँ छ ।” खुला सिमानाका कारण चोरीपैठारी बढी हुने भएका कारण भन्सारले विगतमा पनि लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको उहाँको बुझाइ छ । प्लान्ट क्वारेन्टाइन नहुँदा खाद्यान्न बाहेकका सामानको आयात तथा निर्यात हुने सत्ती भन्सार कार्यालय राजस्व संकलनका लागि महत्त्वपूर्ण भन्सार कार्यालय बन्न सक्ने कार्यालय प्रमुख शाही बताउनुहुँन्छ ।
“कार्यालयमा प्लान्ट क्वारेन्टाइन भयो भने भन्सारको गतिविधि बढ्ने देखिन्छ । अर्कोतिर दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन हुनसक्यो र आवश्यक स्रोतसाधनको व्यवस्थापन हुनसक्यो भने भन्सार कार्यालयले लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सक्नेछ ।” उहाँ भन्नुहुन्छ, “भन्सारलाई आधारभूत कुराहरूको अभाव छ । जुन कुराले हामीले गर्नैपर्ने कामहरूलाई पनि निरन्तरता दिन सकेका छैनौं ।” भन्सार कार्यालय भित्रका गोप्य कुराहरूको चुहावटले पनि चोरीपैठारीमा संलग्न भएकाहरूलाई फाइदा हुने गरेको शाहीको बुझाई छ । कार्यालय प्रमुख शाहीले यतिबेला कैलालीको सत्ती भन्सार कार्यालय र बर्दियाको राजापुर भन्सार कार्यालयको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । उहाँ दिन बिराएर दुई भन्सार कार्यालयको काममा सहजीकरण गर्दै आउनुभएको छ ।
आर्थिक वर्ष २०८५/०७६ मा मुल भन्सारको रुपमा स्तरोन्नति भएको भन्सार कार्यालयले त्यसपछिको एक आर्थिक वर्षमा मात्रै लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको भन्सार कार्यालयले अन्य वर्षमा लक्ष्य पूरा गर्न सकेको छैन । भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा १४ करोड २३ लाख ४८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १५ करोड ८३ लाख ७ हजार अर्थात १११ प्रतिशत राजस्व संकलन भएको थियो । त्यसैगरी लक्ष्य अनुसार हेर्दा आर्थिक वर्ष २०५७/०७६ मा ६३ दशमलव २३ प्रतिशत, २०६७/०७७ मा ७९ दशमलव ५० प्रतिशत, २०७८/०८९ मा ५२ प्रतिशत र आर्थिक वर्ष २०८९/०८० मा ४४ प्रतिशत राजस्व संकलन भएको थियो ।