आन्तरिक आयको स्रोत खोज्दै नगरपालिका

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर २९ साउन /
कैलालीको टीकापुर नगरपालिकाले आन्तरिक स्रोत बढाउनको लागि नगर भित्रका सम्भावनाहरुको खोजी सुरु गरेको छ । कैलालीको दोस्रो पुरानो नगरपालिका समेत रहेको नगरपालिकाले आन्तरिक आयको क्षेत्र मजबुत बनाउनका लागि लगानी गर्नसक्ने क्षेत्रहरुसँग छ्लफल सुरु गरेको हो ।
नगरपालिकाको अहिलेको आन्तरिक आयको स्रोत करिब ७ करोड छ । आन्तरिक आयका स्रोतहरुको पहिचान हुन नसक्दा नगरपालिकाको स्रोतको पाटो मजबुत बन्न सकेको छैन । कृषि, पर्यटन, उद्योग र व्यापारलाई मुख्य प्राथमिकतामा राखेको नगरपालिका त्यसैअनुसारका निकायसँग समन्वयका लागि छ्लफल सुरु गरेको नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारु बताउनुहुँन्छ । नगरपालिकामा पर्यटन क्षेत्रको लागि थुप्रै सम्भावनाहरु छन् । टीकापुर पार्क सबैभन्दा ठूलो आम्दानीको स्रोत बन्दै आएको छ । पार्कमा आन्तरिक तथा बाह्य गरि वार्षिक करिब एक लाख भन्दा बढी पर्यटकहरु आउने गरेका छन् । नगरपालिकाले पार्कबाट वार्षिक ५० लाखसम्म आम्दानी गर्दै आएको छ । त्यस्तै अन्य थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि नगरपालिकाले साझेदारी संस्थाको खोजी गर्दै आएको छ ।
नगर प्रमुख थारुले आफ्नो नगरपालिकामा लगानीका क्षेत्रहरु विस्तारका लागि सम्भावना भएका लगानीकर्ता र संघसंस्थाहरुसँग छ्लफल चलाएको बताउनुभएको छ । उहाँले बैंक तथा बित्तीय संस्था, निजि लगानिकर्ता तथा गैरसरकारी संस्थाहरुसँग समन्वय गरेर लगानी बढाउने र विकासलाई पनि द्रुत गतिमा अगाडि लैजाने रणनीतिमा नगरपालिका रहेको बताउनुभएको छ । “सम्भावना धेरै छन् । तिनको पहिचान र परिचालनमा मात्रै समस्या देखिएको हो ।” नगर प्रमुख थारुले भन्नुभयो, “नगरपालिकाले साझेदार संस्थाहरुसँग समन्वय गर्न सक्नेसँग साझेदारीमा लगानी गर्नका लागि पनि योजना बनाएको छ ।”
नगरपालिकाले लगानी भित्र्याउनका लागि लगानी सम्मेलनको तयारीलाई पनि तिब्र बनाएको छ । देशभरका उद्योगीलाई टीकापुरमा लगानी गर्न बाताबरण सिर्जना गर्नुको साथै लगानी गर्नका लागि प्रेरित गर्ने उद्देश्यले लगानी सम्मेलनको तयारी गरिएको नगर उपप्रमुख खडक बहादुर शाहले बताउनुभएको छ । “हामी केही समयपछि लगानी सम्मेलन गरेर टीकापुरमा ठूलो लगानी भित्र्याउने प्रयत्नमा लागेका छौं । त्यसका लागि संघ र प्रदेश सरकारसँगै ठुला व्यवसायीहरुसँग समन्वय र छलफलमा जुटेका छौं ।” नगर उपप्रमुख शाहले भन्नुभयो, “लगानी भित्र्याउन सकेपछि रोजगारीका अवसर सिर्जना हुनुको साथै आयआर्जनका गतिविधि चलायमान हुने छन् भने त्यसले नगरपालिकाको आन्तरिक आयको स्रोत पनि मजबुत बन्दै जानेछ ।”
नगरपालिकाले लगानीकर्तालाई आकर्षित गर्नका लागि औद्योगिक ग्रामको स्थापनाको तयरी पनि थालेको छ । संघीय सरकारसँग आवश्यक परामर्श गरेर औद्योगिक ग्राम स्थापनाको लागि आवश्यक प्रक्रिया अगाडि बढाएको उपप्रमुख शाहले बताउनुभयो । “एक निश्चित क्षेत्रलाई औद्योगिक ग्रामको रुपमा विकास गर्नका लागि संघीय सरकारको मापदण्डअनुसार काम अगाडि बढेको छ ।” नगर उपप्रमुख शाहले भन्नुभयो, “त्यसपछि हामी बलियो भएर प्रस्तुत हुनसक्छौं । परनिर्भरताले हामिले चाहेको पालिकाको विकास सम्भव छैन ।”
सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मत्री डा. रणबहादुर रावलले नगरपालिका आर्थिक गतिविधिलाई चलायमान बनाउनको लागि विमानस्थल र लुम्बिनी प्रदेश जोड्ने कर्णाली नदीको सन्कट्टीको पुल महत्त्वपूर्ण हुने बताउँदै त्यसको सफलता हासिल भैसकेको बताउनुभएको छ । उहाँले विमानस्थल सञ्चालनका लागि स्थानीय सरकारले चासो राखे प्रदेश र संघीय सरकारले सहयोग गर्ने बताउँदै तिनै तहको सरकारको समन्वयले नगरपालिकाले पछ्याएको गन्तव्य पूरा हुने बताउनुभयो ।
नगरपालिकाले पर्यटकीय क्षेत्रहरुलाई पनि व्यवसायीकिकरण गर्नेगरी योजना बनाउन थालेको छ । सबैभन्दा बढी सम्भावना नगरपालिकामा पर्यटन क्षेत्र नै भएकोले त्यसलाई व्यवस्थित गरेर प्रचारप्रसारमा कमि गर्न नहुने नागरिक अगुवा भिमराम चपाई बताउनुहुँन्छ । “टीकापुरमा लगानीका सम्भावना धेरै छन् तर, त्यसको सुनिश्चितता र सुरक्षाको ग्यारेन्टी स्थानीय सरकारले लिनसके धेरै राम्रो परिणाम आउन सक्छ ।” चपाईले भन्नुभयो, “लगानी गर्ने बाताबरण बनाउनुपर्यो । केही नगरपालिकाको मातहतमा रहेका संरचनाहरुलाई सिमित समयको लागि निजि क्षेत्रलाई जिम्मा दिनसके पनि नगरपालिकाको आन्तरिक आयस्रोत मजबुत बन्न सक्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *