कसले तिर्छ साढे ३६ लाख बक्यौता

शेयेर गर्नुहोस


टीकापुर २१ साउन/
टीकापुर अस्पताल परिसरबाट हटाइएका व्यावसायिक पसलहरुबाट अस्पतालले साढे ३६ लाख बक्यौता उठाउन बाँकी देखिएको छ ।
अस्पतालको जग्गा भाडामा लिएर व्यवसाय गरेका तथा अस्पतालकै भवनमा व्यवसाय चलाएका ६६ जना व्यापारीबाट साढे ३६ लाख भन्दा बढी बक्यौता उठाउन बाँकी देखिएको हो । २०७३ सालदेखि अस्पतालको खाली जग्गामा अस्पताल प्रशासनसँग मासिक भाडा तिर्ने सम्झौता गरेर व्यवसाय चलाएका ६६ जना व्यवसायीबाट ३६ लाख ५५ हजार पाँच सय ९० रुपैयाँ बक्यौता उठाउन बाँकी छ । त्यसरी भाडा नतिरेर जमिन खाली गरेर गएका कैयौं व्यवसायीले अहिले व्यवसाय नै छोडिसकेका छन् भने कैयौं अस्पतालको सम्पर्क भन्दा बाहिर छन् ।
अस्पतालकै भवन भाडामा लिएर व्यवसाय गरेका केही व्यक्ति अस्पतालमा अहिल पनि कर्मचारीको रुपमा कार्यरत छन् । उनीहरू कार्यालय समयभन्दा बाँकी समय आफ्नो व्यवसाय गर्छन् । २०८० सालमै अस्पताल परिसरमा ती व्यवसाय खाली गराउन ताकेता गर्ने अस्पताल प्रशासनले बक्यौता उठाउनका लागि भने अझै ताकेता गरेको देखिँदैन । समाधान न्युज दैनिकले सुचनाको हक प्रयोग गरेर प्राप्त गरेको विवरण अनुसार सबैभन्दा बढी बक्यौता प्रेम ठकुरीको छ । जसले अस्पताललाई चार लाख चार हजार दुई सय २० रुपैयाँ तिर्नुपर्ने देखिन्छ । त्यसपछि सरोज ट्रेड जोनको नाममा देखिएको छ । २०७७ मंसिरमा सम्झौता गरेको जोनले दुई लाख १२ हजार ८ सय १५ रुपैयाँ तिर्न बाँकी छ । जसलाई अस्पतालले मासिक पाँच हजार चार सय ४५ रुपैयाँ भाडा तिर्ने गरी सम्झौता गरेको थियो ।
अधिकांश व्यवसायीले अस्पताललाई ५० हजार भन्दा बढी तिर्न बाँकी छ । कमलदिप फार्मेसीले ९५ हजार ८ सय ४०, आरके प्याथोलोजीले ६४ हजार ६ सय ८०, जनलक्ष्मी प्याथोलोजीले ४९ हजार ७ सय ६० रुपैयाँ अस्पताललाई भुक्तानी गर्नुपर्ने देखिन्छ । काठमाडौं सेल (राजकुमार सापकोटा) ले एक लाख ५ हजार ९ सय ५२ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको देखिन्छ भने कमल बाकस उद्योगको नाममा पनि एक लाख ९९ हजार ६ सय १८ रुपैयाँ बक्यौता छ ।
तरकारी पसल चलाएका परशुराम चौधरीले ५० हजार ९ सय ९०, लोकराज खनालले ७९ हजार तीन सय ९२, राजेन्द्र थापाले ८८ हजार ९ सय ७२, हरीराम चौधरी ५६ हजार ८ सय ५८, मंगली थारु ५० हजार एक सय ५०, जमाने कामीको ५६ हजार ९८ रुपैयाँ अस्पतालमा भाडा बापगको बक्यौता रहेको छ ।
उता, जमान सिंह बटालाको नाममा एक लाख १० हजार चार सय ११, टेकबहादुर रावलको एक लाख ३८ हजार तीन सय, जीवन गौचनको एक लाख ८८ हजार पाँच सय ५२, विनोद प्रसाद उपाध्यायको ६४ हजार ७ सय ८१, कुकुलाल चौधरीको ६४ हजार एक सय ३६, ज्ञान् बहादुर चौधरीको ६२ हजार ९ सय ६७, भावना शाहीको एक लाख ७३ हजार दुई सय ५०, लालबहादुर चौधरीको एक लाख ७८ हजार ९ सय ८४, रमेश रावलको नाममा ७७ हजार ६ सय ३०, सेबु जनरल स्टोरको एक लाख ९८ हजार र रविना कटेजको ५० हजार बक्यौता देखिएको छ ।
अन्य अस्पतालको परिसरमा अस्पतालसँंग भाडा तिर्ने सम्झौता गरेर बसेका कैयौं व्यापारीले भाडा तिरेका छैनन् । जुन महालेखाले बर्सेनि असुल उपरका लागि बेरुजु देखाउँदै आएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर भण्डारीले अस्पताल प्रशासनले बक्यौता तिर्नका लागि ताकेता गर्दै आएको बताएका छन् । अस्पताल प्रशासनका अनुसार कैयौं व्यापारी सम्पर्क भन्दा बाहिर भैसकेका छन् ।
तत्कालीन अस्पताल व्यवस्थापन समितिको अध्यक्ष झपट बहादुर सोडारीको कार्यकालमा अस्पताल परिसर बाहिर सडकसँग जोडिएका सयौं व्यावसायिक संरचना खाली गराइएको थियो । संरचना खाली गराउँदा बक्यौता रकम नतिरेरै व्यापारीलाई त्यहाँबाट किन जान दिइयो भन्ने प्रश्न नागरिकस्तरमा उठेको छ । “नेपाल सरकारको निर्णय अनुसार सबै व्यावसायिक संरचना हटाइएका हुन ।” तत्कालीन अध्यक्ष सोडारीले भने, “अब भाडा बापतको बक्यौता कसले तिर्यो, तिरेन भनेर समितिले हेर्ने होइन, त्यो काम अस्पताल प्रशासनको हो ।” अस्पतालमा ठूलो रकम बक्यौता रहँदा बर्सेनि अस्पतालको बेरुजुको हिस्सा बढ्दै गएको देखिन्छ ।

ताजा खबर

चार अस्पताल विश्वविद्यालयमा गाभिने

कसले तिर्छ साढे ३६ लाख बक्यौता

बजारका चौपाया व्यवस्थापन गरिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *