उत्पीडित जनताको लागि जनयुद्ध महत्त्वपूर्ण उपलब्धि हो : चौधरी

शेयेर गर्नुहोस


टीकापुर ३० भदौ /
थारु राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय महासचिव हरिराम चौधरी उत्सवले थारु लगायत उत्पीडनमा परेका समुदायको चेतनाको स्तर वृद्धिमा माओवादीको १० वर्षे सशस्त्र जनयुद्धको महत्त्वपूर्ण भुमिका रहेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रको भातृसंगठन मोर्चाको दोस्रो टीकापुर नगर सम्मेलन सम्मेलनलाई सम्बोधन गर्ने क्रममा केन्द्रिय महासचिव चौधरीले माओवादीले सशस्त्र जनयुद्ध सुरु गरेसँगै राज्यको पहुँचबाट बाहिर रहेर अरुको कमैया भएर बाचेका समुदायको चेतनाको स्तर निकै माथी पुगेको बताएका हुन । “जुन परिवर्तन देशले चाहेको थियो त्यसमा माओवादी सशस्त्र जनयुद्धको सुरुवात भयो । त्यसैबाट एउटा व्यवस्थाको अन्त्य भएर अर्को व्यवस्थाको सुरुवात भयो ।” उनले भने, “आजको व्यवस्थामा हामी बोल्न पाएका छौँ । अधिकारका लागि लड्न पाएका छौँ । आफ्ना एजेण्डा राख्न पाएका छौँ ।”
पार्टीको केन्द्रिय सदस्य समेत रहेका चौधरीले माओवादी सशस्त्र जनयुद्धमा कैलालीमा मात्रै आफ्नो अधिकारका लागि लड्दा चार सय भन्दा बढी थारुले बलिदान दिएको स्मरण गर्दै माओवादी केन्द्रको एजेनण्डालाई आफ्नो बनाएर थारुको भावना बेचेर आफू नेतृत्वको मालिक बन्नेहरुले प्राप्त हुने अधिकारलाई कुण्ठित गर्ने काम गरेको आरोप लगाएका छन् । थारु अधिकार सुनिश्चित गर्नका लागि थारु एकता आवश्यक रहेको चौधरीले बताए ।
सम्मेलनमा मोर्चाका केन्द्रिय सचीव दुर्गा थारुले ढुङ्गे युग देखि तराईमा थारुको इतिहास रहेको बताउँदै थारु नै तराईको खास धर्तिपुत्र भएको बताए । उनले पहिलेको समयमा थारु समुदायलाई जिमदारहरुले दास बनाएर राखेको त्यसको प्रतिकारमा कयौं थारुले ज्यान गुमाएको बताएका छन् । कार्यक्रममा बोल्दै उनले माओवादी सशस्त्र जनयुद्धको उपज थारु राष्ट्रिय मुक्ति मोर्चाको उदय भएको बताए । “थारुहरुको पहिचानका लागि संविधान निर्माण हुँदै गर्दा थारुवान राज्यको परिकल्पना माओवादीले गरेको थियो । त्यसमा एमाले र काँग्रेसले साथ दिएन र अधिकारको लडाई लड्दै गर्दा टीकापुरमा घटना घटाइयो ।” उनले भने, “त्यो पहिचान आन्दोलनमा लागेकाले घटाएको घटना होइन । त्यो थारुको अधिकारलाई कुण्ठित पार्ने षड्यन्त्रबाट घटाइएको घटना हो । जसले थारुको आन्दोलनलाई टुंगोमा पुग्नबाट रोक्यो ।”
अझै कैयौंमा सामन्ती प्रतिक्रियावादी सोच जीवित रहेको बताउँदै थारुले राजनीतिको नाममा जनतामा भावनामा भुलाउने काम भैरहेको बताएका छन् । नागरिक उन्मुक्ति पार्टी कुनै कार्यदिशा र एजेण्डा नभएको पार्टी भएको प्रतिक्रिया दिँदै नागरिक उन्मुक्ति पार्टीले बोल्दै आएको थारुहरुको अग्राधिकारको एजेण्डा थारु राष्ट्रिय मुक्ती मोर्चाले २०५४ सालबाट उठाउँदै आएको बताएका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हेमराज भट्टराईले हिजोका दिनमा राजसँग जि हजुरी गर्नेहरू थारुको अधिकारको लागि लड्न नसक्ने भन्दै थारुको अग्राधिकारको लागि हिजो देखि आजसम्म लड्दै आएको पार्टी माओवादी भएको बताएका छन् । त्यसैगरी अर्का केन्द्रिय सदस्य कृष्ण कुमार चौधरीले थारु समुदाय राज्यमा पहुँच नभएकै कारण पछाडि परेको बताएका छन् । उनले राजासँग प्रधानमन्त्री माग्नेहरु थारुलाई अधिकार प्रत्याभूत गराउन नसक्ने बताएका छन् ।
कार्यक्रममा अन्य वक्ताहरुले पनि धारणा राखेका थिए । मोर्चाको आयोजक समिती संयोजक रामबहादुर चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जितबहादुर चौधरीले स्वागत गरेका थिए भने सञ्चालन राजाराम चौधरीले गरेका थिए । सम्मेलनले जितबहादुर चौधरीको अध्यक्षतामा २५ सदस्यीय मोर्चाको नगर समिती चयन गरेको छ । जसको उपाध्यक्षमा तेजु चौधरी, सचीव दुर्गा चौधरी, कोषाध्यक्षमा सुरज चौधरी चयन भएका छन् । तीन सय ६१ जना प्रतिनिधि पर्यवेक्षकको सहभागितामा सम्मेलन सम्पन्न भएको पार्टीका प्रदेश सदस्य दयाराम संज्यालले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *