एकता महाधिवेशनको तयारीमा कम्युनिस्ट पार्टी

शेयेर गर्नुहोस


टीकापुर २८ पुस/

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल आउने जेठमा हुने एकता महाधिवेशनको तयारीमा जुटेको छ ।
मोहन वैध नेतृत्वको क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी बहुमतको पार्टी एकतासँगै अन्य साना कम्युनिस्ट पार्टीलाई एकतामा ल्याएर जेठमा एकता महाधिवेशनको तयारी सुरु गरेको हो । त्यसैअनुसार पार्टीले केन्द्रिय स्कुलिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ । शुक्रवार टीकापुरमा पत्रकार सम्मेलन आयोजना गर्दै पार्टीले कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रवास (क) को स्कुलिङ कार्यक्रम आज सकिने पार्टीका कार्यालय सदस्य सुदर्शनले बताएका छन् । उनले यसअघि चार ठाउँमा पार्टीको स्कुलिङ सञ्चालन गरिसकेको बताउँदै शोषण रहित समाजको परिकल्पना सहित २१ जिल्लालाई नमुना जिल्ला बनाउने लक्ष्यमा पार्टीले काम गरिरहेको बताएका छन् ।
“हामी विगतको इतिहासलाई समिक्षा गरेर अगाडि बढ्ने तयारी गरिरहेका छौँ । जसका लागि संसदीय व्यवस्थाको खारेजी सहित बैज्ञानिक समाजवाद, आर्थिक क्रान्ति र जनसांस्कृतिक क्रान्तिलाई सँगसँगै लैजाने हाम्रो लक्ष्य रहेको छ ।” कार्यालय सदस्य सुदर्शनले भने, “अब राजनीतिक क्रान्तिले मात्रै सबै कुराको समाधान हुन नसक्ने हाम्रो ठम्याइ रहेको छ ।” साना कम्युनिस्ट पार्टीसँग एकताको पहलमा रहेको पार्टीले ठुला कम्युनिस्टसँग एकताको पहल नगर्नुको कारण के हो भन्ने पत्रकारको प्रश्नमा उनले ठुला कम्युनिस्ट पार्टीहरु नामका मात्रै कम्युनिस्ट भएको भन्दै उहाँहरुसँग आफ्नो कार्यदिशा नमिल्ने बताएका छन् ।
“जनयुद्धको नेतृत्व गरेका प्रचण्ड र बाबुरामको गलत कार्यदिशाका कारण कम्युनिस्ट आन्दोलन नै धोष्त हुने अवस्थामा पुग्यो । जुन जनयुद्धको कार्यदिशा थियो त्यसैलाई कार्यान्वयन गरेर अगाडि बढ्न सकेको भए आज यस्तो अवस्था आउने थिएन होला ।” उनले भने, “नेपाली राजनीतिमा गलत प्रवृत्ति हावी हुँदै जानू, त्यसको स्वार्थमा ठुला राजनीतिक दल लिप्त हुनुले देशको अवस्था नाजुक बन्दै जाँदा अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै हामीले हाम्री एकतालाई मजबुत बनाउँदै लगेका हौं ।” उनले समाजका गलत प्रवृत्तिका विरुद्धमा पार्टीले अहिले पनि अग्र पंक्तिमा रहेर आवाज उठाउँदै आएको बताएका छन् । कार्यालय सदस्य सुदर्शनले नेपालमा राजतन्त्रको परिकल्पना हुनथालेको भन्ने पत्रकारको चासोलाई मध्यनजर गर्दै भने, “राजा आउने कुरा सपना मात्रै हो । यो मुद्दा उठाउनेहरुले सस्तो लोकप्रियताका लागि मात्रै मुद्दाको उठान गरेका छन् । तर नेपालमा अबको आवश्यकता भनेको बैज्ञानिक समाजवाद हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *