शेयेर गर्नुहोस
पदमराज जैशी, भजनी ०२ पुस /
रासायनिक मलको चरम अभाव हुँदा किसानहरू निकै मारमा परेका छन् ।
हिउँदे खेती लगाएका किसानलाई यतिबेला रासायनिक मलको चरम अभाव देखिएको हो । जेनतेन खेती लगाएका किसान मलको खोजीमा भौतारिनु पर्ने अवस्था आएको छ । मल बिक्री गर्ने सहकारीहरुमा दैनिक किसानको भिड लाग्ने गरेको छ । दिनभर मलको लागि लाइनमा बसेका कैयौं किसान रित्तो हात घर फर्किने गरेका छन् भने मल पाएका किसानले पनि मागअनुसार मल पाउन सकेका छैनन् ।
भजनी नगरपालिका वडा नं. ८ काँढा ढिकका दिप बहादुर विश्वकर्मा सोमबार भजनी बजारमा रहेको साना किसान सहकारीमा मलको लागि पुगेका थिए । दिप जस्तै मलको लागि सहकारीमा हजारौं किसानको भिडभाड थियो । सिमित मल आएको भए पनि मल पाइने आशामा सहकारी पुगेका अधिकांशले मल पाएनन । मल पाएका किसानले पनि एक कट्टा अर्थात ५० केजीमा चित्त बुझाउनुपर्यो । “एक कट्ठा मलका लागि तछाडमछाड गर्नुपर्ने स्थिति छ ।त्यो एक कट्टाले आवश्यकता पुरा गर्ने पनि होइन ।” उनी भन्छन्, “एकै कट्टाको लागि पनि किसानले तछाडमछाड गर्नुपर्ने अवस्था बनेको छ । एउटा किसानलाई १०/१५ कट्टा रासायनिक मल चाहिएको छ ।”
त्यहाँ दिप जस्तै मलकै लागि पुगेका वडा नं. १ का राजेश चौधरीले बल्लतल्ल एक कट्टा मल पाए । पाएको एक कट्टा मलले के गर्ने भन्ने अन्योल उनमा देखिन्थ्यो । झण्डै सात बिघा क्षेत्रफलमा खेती गर्दै आएका राजेश खेती लगाएर पछुतो मानिरहेका छन् । “सधैं मल हाल्ने बनाएको खेतमा मल नभएर उब्जनी हुँदैन । अहिले पनि सिँचाइ गरेको गहुँ मलको अभावमा पहेँलो पर्न थालेको छ ।” उनले भने, “अब एक कट्टा मलले कति खेतमा पुग्ला ?” सरकारले मलको मागलाई पुर्ती गर्न नसक्ने स्थिति भए भारतिय बजारबाट किसानहरूलाई आवश्यकताको आधारमा आपूर्ति गर्न दिनुपर्ने माग राजेशको छ ।
रासायनिक मलको समस्यामा भजनीका किसान मात्रै नभई कैलालीका अधिकांश किसानले भनेअनुसार मल पाउन सकेका छैनन् । टीकापुरमा पनि किसानले कैयौंपटक सहकारी घेराउ गरिसकेका छन् । सहकारीमा मल आएको सुन्नासाथ शेयर सदस्यको भागदौड चल्ने गरेको छ । “भन्दा कृषिबाट समृद्धि सम्भव छ बन्ने कुरा राजनीतिक दल अनि सरकारले गर्दै आएको हुन्छ । यहाँ किसानले एक बोरा मल समयमा पाउन सकेको छैन ।” कृषक हेमराज चौधरीले भने, “आज मल नपाएरै कैयौं किसानले खेती गरेका छैनन् । खेती गरेकाहरु पनि पछुताउने स्थिति बनेको छ । अझै हाम्रो समृद्धिको सपना जारी छ ।”
रासायनिक मल वितरणमा एकद्वार प्रणाली लागू भएपछि झन समस्या भएको किसानहरूको गुनासो छ । जिल्लाले
स्थानीय तहलाई कोटा अनुसार रासायनिक मल उपलब्ध गराउँदै आएको छ । त्यसलाई स्थानीय तहले सहकारीलाई भाग लगाएर वितरण गर्ने गरेका छन् । “एकपटकमा एकदुई सय बोरा मल एउटा सहकारीले पाउने गरेको छ । त्यहीँ सहकारीमा हजारभन्दा बढी शेयर सदस्य हुन्छन् । त्यो एकदुई सय बोरा मल कसलाई दिने, कसलाई नदिने ? निकै तनाब हुने गरेको छ ।” लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारीका प्रबन्धक यज्ञराज खनाल भन्छन्, “हामीले माग गरेअनुसारको मल एकैपटक आएको भए सहज हुन्थ्यो ।”










