शेयेर गर्नुहोस
टीकापुर २६ जेठ /
नेकपा एमाले टीकापुर नगर कमिटीले टीकापुर नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
नगर प्रमुख रामला डगौरा थारुलाई प्रमुख प्रशासकीय अधिकृत दमन सिंह चौधरी मार्फत ज्ञापनपत्र बुझाउँदै नेकपा एमाले टीकापुर नगर कमिटीले ध्यानाकर्षण गराएको हो । नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को हिउँदे अधिवेशनबाट वडा नं. १ लाई चार वडामा विभाजन गर्ने निर्णय भएअनुसार आगामी आर्थिक वर्षमा वडा नं. १ लाई ४ वडाको अवधारणामा चारवटा गौरवका आयोजना बनाई बजेट सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।
नगर कमिटी अध्यक्ष लक्ष्मण थापाद्वारा जारी गरिएको ज्ञापनपत्रमा नगरपालिकाको चालू आर्थिक वर्षमा आन्तरिक स्रोतका मुख्य आधार ढुङ्गा, गिट्टी, बालुवा, टीकापुर पार्कको फलफूल बगैंचा, पार्कसँगै रहेको आइल्याण्ड, दहत्तरबहत्तर, सनकट्टी, दौलतपुर जस्ता ठेक्का नहुँदा राजस्वमा कमि आउनुका साथै समग्र नगरपालिकाको विकास निर्माणका कामहरू प्रभावित भएको अवगत गराउँदै आगामी दिनमा समयमै स्रोतको सुनिश्चितताका सवालमा नगरपालिकालाई गम्भीर हुन आग्रह गरिएको छ । चालू आर्थिक वर्षमा नै नगर प्रमुख / उपप्रमुख नाममा भागबण्डा गरी करोडौं रकन आफ्ना नजिकका र अनुत्पादक क्षेत्रमा विनियोजन गरेर दुरुपयोग गरेको हुँदा आगामी दिनमा त्यस्ता खालका गतिविधिलाई निरुत्साहित गर्न पनि भनिएको छ ।
पालिका भित्रका सरकारी सेवा प्रवाह गर्ने निकायबाट प्रशासनिक ढिलासुस्तीले सेवा प्रवाहमा जनगुनासो रहेको भन्दै सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन आवश्यक पहल गर्न पनि ज्ञापनपत्र मार्फत भनिएको छ । त्यसैगरी किसानहरूलाई मलखाद र बीउबिजन समयमै उपलब्ध गराउन पनि माग गरिएको छ । संघसंस्थाहरुको नाममा निर्माण भएर प्रयोगविहीन बनेका भवनहरुलाई सञ्चालनमा ल्याउन र स्वास्थ्य क्षेत्रको प्रभावकारितालाई ध्यान दिन पनि नगरपालिकालाई भनिएको छ । ज्ञापनपत्रमा महालेखाले औल्याएका सुझावहरुलाई कार्यान्वयन गर्दै वित्तीय अनुशासन र सुशासनको क्षेत्रलाई बलियो बनाउन आग्रह गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चौधरीले आन्तरिक स्रोतको व्यवस्थापनमा निकै चिन्तित भएको बताएका छन् । “आज कैयौं आन्तरिक स्रोतको ठेक्का नलाग्दा त्यसको जवाफ दिन गाह्रो भैरहेको छ । हिजो अमानतबाट भएको प्रक्रियाको पनि जवाफ दिनु परिरहेको छ ।” प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने, “त्यसैको परिणामस्वरूप हुनसक्छ यसवर्ष लक्ष्य अनुसारको राजस्व संकलन पनि हुन सकेको छैन ।” नगरपालिकाले हालसम्म पाँच करोड राजस्व मात्रै संकलन गर्न सफल भएको छ । सात करोड ५० लाख लक्ष्य लिएको नगरपालिकाको सपिङ्ग कम्प्लेक्सकोएक करोड ८५ लाख रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।
प्रमुख प्रशासकीय अधिकृत चौधरीले आउँदो आर्थिक वर्षको साउनमै आन्तरिक आयका ठेक्का सम्झौताको प्रक्रिया अगाडि बढाएर लक्ष्य अनुसारको राजस्व संकलनलाई प्राथमिकता दिइने बताएका छन् ।