एमाले भन्दा ठूलो दल भयो एकीकृत समाजवादी

शेयेर गर्नुहोस

समाधान समाचार, टीकापुर २० भदौ / सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका सबैभन्दा ठूलो दल एमाले विभाजन भएसँगै एमाले भन्दा नेकपा एकीकृत समाजवादी पार्टी ठूलो दल बनेको छ ।
सुदुरपश्चिम प्रदेशका सांसद दीर्घबहादुर सोडारी, तारा लामा तामाङ र प्रकाश रावल नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएसँगै एमाले भन्दा ठूलो दल बनेको हो । उनीहरुले आइतबार निर्वाचन आयोगको प्रदेश कार्यालय धनगढीमा पुगेर सनाखत गराएका थिए।
राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले विभाजन भएपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा सामेल हुन चाहे भदौ २२ गतेसम्म सनाखत गर्न समय तोकेको थियो । सोही अनुसार सुदूरपश्चिम प्रदेशसभामा रहेका एमालेका १० सांसदले यसअघि नै नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका थिए ।
त्यस्तै आइतबार नै नेकपा एमालेबाट निर्वाचित भएका टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गंगाराम आचार्यले पनि नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । उनीसंगै निर्वाचित भएका जिला समन्वय समितिका सदस्य ललित साउँद र वडा सदस्य तथा कार्यपालिका सदस्य शोभा नगार्जीले पनि नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । जिल्ला समन्वय समितिका सदस्य ललित साउँदले आफू लगाएत समितिका ४ जनाले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको बताएका छन् । “२२ गतेसम्म धेरैले एमाले छोड्छन होला । जिल्ला समन्वय समितिमा हामी ६ जना थियौं । ४ जनाले सनाखत गरिसकेका छौ । सम्भवत एकजनाले भोलि सनाखत गर्नुहुन्छ होला।” साउँदले भने, “प्रमाणपत्र पहिले नै पेस भैसकेका थिए । आइतबार सनाखत गर्नको लागि मात्रै निर्वाचन कार्यालय गएका थियौं ।”
यसअघि एमालेबाट निर्वाचित भएका प्रदेश सभाका सांसद पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउन, चुनकुमारी चौधरी, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा सामेल भइसकेका थिए । अब नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेशसभामा १३ सांसद भएका छन् भने अब एमालेमा १२ सांसदमात्र छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *