शेयेर गर्नुहोस
टीकापुर १४ असार /
यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईईको) को नतिजाले शिक्षामा सुदूरपश्चिमले फड्को मारेको देखाएको छ ।
सुदूरपश्चिमबाट सहभागी परीक्षार्थीको ठूलो संख्या सो परीक्षा कटाउन सफल भएका छन् । देशका सात प्रदेशमध्ये परीक्षाको ग्रेड प्रणालीमा समावेश हुनेको संख्या सुदूरपश्चिममा दोस्रो रहेको छ । माध्यामिक शिक्षा बोर्डले प्रकाशित गरेको नतिजा अनुसार ग्रेडमा समावेश हुने परीक्षार्थीको संख्याका आधारमा सुदूरपश्चिम देशकै दोस्रो प्रदेश बनेको छ ।
बोर्डका अनुसार सुदूरपश्चिमका ५९ हजार ८ सय ४ परीक्षार्थी ग्रेडमा परेका छन् । सुदूरपश्चिमलाई उछिन्दै बागमति प्रदेशका एक लाख १९ हजार ५ सय १७ परीक्षार्थी ग्रेडमा परेका छन् ।
कोसी प्रदेशका ४७ हजार ८ सय ३५, मधेस प्रदेशका ५९ हजार ७ सय ४९, गण्डकीका ४७ हजार ८ सय ४९, लुम्बिनीका ५७ हजार ६ सय ८७ र कर्णाली प्रदेशका ४६ हजार ४ सय ५५ परीक्षार्थी ग्रेडमा परेका छन् ।
गत वर्षको चैत ७ गतेदेखि सुरु भएको एसईईमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना थिए । यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडमा समावेश भएका छन् । यो संख्या गत वर्षको तुलनामा झन्डै १४ प्रतिशतले बढी हो ।