ऐतिहासिक पुरैना तालको रेखांकन सुरु

शेयेर गर्नुहोस


झलनाथ खनाल, भजनी १४ फागुन /
नेपालकै सबैभन्दा लामो जैविक मार्ग वसन्ता जैविक मार्गसँग जोडिएको कैलालीको भजनी नगरपालिका वडा नं. ७ मा रहेको ऐतिहासिक पुरैना तालको रेखांकनको काम हुने भएको छ ।
२०६४/०६५ सालमा कान्द्रा नदीमा आएको बाढीका कारण ताल पुरिएर त्यसको अस्तित्व संकटमा परेको थियो । ताल पुरिएर स्थानीयको अतिक्रमणमा परेको ताललाई पुनर्जीवन दिनका लागि रेखांकनको काम अगाडि बढाइएको हो । नापी कार्यालय कैलालीले तालको रेखांकनका लागि दुईजना अमिनलाई कार्यस्थलमा पठाएको छ । नापी कार्यालय कैलालीका प्रमुख इन्द्र बहादुर देउवाले डिभिजन वन कार्यालय पहलमानपुर कैलालीको पत्रअनुसार तालको रेखांकनका लागि दुईजना अमिन खटाइएको बताउनुभयो । “हाम्रो कार्यक्षेत्र भित्र पुरैना ताल पर्ने भएका कारण हामीले तालको नक्साअनुसारको रेखांकन गर्ने काम गर्ने हो ।” नापी अधिकृत देउवाले भन्नुभयो, “त्यसपछिको बाँकी काम स्थानीय तह र वन कार्यालयले गर्नुहुन्छ होला ।”
तालको रेखांकनको लागि फिल्डमा खटिएका अक्षय कठरियाले स्थानीय तहसँग समन्वय गरेर काम अगाडि बढाइएको बताउनुभएको छ । उहाँले नगरपालिकाका जनप्रतिनिधिहरुसँग आवश्यक छलफल पछि तालको नक्साअनुसारको रेखांकन सुरु गरिएको बताउनुभयो । “हामीले नक्साअनुसार तालको रेखांकन गर्ने हो । त्यसका लागि हाम्रो टिमसँगै जनप्रतिनिधिहरु पनि सँगै हुनुहुन्छ ।” कठरियाले भन्नुभयो, “स्थानीय नागरिकहरुसँग पनि सहजीकरण गरेर कार्यालयबाट पाएको जिम्मेवारी पूरा गर्छौं ।”
यसअघि कैलाली जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र लगायतको टोलिले तालको स्थलगत निरीक्षण गर्नुभएको थियो । त्यसबेला माघ महिना भित्र तालको रेखांकन गर्दै तालको क्षेत्र छुट्याउने सहमति स्थानीयसँग भएको थियो । अतिक्रमणमा परेको तालको जग्गामा हिउँदे बाली लगाइसकेको हुँदा बाली भित्र्याए पछि सो जग्गामा खेती नगर्ने भन्दै स्थानीयसँग सहमति समेत भएको थियो । त्यसैअनुसार तालको काम अगाडि बढाइएको भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले बताउनुभयो ।
“पुरैना ताल भजनीको मात्रै नभई सुदुरपश्चिम क्षेत्रकै महत्त्वपूर्ण जैविक क्षेत्र हो । यसको संरक्षणमा स्थानीय सरकारले सुरुदेखि नै प्रयास गर्दै आएको छ ।” उहाँ भन्नुहुन्छ, “त्यसमा स्थानीय नागरिकहरूले पनि साथ दिनुभएको छ । तालको जग्गा खाली भएपछि त्यसको उत्खनन र त्यसपछिको कामको लागि बजेटको बजेटको सुनिश्चितता भने हुन सकेको छैन ।” उहाँले बैशाखबाट तालको सबै जग्गा खाली हुने विश्वास व्यक्त गर्नुभएको छ ।
स्थानीय नागरिकहरू ताललाई पुनर्जीवन दिने कुरामा सकारात्मक देखिएका कारण तालको उत्खननको प्रक्रिया अगाडि बढाउन सकिएको सव डिभिजन वन कार्यालय भजनीका प्रमुख मोहम्मद शाह हुसेन भिकरानीले बताउनुभयो । “पटकपटक स्थानीयसँग पुरैना तालको विषयमा छलफल हुँदा उहाँहरु सकारात्मक देखिनुभएको छ ।” प्रमुख शाहले भन्नुभयो, “सबैको साथ सहयोग भयो भने ताललाई पुरानै अवस्थामा फर्काउन समस्या हुँदैन भन्ने लाग्छ ।” उहाँले आआफ्नो क्षेत्रबाट तालको अस्तित्वलाई फर्काउन लाग्नुपर्ने पनि बताउनुभयो ।
भजनी क्षेत्रका लागि छुट्टै महत्त्व बोकेको पुरैन तालमा बाह्रै महिना सारस पाइन्थ्यो भने जलचर जनावरहरु र विभिन्न प्रजातीका चराहरुको बासस्थानको रुपमा पुरैना ताललाई लिने गरिन्थ्यो । सयौं बिघा क्षेत्रफलमा फैलिएको ताललाई उत्खनन गरेर मानव निर्मित ताल बनाउन सकेपछि पनि पर्यटकीय सम्भावनालाई बढाउन सकिने जानकारहरु बताउँछन् । पुरैना तालसँगै रहेको बञ्जरिया ताल अझै जिवित अवस्थामा रहेको छ । सो क्षेत्रमा भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट जंगली जनावरहरु पानीका लागि आउने गरेका छन् । तालले पुनर्जीवन पाउने भएपछि भजनीका स्थानीय खुशी भएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *