शेयेर गर्नुहोस
टीकापुर २२ भदौ /
कर्णाली नदीमा पानीको सतह बढेपछि टीकापुर नगरपालिका वडा नं. ८ पुदाल टोलमा नदीको पानी बस्तीमा पसेपछि स्थानीय त्रसित बनेका छन् ।
शनिबार राती कर्णाली नदीमा पानीको बहाव बढेपछि नदीको पानी बस्तीमा पसेपछि स्थानीय त्रसित बहेका हुन । कर्णाली नदीको उच्च जोखिममा रहेको वडा नं. ८ सहित, वडा नं. ५, ७ र ९ का स्थानीय पनि त्रसित बनेका छन् । वडा नं. ८ का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्लाले तटबन्ध गरेको बाधबाट पानी निस्किएको बताउँदै बाध फुटे ठूलो क्षति हुने बताएका छन् । उनले बर्सेनि नगरपालिकाको तल्लो क्षेत्रका नागरिकहरूले कर्णाली नदीको सम्भावित जोखिमको सामना गर्नुपर्ने स्थिति कायमै रहेको बताउँदै तीनै तहको सरकारसँग नदी नियन्त्रणका लागि हारगुहार गर्दा पनि कुनै सीप नलागेको बताएका छन् ।
“हामीले नदी नियन्त्रणका लागि राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना देखि प्रदेश सरकार र संघ सरकारमा कति बिन्ती बिसाएका छौँ, त्यो भनेर साध्य छैन ।” उनले भने, “जति बिन्ती बिसाउँदा पनि आश्वासन सधै सबैले दिने गरे पनि परिणाममा देखिने गरी कसैले काम गरेका छैनन् ।” अहिले पनि विकासका दृष्टिकोणले साविकको नारायणपुर र धनसिंहपुर गाविस निकै पछाडी रहेको वडा अध्यक्ष ठकुल्लाको भनाइ छ ।
आइतबार सो क्षेत्रको अनुगमन गरेका नगरपालिकाका कार्यवाहक नगरप्रमुख नगार्जीका अनुसार हुलाकी राजमार्गको शक्ति पुलभन्दा उत्तरतर्फ तठबन्ध गरिएको ठाउँमा तटबन्दबाट पानी रसाएर बस्तीतर्फ आएको छ । कर्णाली नदीमा गरिएको तटबन्ध गुणस्तरीय नहुँदा यो समस्या आएको हुनसक्ने स्थानीयहरू बताएका छन् । स्थानीयका अनुसार कर्णाली नदीमा तटबन्ध निर्माणको काम गुणस्तरीय रूपमा सम्पन्न हुन नसक्दा जोखिम बढेको छ । सो क्षेत्रबाट सती कर्णाली सामुदायिक वनको बीचबाट पानी बस्तीमा प्रवेश गरेको बताइएको छ।
पानी निकास भएको क्षेत्रमा सम्भावित जोखिम कम गर्नका लागि जैविक तटबन्धको काम गरिने कार्यवाहक नगर प्रमुख नगार्जीले बताए । “अहिले ढुङ्गाको तटबन्ध गर्न सक्ने स्थिति छैन । फेरि हाम्रो स्रोतले त्यो सम्भव पनि छैन ।” उनले भने, “तत्कालका लागि जोखिम कम गर्न जैविक तटबन्ध गर्ने र बस्तीलाई सुरक्षीत राख्ने कुरामा नगरपालिकाले काम गर्छ ।”
वर्षा निरन्तर भइरहेमा पुदाल टोलमा बाढीको जोखिम कायमै रहेको भन्दै स्थानीयहरु त्रासमै छन् ।










