कर्णाली नदीको बाढीले टीकापुर डुवानमा

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ०३ कार्तिक /
कैलालीको टीकापुर नगरपालिका वडा नं. २ बिजयनगर शिविरमा मंगलबार अपरान्ह ४ बजे कर्णाली नदीबाट आएको बाढी गाउँमा पस्यो । बाढीको पानी बढ्दै गएपछि सोही शिविरमा बस्दै आउनुभएका निरक चौधरीले घरमा भएको सबै सरसामान छिमेकीको घरमा सार्नुभयो । साझको खाना पकाएर खानै नपाउँदा निरकको भान्सामा पानी पस्यो । परिवार खाना नै खान नपाउँंदै भान्सामा रहेको सामान सार्न नपाउँदै भान्सा घर बाढीले भत्कायो ।
“खाना खाएर निस्केको भए सबै परिवारलाई घरले च्याप्थ्यो । धन्नले कुनै घटना भएन ।” निरकले भन्नुभयो, “एक छाक भोकै भएर पनि ज्यान जोगियो ।” अहिले निरकको परिवार सोही क्षेत्रमा रहेको एक बिधालयमा आश्रय लिएर बसिरहेका छन् । सोही शिविरमा बस्दै आउनुभएकी सिता चौधरीको परिवार पनि कर्णाली नदीको बाढीबाट विस्थापित भएको छ । उहाँको घरभित्रसम्म पानी पसेको छ भने, परिवारका सदस्यलाई बिधालयमा व्यवस्थापन गरिएको छ । सीता भने घर र घरको अन्नपात कुरेर जोखिममा बस्नुभएको थियो । “अरु सबै बिधालयमा बसेका छन् । घरको अन्नपात र पशु चौपायालाई हेर्नको लागि पनि घरमै बस्नुपरेको छ ।” सिताले भन्नुभयो, “बर्सेनि यस्तै सास्ती खेप्दै आएका छौ । राष्ट्रिय गौरवको आयोजनाले कर्णाली नदीमा तटबन्धको काम गर्दै आएको त सुनिन्छ तर, कता गरिरहेको छ थाहा छैन । त्यसको हामिलाई कुनै असरसम्म पनि परेको छैन ।”
मंगलबार राती ९ बजे बिजयनगर शिविरकै बिक्रम चौधरीको घर वरिपरिबाट पानीका भंगालोहरु बगिरहेको थियो । परिवारलाई सुरक्षित स्थानमा सार्नुभएका बिक्रमलाई घर र घरमा भएको सामानको मायाले घर छोड्न दिएको थिएन । दुबै तिरबाट पानीका भंगालोहरुको बिचमा रहेको घरमा चौधरी एकलै बस्नुभएको थियो । “घर छोडेर जान मन लागेको छैन । अवस्था कस्तो हुन्छ त्यसैको प्रतीक्षामा म घरमै बसिरहेको छु ।” बिक्रमले भन्नुभयो, “खेतमा लगाएको अन्नबाली र तरकारी खेती सबै बाढीले बगाएर लगेको छ । एकातिर ज्यान जोगाउन मुस्किल भएको छ भने, अर्कोतिर बस्तुभाउलाई बचाउन ।”
नगरपालिका अन्तर्गतका सातवटै शिविर डुवानमा परेका छन् ।
उता बिजयनगर शिविरमा जंगली हात्तीको त्रासले स्थानियहरु झनै आतंकित भएको स्थानिय बलबहादुर बुढाले बताउनुभयो । उहाँले गाउँमा बढी पसेसँगै जंगलबाट गाउँ पसेको हात्तिले केही घर भत्काउनुको साथै घरमा रहेको अन्नपात समेत नस्ट गरेको बताउनुभएको छ ।कर्णाली नदीको मुख्य तीन कुला रानी, जमरा र कुलरीया कुलामा पानीको सतह अत्याधिक बढेको छ । तिनै कुलामा पानीको सतह बढ्दा कर्णाली नदी तटीय क्षेत्रका सैयौ परिवार विस्थापित भएका छन् भने, टीकापुर बजारका मुख्य सडकहरू समेत जलमग्न बनेका छन् । अहिलेसम्म दर्जनभन्दा बढी पसलहरुमा बाढी पसिसकेको छ । नगरपालिका वडा नं.१ को ब्लक नं. १४ का अधिकांश घरहरु डुवानमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *